प्रत्येक वर्षझैँ
यस वर्ष पनि, नियमानुसार
आउनुभो दुर्गा, माता,
विजयादशमीको साइत पारेर ।
अनि आफ्ना भक्तहरूका मनमा
उही भक्ति,
तर, मनमा कम शक्ति;
पूजाको थालमा जमरा बढी,
र टीका कम देखेर,
झन् आफू पुजिँदा,
आफूलाई चढाइएका नैवेद्यमा
फल कम फूल बढी देखेर;
पूजा सकिना साथ
“फेरि अर्को वर्ष आइहाल्छ नि,
अहिलेलाई जान्छु है” भने जस्तो गरी
भग्नमन दुर्गा भवानी
फिर्ता जानुभो,
एक दृष्टि–भक्तहरूका काँतर अनुहार,
र, जर्जर घरहरूमाथि पारेर !
सायद, आफ्नो आउनैपर्ने बाध्यतामाथि
झर्किनु पो भो कि भगवती !
“सायद, मैले गर्दा मेरा अभागी
भक्तहरूको झन् हुन गयो दुर्दशा”–
मनमनै फतफताउनु पो भो कि दुर्गा भवानी !
पूजा सकेर उठ्दा,
दुर्गा माताको प्रतिमाका आँखाहरू
अलिअलि रसाएको जस्तो लाग्याथ्यो मलाई,
कतै “दसैँ भनेर म आएकी,
झन् दशा पो भैदिएछ क्यारे
यी मेरा कङ्गाल भक्तहरूका लागि !” भन्ठानी,
रुन त रोइनन् साँच्चीकै दुर्गा भवानी
भन्न सकिन्न है, भन्न सकिन्न !
कलियुग हो भन्दैमा, अति दुर्गति भएपछि भक्तहरूको
साक्षात् भगवती नरोए पनि
प्रतिमाका आँखाहरू पनि नरसाउलान् !
भन्न सकिन्न है, भन्न सकिन्न ।
सुन्नुभो …नेपाली दाइ–भाइहो
हजुरलाई होइन, हजुर सवारी
(कारको भयालबाट बजिया लखौँपतिले पो
“–के भन्या ?” भनी सोधेको !
के लखपति पनि नेपाली हुन्छ र !!)
अँ त, सुन्नुभो नेपाली दाइ–भाइहो !
आलु एक धार्नीको चौबीस रुपियाँ पुग्यो !!!
अब के खाने ? …
झन् यस पटकको दसैँले त ‘भाइटीका’मा
दिने दक्षिणा पनि बाँकी छाडेन ।
मर्द हुनु पनि कर्महारा हुनु रे’छ
आईमाई भएको भए–‘पर सरेकी छु’ भनेर
‘भाइटीका’ लाई नै एक वर्ष पर सारिदिन्थेँ मैले
लौ भैगो मैले पनि मान्ने …
जस्तो पर्ला, उस्तै टर्ला ।
तर, अर्को वर्षको दसैँ नि ?
बुझ्नुभो,
मैले के निर्णय ग¥या’छु !
मैले त भगवतीलाई पनि सताइ सकेको छु !
आ ! आफ्नै आमा त हुन् दुर्गा पनि !
आमासित पनि केको लोकाचार ! हैन त ?
भनिदिएँ मैले त–“अब उप्रान्त दुर्गा माता !
सुटुक्क आउनू
सुटुक्क जानू !
केलाई चाहियो र धूमधाम ! होइन र दुर्गा आमा ? बिनसित्तैमा ।”
उहिले पो भगवतीको आगमनमा
धूमधाम गरेर चहाड मानिन्थ्यो,
जब, दसैँ भनेको मात्र पूजापाठ नभई
एक–एक सरो
नयाँ जुत्ता पनि हुन्थ्यो ।
मासु खानेलाई
वर्षमा एकैपल्टलाई भए पनि
पेटभरि मासु पनि हुने गथ्र्यो दसैँ आउनु
वा मनाउन भनेको ?
शाकाहारीलाई पनि
कम्तीमा एक डालो सेल, पुरी, हलुवा र
एक थाल मिठाई पनि हुने गथ्र्यो
दसैँ आउनु भनेको त ! …
अब त दसैँ …
साँच्ची कै दशा भएको छ
न छोरालाई हङकङको ज्याकेट किनिदिन सकियो
न छोरीलाई बैङ्कके जुत्ता;
धरहरा–बजारबाट घटीघटाउ गरेर
कात्तिकको पेस्की तलबभित्र किनमेल
कटाउ गरियो ।
खानामा सेलरोटी कहाँ पाउनु !
सप्तमीमा किनिराखेको पाउरोटी टोकियो,
पmलफूल पनि खाइयो …
भोगटे बारीमै थियो,
एक दर्जन औँलाजत्रा केरा पनि,
सपरिवार खाइयो,
आठ रुपियाँ दर्जनमा किनेर !
मलाई त के ! हाइ सन्चो छ
‘डाइबिटिजको रोगी
न मासुको भारी !
परिवारले पनि चित्त बुझायो
बूढा च्याङ्ग्राको छाला चपाएर ।
अब तपाइँहरू नै भन्नोस,
यस्तोमा के काम चहाड आएर ?
हुनेलाई तीन सय पैँसट्ठी दिन नै दसैँ छ,
नहुनेलाई वर्षभरि दशा छ ।
हुनेलाई चारै छाक मासु छ,
नहुनेलाई आँखाभरि आँसु छ ।