केहि मानिसहरूले कवि भनिदिएपछि कविता बडो प्रिय भएकोछ । उसै कविताले मन चोरेपछि न कविता सँग सम्बन्ध गाँसेको हुँ । लहडमै उर्लिगएको चाहिँ होइन । यतिबेला के गर्दैछु भने
अभिलाषा
नयाँ बिम्बको खोजीमा
कवि आफ्नो छाँयामा जीवन खोज्दैछ
जान्नुपर्ने हो, अँध्यारोमा छायाँ बन्दैन।
थुप्रै कविताका किताब पढिसकेपछि, पुरस्कारकै लोभमा केही प्रतियोगितामा भाग लिएपछि कविता लेख्नेले कविता नै लेख्नुपर्छ, भौतिक अपेक्षा या ध्यान टोकेन्ते भएर आफु र सत्य भन्दा फरक लेख्नुहुदैन भन्ने विस्तृत रूपमा बुझ्न भ्याएँ । तर यो कविता जगतमाथी टिप्पणी गरेको रत्ति होइन । मेरो उमेर र ज्ञान बराबर त कुनै कविले कविता नै लेखिदिनुभएको छ। कुन कविता भन्ने लागेमा तपाईंहरूका फर्माइसमा अर्को चोटि भनुँला ।
मैले नै चाहिँ लेखेर के के नै गरेँ भनेर सुनाउने केही पनि छैन र के के नै गर्न पनि लेखिटोपल्ने गरेको होइन।
चर्चा, प्रतिक्रिया प्राप्त गर्ने अवसरको रूपमा मात्रै साहित्य साधना गरिदैन । अझ कविता लेख्दा त ढंग पुगेन भने आजको माहोलमा प्रशंसा गरेको कविताले भोलि नै बेस्सरी गिज्याइहाल्छ। रटन संस्कृतिले घुटन गरिरहेको परिवेशमा टेक्स्ट् बुक पढिन्छ । नत्र धेरै पढिइहाल्ने केही छ भने त्यो कविता हो र लेखिनेमा त सबैजसो कविताकै अनेक रूप भइहाल्यो । यसको शक्ति के छ ? प्रभावकारिता कति छ ? मलाई थाहा नाई! तर ऐनमौकामा बारूद भन्दा कविता बढ्ता पड्किन्छ।
यसरी कविता र यसको सामर्थ्य कति भनी खोजीपस्दा एउटा कुनामा दाना कविता बलिरहेको भेटेँ। लौ! म त कहाँ निष्केको कता पुगेछु? “म ‘उज्यालोले उज्यालो निल्छ’ भन्छु । अँध्यारोले चाहिँ उज्यालोलाई चिन्छ । दाना कविता मार्फत् मैले साहित्यको विराट फाँटमा चियाउन आँट गरेको हुँ, डङ्का पिटेको कतै होइन” भन्ने सर्जकको निकै सम्झना आयो । र लाग्यो, धेरै हिड्नै नपरि ठिक ठाउँमा आइपुगेछु ।
सहि नहोस् पनि कसरी कुनै राजनीतिक पार्टिले भर्खर आफ्नो विचार खोज्दैछ, ठेलीकाठेली बिचारका नाममा किताब छाप्नेहरूले त बिर्सि नै सके। ह्या, राजनीतिले त्यति ध्यान खिचेन । र म कविता मै फर्किहालें ।
दाना कविताका प्रणेता कवि तुल्सी थापाले देश, दर्शन र जीवन लेखेर ‘एक निमेष अनन्तको’ दाना कविता संग्रह छोडि जानुभएको छ। आज न तुल्सी थापाको स्मृति दिवस हो, न त जन्म जयन्ती नै । यो कुनै भक्ति लेख होइन, म त्यो पनि गरिहाल्दिन किनकि मेरो उपासनाले कोहि प्रसन्न हुनेवाला छैन । बरू मलाई लाग्छ, यो त हाम्रै मौलिक परिवेशमा हुर्किएको दाना कविता किन लेखिनुपर्छ भन्ने आलेख हो । यसो त साहित्यका अरू विधामा पनि उहाँले सम्झन लायक लेख्नुभएकै छ । यो विधा भने त्यो लायक यो लायक वा फेसबुके लाइक होइन, अनुसरण गर्न लायक बिधा हो।
यतिबेला आफुलाई मन पर्ने एउटैमात्र काम कविता भएपछि कवितामा चिन्तन खोज्नु झन् चाख लाग्दो विषय भइहाल्यो । पछिल्लो समयका कवितामा चिन्तन भेटिएन, खाली विरोधाभासपूर्ण सिर्जनामा कविहरू नै रुम्मलिरहे भनेर बहुत चिन्ता पनि पर्यो। त्यही बखत
समर्पण*
हे दार्शनिक!
तिम्रो ब्युँझाइमा हामी
साँच्चै निदाउन सक्छौ। – तुल्सी थापा
पढेपछि मनको गाँठो फुस्कियो । कविताबाटै दर्शन लेख्न कस्सिएका कविहरूले निदाउन सजिलो बनाइदिने कविता लेख्न त पहिले ब्युँझिनुपर्यो नि । अप्ठ्यारोसँग सुतिरहेका पाठक सम्म सबेरै उठेको यो विधा कहिले पुग्ला ? फेरि अर्को सुर्ता लाग्यो।
निशब्द*
कसले देखेको छ र माछा रोएको ?
ऊ त पीडाको सागरमा डुबेर
चुपचाप आँसु निलिरहन्छ। – तुल्सी थापा
साँच्चै हामीले देखेनौँ, हेर्नचाहेनौँ वा यस्तै केही…..। दाना कविता पनि साहित्य सागरमा डुबिरहेकोछ, यसलाई सागर देखि निकालेर बगरमा पछार्नु मेरो हतारो कदापि होइन। नौकाविहार गराउनुपर्छ भन्ने माझीहरू पढ्न चाहिँ निकै आतुर छु ।
अपेक्षा
कागलाई सुबोल भनिरहेछ,
एउटा जिब्रो एकाबिहानै
जो छिमेकीलाई सरापेर थाकेको छ।
म पनि यस्तै दोस्रो जिब्रो नहुँ भनेर सजग छु । र यति भट्याएपछि अनुरोध गर्छु, कमसेकम अब मेरो पुस्ताले कलम यहाँ पनि कोर्नुपर्छ ।
लेख्छु भन्नेहरूले के के लेखे, सबै पढिसकेकोछैन । कविता ले के लेख्नुपर्छ? कसरी लेख्नुपर्छ? त्यो भन्नेहरूले होइन, लेख्नेहरूले जान्ने कुरा हो ।
लेखनमा एउटा यस्तो शैली छ-
भयावह
सिनु लुछ्नैमा गिद्ध मस्त छ
के मतलब उसलाई कि
उसको देश अनिकालग्रस्त छ । – तुल्सी थापा
पुर्वको एक प्रदेशमा यस्तै मस्ति चलिरहेको छ । अन्त पनि त कति सिनु कुहिसक्यो। भो, ब्यर्थै कपाल नदुखौँ ।
विस्मात
अन्तमा निर्णय मानेर फर्केपछि
हामीले आआफ्ना टाउका छाम्यौँ
ए! हामी त गिँड मात्र रहेछौँ । – तुल्सी थापा
यसको भाव शिक्षक आन्दोलनबाट फर्किएका शिक्षकहरूले महसुस गर्नुभयो होला । अरूका बात नगरौँ, लायक पनि हुनुपर्छ ।
अविभाज्य
बाँच्नु छ किस्ताबन्दीमा
त्यसैले जिन्दगी यो
खण्डित छ टुक्राटुक्रामा । – तुल्सी थापा
रिक्तता
आकाश छँदै छैन
त्यसैले त त्यो
सधैँ रहन्छ। – तुल्सी थापा
हामी सँग के छ र के के छैनन् ? अबको समयमा बाँच्नलाई के के चाहिन्छ? मदन पुरस्कार विजेता विजय कुमारले युवाहरूलाई जीवन दर्शनको महत्त्व सुनाएको हिजोअस्ति मात्रै हो ।
फूल
काँडा महान् हुन्छ
र त तिमी अति सुन्दर
फुल्न सक्छौ । – तुल्सी थापा
सापेक्षताको सिद्धान्त घोके झैँ भयो होला । है?
अग्रजलाई भनेको होइन! समकालीन अनुरागीहरूलाई सुनाएको हुँ । अग्रजहरू सँग त्यति गुनासो छैन, उहाँहरूले डोर्याउनुभएको बाटो हिँड्नुमा गर्व लाग्छ। म भित्रको म र म जस्तै धेरै ‘म’ हरूलाई तुल्सी सरको घर आउने बाटो चिनाउन खोजेको मात्रै हो।
आफ्नो जीवनकालमा यति स्पष्ट, जुझारु र निरन्तर प्रत्यनशिल कविलाई हामीले पढ्न, सुन्न र साँचो कुरा भनिदिन नभ्याएकोमा ग्लानीबोध भएकोछ। प्रयोगवादी भएकैकारण उहाँको प्रयोग सफल नहोस् भनि आरिस पनि समकालीन कविताले गर्यो कि ? शङ्का छ र आशङ्का थपिएको के छ भने-
आशङ्का*
बर्सौँ सोधियो ‘यो भोटो कसको हो ?’
अर्को साल, कहीँ यस्तो नसोधियोस्-
यो देश कसको हो? – तुल्सी थापा
हामी कविता लेख्नेले यस्तो हिराजडित भोटो पायौं, भोटो सिलाउने त हामी माझ रहनुभएन । परन्तु यसको हकदार हामी नै हौ । यति भनेपछि लेख्नु हाम्रै कर्तव्य हुन्छ । भोलि अर्को रहनसहन र चेतबाट उत्प्रेरित यस्तै विधा आयात नगरिएला भन्न सकिन्न। यो बिधा कसको हो ? नलेख्ने, नपढ्ने हामीले त्यतिबेला भुत सँग न भोटो खोस्न सक्छौं न हाम्रो दाविमा प्रमाण नै पुग्छ।
दाना कविताबारे मेरो लेखले हरेक हप्ता आइतबार तपाईंलाई भेट्न चाहन्छ । यस श्रृङखलाका सहयात्री बनौँ न, है?
*तुल्सी थापाका कवितालाई सन्दर्भमा व्याख्या गरेको हुँ । पाठकले कविता मात्रै पढ्दा, सुन्दा यथार्थ भावानुभूत गर्न पाठकहरू स्वतन्त्र हुनुहुन्छ ।
-आदित्य राम
