घोराही उपमहानगरपालिका– ८, दुन्द्रा, दाङमा जन्मनुभएका गजलकार वसन्त ओली वसन्ती उपन्यास, मुक्तक, गजललगायतका विधामा कलम चलाउँदै आउनुभएको छ । उहाँका तिर्सना (उपन्यास– २०६९), कोसेली (संयुक्त मुक्तक सङ्ग्रह), इन्द्रेणी– ४ (संयुक्त गजल सङ्ग्रह), बोई (गजलसङ्ग्रह – २०७८), बोई २ (दोस्रो संस्करण)– २०८० प्रकाशित भएका छन् । उहाँ पुष्पपराग वर्षको सर्बोत्कृष्ट गजलकार सम्मान– २०७४ (भक्तपुर), गोदावरी गजल साधना सम्मान– २०७५ (ललितपुर), सारथि साहित्य प्रतिष्ठान सम्मान– काठमाडौ (२०७६), गोधूलि साहित्य वर्ष कृति पुरस्कार –काठमाडौ (२०७८), सङ्गम सहित्य सम्मान पुरस्कार– नुवाकोट (२०७८), नित्यानन्द शर्मा प्रज्ञा पुरस्कार– २०७९ (दाङ), सदाबहार राष्ट्रिय गजल प्रतियोगिता महेन्द्रनगर– २०७५ (प्रथम), सदाबहार खुल्ला गजल प्रतियोगिता महेन्द्रनगर–२०७४ (प्रथम), रोल्पा–माडी गजल प्रतियोगिता– २०७३ रोल्पा– (प्रथम), सर्जक जमघट साहित्य समाज गजल प्रतियोगिता–कालीमाटी काठमाडौँ– २०७५ (प्रथम), विश्वव्यापी खुल्ला अनलाइन गजल प्रतियोगिता भारत– २०७३– (द्वितीय) बाट पुरस्कृत तथा सम्मानित हुनुभएको छ ।– सम्पादक
गजल
सङ्कटकै बेला भनेछौ मैले सब सुविधा पाउनुपर्छ
भन्दा सम्झिनुपर्थ्यो कहिले उभिएर पनि निदाउनुपर्छ
रिसाएर दुर गएकी उनलाई आखिरमा घरमै ल्याएँ
सोचेँ, कपडा फाटे सिलाउन मिलेसम्म सिलाउनुपर्छ
ढुङ्गाले घनबाहेक चिन्दो रहेनछ अरू कोहीलाई
सायद परिचय दिनलाई पनि एकपटक हिर्काउनुपर्छ
कसैले सोध्यो– त्यतिका मान्छे कसरी दिलभित्र राख्न सक्छौ ?
मैले भनेँ बाकसमा धेरै कपडा राख्न पट्याउनुपर्छ
मनमा केही कुरा नभए पनि मसँग बोल्न किन डराएकी छौ ?
हुन त हो रित्तो घरको ढोकामा पनि साँचो लगाउनुपर्छ ।
वसन्त ओली वसन्ती, दाङ