रेडियोकर्मी, शिक्षक तथा अन्य विविध क्षेत्रमा सक्रिय हेटौँडा– ५ का सुनिल गौतम कविता, गीत, कथालगायत साहित्यका विभिन्न विधामा कलम चलाउँदै आउनुभएको छ । उहाँका दर्जनौँ गीतहरू रेकर्ड भएका छन् । उहाँ राष्ट्रिय जनसाहित्य सङ्घ नेपालका केन्द्रीय सदस्य तथा साहित्य सङ्गम मकवानपुरका कार्यसमिति सदस्य तथा प्रलेस मकवानपुरका पूर्वसचिव हुनुहुन्छ । – सम्पादक
मेरै सीप जडेर बन्छ हँसिया, मै हुन्छु कामी किन ?
बिक्दै छन् श्रम सीप यी तर यहाँ, मान्छे भलै बिक्दिनँ
सीमा तोकिदिएर भन्न सुरु भो, मान्छे अमान्छे जुन ?
तिम्रा ब्राह्मणवादभित्र किन हो, गाह्रो छ मान्छे हुन ।
गाग्रो पोखिदिएर हेर्छ रमिते, बोल्दैन द्यौता तर
हो झैँ लाग्दछ मन्दिरै पनि यहाँ, पापीहरूको घर
कैलेसम्म यहाँ छ सल्किरहने, जातीय आगो भन ?
तिम्रा ब्राह्मणवादभित्र किन हो, गाह्रो छ मान्छे हुन ।
कामैको भरमा पुरेत जति हौ, दर्जी न उस्तै त हो
जुत्ताको श्रम गर्छ हेर ऊ अझै, सार्की कसोरी भयो ?
ढुङ्गा हुन्छ पवित्र देव तर त्यो, मान्छे हुँदैन किन ?
तिम्रा ब्राह्मणवादभित्र यसरी, गाह्रो छ मान्छे हुन ।
कैल्यै साँध थिएन हुन्न अछुतो, यो सीपमा ठोक्किन
मैले देवल छोउँ हुन्छ बिटुलो, पर्ने छ मै रोक्किन
मेरो दोष भयो र जात कसरी, के दोष भो जन्मन
तिम्रा ब्राह्मणवादभित्र किन हो, गाह्रो छ मान्छे हुन ।
तिम्ले स्वाश लिँदा न छेक्न उभिएँ, बाधक भएँ लौ भन
खोक्रो धर्म र जातको चलनले, भत्काएँ के आँगन
भुल्दै वाद र वेदको दमन यो, खोज्छन् मुठी कस्सिन
तिम्रै दर्शनको म सार जिउने, खोज्दै छु मान्छे हुन ।
सुनिल गौतम, मकवानपुर
