असोज २७
चितवन । यस वर्षको द्वारिका नेपाल गजल स्मृति पुरस्कारबाट चितवन रत्ननगरका गजलकार कमल अर्याल पुरस्कृत भएका छन् ।
शनिबार भरतपुरमा आयोजित कार्यक्रममा अर्याललाई २५ हजार रूपैयाँ राशिको उक्त पुरस्कार प्रदान गरिएको हो । गजल मञ्च चितवनले मञ्चका अध्यक्षमा बहाल रहेका बेलामा नै २ वर्षअघि निधन भएका द्वारिका नेपालको स्मृतिमा उक्त पुरस्कार स्थापना गरेको हो र मञ्चले गत वर्षदेखि उक्त पुरस्कार दिन सुरू गरेको गजल मञ्च चितवनका अध्यक्ष लेखराम सापकोटाले बताउनुभयो ।
गत वर्ष गजलकार मुक्त उदासले उक्त पुरस्कार पाउनु भएको थियो । रामकृष्ण अनयासले स्वागत गर्नु भएको कार्यक्रममा पुरस्कृत गजलकार अर्यालका गजलसम्बन्धी चारवटा संयुक्त कृतिका साथै तीनवटा एकल गजलसंग्रह र एउटा नियात्रासंग्रह प्रकाशन भएको जानकारी दिइएको थियो ।
कार्यक्रममा गजलकार कमल अर्यालको व्यक्तित्व र कृतित्वको बारेमा साहित्यकार लक्ष्मण अर्यालले बोल्नुभयो भने गजल तथा पुस्तक सिर्जनामार्फत् मार्फत् साहित्यको विकासमा योगदान पुर्‍याएका अर्याललाई गजल मञ्च चितवनले द्वारिका नेपाल गजल स्मृति पुरस्कार-२०८० दिने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । स्व. द्वारिका नेपालकी पत्नी तथा विशिष्ट अतिथि पार्वती अर्याल नेपाल एवम् कविडाँडा साहित्य समाजका अध्यक्ष एल बि क्षेत्रीले संयुक्त रुपमा पच्चीस हजार नगदसहित प्रसंशापत्र एवम् दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा सम्मानित युवा गजलकार कमल अर्यालका आधा दर्जन गजल वाचन गरिएको थियो ।
गजल मञ्च चितवनका अध्यक्ष लेखराम सापकोटाको सभाध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथि पुष्प अधिकारी अञ्जलीले स्वर्गीय गजलकार द्वारिका नेपाल एक मृदुभाषी, मिलनसार गजलकार एवम् पत्रकार भएको बताउदैं नेपाली साहित्यिक आकाशमा अमर रहने धारणा राख्नुभएको भयो भने कार्यक्रममा चितवनका उल्लेख्य साहित्यिक सर्जकहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमलाई सिम्रन क्षेत्रीले सहजीकरण गर्नु भएको हो ।