देशभक्त शर्माको निधनपछि उनको छोरा पितृभक्त शर्माले कसरी पिताको १३ दिने कर्म गर्छ्न् भन्ने बिषयमा घाटबाटै खुलदुली सुरु भयो । कारण अरुलाई आशौच बार्नुपर्दा उनी – “हाम्रो पुरातन संस्कारमा समयानुकूल परिवर्तन गर्नु पर्ने” कुराको पक्षमा वकालत गर्थे ।
घाटबाट फर्केपछि आफन्त र छरछिमेकीबिच उनले पिताको काजकिरिया पाँच दिनमा टुग्याउने कुरा सुनाए । धेरैले परम्परा नतोड्नुस् भनेर सम्झाए । एकदुई जना नजिकैका नातेदारले त त्यस्तो कर्म गरेमा हामी तिम्रो आगनमा पाइलो टेक्दैनौसमेत भने ।
शर्माले – “हेर्नुस् जन्म र मृत्यु प्रकृतिको नियम हो भने संस्कार,परम्परा मानव निर्मित हुन् । मानवले बनाएका परम्परामा मानवलेनै सुधार गर्न सक्छ ।” भने । उनको विचारको सधैं समर्थन गर्ने हुकुमबहादुरले -“हामीले बाबुबाजेले सुनाएको कुरामा पनि ख्याल राख्नु पर्छ । यो संस्कार सुरुमा १३ वर्ष, १३ महिना, ६ महिना, ४५ दिन हुँदै जुध्दशमशेरको पालाबाट १३ दिनमा झारेको भनी सुन्दै आएका हौं । त्यसैले दिन घटाएर सुधारको बाटो अपनाउन समसामयिक ठहर्छ” भने ।
शर्माको काकाले-“सुनेको थियो रे ! जस्ता कुराको पछि नलागौँ । हाम्रो खलकबाट यस्तो उट्पट्याङ कार्यको थालनी गर्ने पक्षमा म समर्थन जनाउँदिन” भने ।
शर्माले – “पण्डित माधवराज जोशी, सहीद शुक्रराज शाष्त्रीसहितको आर्य समाजले वैदिक विधि अनुसार ३ दिनमा शुद्धि गर्ने अभियान चलाएका थिए । केही वर्ष अगाडि प्रज्ञाप्रतिष्ठानको संस्कृत समितिले वैदिक विधिका आधारमा तिनदिने मृत्युसंस्कारलाई उपयुक्त हुने सुझाव दिएको थियो । त्यस्तै पण्डित रुद्रप्रसाद आचार्य र पारशमणी पोखरेलले पास्कर गृहसुत्रको आधारमा पाँचदिने अन्त्यपद्धति अनुसार पहिलो ३ दिनमा १० पिण्ड, चौथो दिनमा ११ दिनको काम र पाँचौ दिनमा १२ र १३ दिनमा गर्ने कार्य सम्पन्न गर्न सकिन्छ भन्नुभएको छ।” भने ।
काका चाहिँले – “दुईचार हावादारीका लठुवाका उदाहरण दिएर समाज भाँड्ने कुरा अगाडि सारेर आशोच छोट्याउने कुरा नगर” भनी हकारे । “सुन्नुस् काका – एकदुई बर्षभित्रको कुरा गर्छु । डाक्टर उपेन्द्र देवकोटाको ७ दिनमा आशोच कर्म गरियो । हास्यकलाकार मदनकृष्ण श्रेष्ठले पत्नी यशोदा सुवेदीको पाँच दिनमा कार्य सिध्याए । यस्तो बाटो पछ्याउने धेरै छ्न् । त्यसैले कुरा काट्ने काटी रहन्छन् । उहि कुकुर भुक्दै गर्छ, हात्ती अगाडि बढ्दै जान्छ भनेझैँ । म त पाँचौं दिनमा कर्म टुङ्ग्याउँछु।
“मलाई कुकुर भनिस्” भन्दै काका रिसाएर हिँडेपछि त्यहाँ उपस्थित प्रायः बुढापाकाहरु लाखापाखा लागे । युवाहरुले – “शर्मा दाइ तपाईंले सुधारसहितको राम्रो संस्कारको कुरा उठाउनु भयो । दुईचार अक्षर पढेका हामी शिक्षित भन्नेहरूले नै हो संस्कारमा सुधार गर्दै लाने हो । हामीहरु तपाईंको साथमा छौँ” भन्दै शर्माको हौसला बढाए ।
(लेखकको कवि बन्ने धुनमा, खरानीभित्रको आगो, कुकुरको पुच्छर, हाकिमको खप्पर, फु फु फु, कण्ठलङ्गौटी, को वरिष्ठ, भोलारामको आत्मा-अनुवाद कृति आदि पुस्तक प्रकाशन छन् ।) हेटौंडा, मकवानपुर