आफ्नो लट्टाईबाट धागो चुँडालेर
उडेको चढ़गा
छिमेकीको छानो, तल्लो गहाको आकाश
डाँडाको देवल हुँदै गाउँको सिमानाबाट खेलिंदै गयो
त्यसपछि
बार्दलीबाट एउटा कपकपाएको बुढो आवाज
कसैको खोजीमा गुञ्जिरहन्छ
प्रत्येक दिन
तेल घसेर
शिशु समय सुताउने कौसी सुकाइरहन्छ
पूर्वपट्टि बसेर कागले सुबोल नसुनाएको
एक धैर्य बिस्कुन
जहाँ वर्षौँ भयो
पूर्वपट्टि बसेर कागले सुबोल नसुनाएको
बिलाउनीको मागसहित हत्केला लम्किरहने चुलोमा
आगो नभर्भराएको धेरै भयो
जहाँ
खारिइरहेछ एक पर्खाइ नौनी
आफ्नो छातीमा बुकुर्सि मारिरहने पाठापाठी
शहरले खरिदे पनि
लामो समयदेखि आँखा नफरफराएको आँगन
उमारिरहेछ– एक आशा घोडताप्रे
काँक्राका बेलाहरू–पर्खिरहेछन्
लिचीका झुप्पाहरू–नुहिरहेछन्
सुन्तलाका दानाहरू–कुरिरहेछन्
एक चञ्चल किशोर हुल
पिँढी, मझेरी, आँटिले
बिर्सिएका छन् मुस्कुराउन
गोठ, बारी, बुइँगल
उस्तै बेचैनीमा छन्
आत्तिएका जस्ता देखिन्छन्
करेसा, आँगन र भान्सा
सुस्केराहरूको लहर निस्किरहन्छ चिम्नीबाट
कॉपिरहन्छ धुरी खाँबो र दलिन
बेलाबेला अनौठो आवाज निकाल्छन् गाग्रीहरू
गाउँलेहरू भन्छन् –
परिवर्तनशील समयको चट्याङ लागेपछि
यस घरको सातो गएको हो ।
इनरुवा–७, सुनसरी
