समयको अर्धानो पछ्यौरामा
पोक्याएर फूलजुनेलो जस्ता यादहरु
सलबलाइरहन्छ मन अझै पनि ।
समयले जोतेको यो कायामा
कहीँ रोटो बाँकी छैन,
टाँसे झैँ हिउँका अक्षता
शिर फुलिसक्दा पनि
किन अल्झिरहन्छ मन !
काँसघारीका हरिया कथाहरुमा ।
घर छाडेर गएका बचेराहरु सम्झेर,
गाँउ छाडेका दमालीहरु देखेर,
कतिपटक खसे हुँला–
आफ्नै आँखाको आलीबाट !
कतिपटक भत्कियो–यो छातिको पर्खाल
आजकाल मन्दिरको घण्टी बज्दा
मस्जिद तर्सन्छु भन्छ,
भन्छु भन्छ गुम्बाको माने
र सेलो वा च्याब्रुङ नाँचिरहेको पुरानो गाँउ,
देख्छु यस्तै तर्साइमा
मेरा हत्केलाझैँ कापिरहेको
यो देशको जीर्ण झन्डा ।
डाँडापारिको सुन्तले घामझैँ
मान्छेभित्रको कुपोषित मानवता
खडेरीले सुक्दै गएको अनाजजस्तै
गाँउबस्तीको अनुहार
ऐनाअघि उभिएर हेर्छु
बूढो तस्वीरको तन्नेरी यादमा
बहकिँदो रहेछु,
अहो ! गोठालो गर्नुपर्ने यसबेला
आफ्नै मन हुँदोरहेछ ।
सम्झिँदै गर्दा–
बुर्कुसी मारेका दिन
बिर्सि जाँदो रहेछु !
आफ्नै घरको बाटो,
कतै बिर्सिहालेँ भने बताइदिनु
रङमगाइरहेका भुराहरुलाई
मेरो अनुहारको रङ्गझैँ
उड्नुहुँदैन झन्डाको रङ्ग
रातो रहेसम्म तिम्रो रगत
फहराउनुपर्छ चन्द्र–सूर्य,
किनकि–झन्डा बुढो हुँदैन,
र म झैँ बुढो हुनुहुँदैन यो देशको आयु ।
उदयपुर
