खोल्यो तिम्रो नजर पहिलो देखियो स्वर्णभूमि
आमा जस्तै प्रिय छ धरणी हेर यो जन्मभूमि
तोते बोल्दै युग बिउँझिने सत्य आवाज बोल
बामे सर्दै हिँड प्रगतिमा दोडिंदे मार्ग खोल ।
पोख्दै तिम्रो श्रम र पसिना सीप रोप्नू धरामा
फल्छन् मोती लहलह त्यहाँ खेत, पाखा, गरामा
डोको, नाम्लो शिरफुल भनी टाउकोमा सजाऊ
गैँती, बेल्चे छमछम गरी पाखुराले बजाऊ ।
छाला घोटे पनि तन नयाँ काँचुली फेर्छ भोलि
कोदालाको वजन खिइँदा त्यो कुटो बन्छ भोलि
आगो खाऊ र बन गहना खारिनू स्वर्ण जस्तै
लाखौँ बाधा सहज सहनु चोटमा हाँस्न सिक्दै ।
बाँचोस काया पवन पिउँदै घामापानी निलेर
लोहा जस्तै तन भइरहोस् धारिलो होस् पिटेर
छाती चौडा सडकसरि होस् यात्रु हिँडदा नथाकोस्
कुर्कुच्चोमा बरु खिल परोस् लक्ष्य छोडी नभागोस् ।
पीडा मार्ने मलम बन है देशमा घाउ लाग्दा
हाँसी हाँसी दिन सिक बली राष्ट्रले रक्त माग्दा
माटोलाई मुटु दिन सिके हाडछाला चिरेर
छर्नू सेतो रवि मुलुकमा किन्तु आफैँ बलेर ।
ठाँटीकाँध–४, दैलेख
