अग्ला सेता हिम शिखर विश्वको टोपी
बग्दै बन्छन् श्रम सहिदका गण्डकी सप्तकोसी ।
गाएकै छन् वन पवनले देशका ती कहानी
मेरो प्यारो अमरपुर यो स्वर्गको राजधानी ।।

गोर्खाली हुन् मति र बलमा छैन कोही अशक्त
नेपालीका शिशुहरु सबै हुन् सधैं राष्ट्र भक्त ।
रारा, फेवा, रमण झरना, पुष्प उद्यान धेरै
राम्रो प्यारो भुवन भरमा देश नेपाल मेरै ।।

मान्छे मान्छे बिच दिन दिनै द्धन्द हड्ताल बढ्दा
आँफैलाई सरम अति भो बुद्धको देश भन्दा ।
आफ्नै बैनी अनपढ हुँदा देह बेच्दै छ दाई
हाँस्दै बस्लान् कति दिन अझै राष्ट्र आमा रुवाई ।।

भान्सा रित्तो हरदिन हुँदा भोकले बाल रुन्छ
आमाको यो दुखित मनले आइजा काल भन्छ ।
डोको चढ्दै सहर नपसौँ ? छैन स्वास्थ्योपचार
हे नेता हो अब त सुन है गर्भिणीको पुकार ।।
माग्दै हिड्ने सडक नरले गाँस औ वास पाऊन्
द्यौता पुज्ने सब हृदयमा हर्षले वास लाऊन् ।
होला हाम्रो हृदय नजुटे देशको भागबण्डा
हाँसे मात्रै सकल जनता हाँंस्छ नेपाल झण्डा ।।

हेटौँडा, मकवानपुर ।