जानकी गाउँपालिका, कैलाली निवासी मीन थापा पेसाले शिक्षण क्षेत्रमा आबद्ध रहनुभएको छ । उहाँ कविता, गीत, गजललगायतका विधामा कलम चलाइरहनुभएको छ । उहाँको ’उत्तरआधुनिक मान्छे’ (२०६९) कविता सङ्ग्रह प्रकाशित भएको छ ।- सम्पादक
त्यो लास कसको हो
जसले खुलेआम
अनिश्चिता छरपष्ट सडकभरि
हाम्रा आँखाहरूमा
हाम्रै आत्माहरूभित्र झाँकेर
कुनै गहिरो सपनापछिको अँध्यारो वर्तमानलाई
उज्यालै उज्यालो दिएर बलिवेदी चढ्यो ।
कहिल्यै महसुस नहुने
सुख रोइरहेका हामीलाई
दुख हाँस्न सिकाएर गयो ।
कुनै मृत्यु जस्तो
सपनामा आफ्नो छाया देखेर
बर्सौँम्म पनि डराउने हामीलाई
कुनै ठोस उज्यालाका निम्ति
कति सहजै मृत्यु बाँच्न सिकाएर अलप भएर गयो ।
कति सहजै जीवन बलिदानी गर्न सिकाएर गयो ।
हाम्रा निम्ति
मानौँ ऊ
सपनामा पनि नचिताएको उज्यालो भएर आयो ।
आखिर त्यो लास कसको हो
जुन अहिले पनि मानौँ
हाम्रो सपनाको प्रत्याभूति हाँसिरहेछ
हाम्रो सङ्घर्षको सुरुवात बाँचिरहेछ ।
हाम्रा निम्ति एकपल्ट बाँचे जस्तो गरेर
सायद हाँसी हाँसी
देशका निम्ति हामी पनि मरिरहेछ ।
मानौँ ऊ केही बोल्न चाहे जस्तो गरेर
हाम्रो लाचार मौनतालाई
आफू पल्टिएको सडकमा
इतिहास र वर्तमानसँगसँगै साउती गरिरहेछ ।
मानौँ ऊ एकफेर हिँड्न चाहिरहेछ
स्वतन्त्रताका डेगहरू।
हेर्न चाहिरहेछ आमाका आँखामा
देश हाँसिरहेको आँसु ।
अन्तिम सास लिनुअगावै
मानौँ ऊ सदासदाका लागि देख्न चाहिरहेको थियो
कुनै गोरो पर्यटकको क्यामेरामा
भर्खरै मात्र कैद गरिएको
स्वयम्भूका आँखाभरि
आफ्नो रगतले कोरिएको मूर्त देशको एउटा शालीन तस्बिर ।
हामी एकोहोरो सहानुभूति जस्तो मन उभ्याएर
उसको बलिदानीको स्वायत्त क्षितिजउपर
आँखा चिम्लिरहेछौँ
उसको सङ्कल्पको धरातललाई ।
उसको बलिदानलाई
मृत्यु जस्तो ठानेर एकोहोरो
आफ्नै कायरताको शङ्ख फुकिरहेछौँ ।
त्यो लास आखिर हाम्रो को थियो
जो खुलेआम सहादत भयो
हामी सबैले देख्ने गरेर
छरपष्ट रगत चुहिने गरेर
कति सहजै
छातिमा गोली खाएर मर्यो ।
हामी भने केही क्षणका लागि
रेडियोमा एकोहोरो श्रदाञ्जली फुक्न भनिरहेछौँ ।
टेलिभिजनका स्क्रिनहरुमा रोइरहे जस्ता
कमरेडहरुका रक्तिम आँखा देखाउन भनिरहेछौँ ।
टेलिफोन बुथमा उसको बलिदानी हल्ला गर्न लगाइरहेछौँ
कुनै गुमनाम अखबारको सम्पादकलाई कालममा थोरै स्पेस छोड्न भनिरहेछौँ ।
हामी सोचिरहेछौँ यति नै प्रयाप्त छ उसको बलिदानीलाई
अहिले पनि एकोहोरो हेरिरहे जस्तो लाग्छ उसको लास
मानौँ ऊ येसु जस्तो
क्रुसमा चढाइएका
आफ्ना सङ्कल्पहरूबाट, प्रतिबद्धताबाट
नयाँ सुनियोजित भविष्यका लागि
कुनै कालजयी इतिहासको आत्मा भएर
बौरिने छ फेरि पनि
त्यस बेला उसको मृत्यु हाम्रा निम्ति
लास मात्रको बलिदानी हुने छैन ।
मीन थापा / कैलाली
