कतै झुप्राझाप्री दिनदुख कतै भव्य भवन
कतै भोका नाङ्गा छटपट कतै वा मृदुपन
कतै चिल्ला मोटा जनजन कतै सुष्क अधर
दसैँ आयो भन्छन् सबतिर खुसी क्या सुमधुर ।१।
कतै रुन्छन् भन्छन् जनहित हुने छैन चलन
सबै एकै छैनन् सबतिर सदा वैविध किन
जहाँ जस्तो जे हो सकल मनमा दर्द छ तर
दसैँ आयो भन्छन् सबतिर खुसी क्या सुमधुर ।२।
फुले राता सेता कुसुम कलिका कोमल कला
झुले बालीनाली घरघर नयाँ झ्याल दहिला
हुने खाने खाँदा सुखदुख बटुल्दै वरपर
दसैँ आयो भन्छन् सबतिर खुसी क्या सुमधुर ।३।
बिते बर्सौं बेला तर पनि सदा भाव छ उही
नयाँ पुस्ता पुस्ता श्रुतिमधु सदा तप्तप चुही
जराजीर्णा ज्योत्स्ना लहरलहरा पात जमरा
दसैँ आयो भन्छन् सबतिर खुसी क्या सुमधुर ।४।
म यौटा यात्री जो दुइतिर दुवै जोड्नु छ अझै
स्वयम् हिँड्ने बाटो पथिक जति छन् छोड्नु छ अझै ।
अझै उस्तै भाका विवरण बनी बोल्नु छ तर
दसैँ आयो भन्छन् सबतिर खुसी क्या सुमधुर ।५।
