कार्तिक १५, बुधबार
मकवानपुर । महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको अवसरमा साहित्य सङ्गम मकवानपुर र युगप्रकाश क्लब हेटौंडा मकवानपुरको संयुक्त आयोजनामा कविता प्रतियोगिता हुने भएको छ ।
त्रिभुवन माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) को व्यवस्थापमा विद्यालयस्तरीय खुला कविता प्रतियोगिता हुन लागेको हो ।
साहित्य सङ्गम मकवानपुरले हरेक वर्ष देवकोटा जन्मजयन्तीको अवसरमा नियमितरूपमा सो कार्य गर्दै आइरहेकोले विद्यार्थीहरूलाई साहित्य सिर्जनामा हौसला प्रदान गर्नका लागि निरन्तरता दिइएको सङ्गम अध्यक्ष डीबी बर्तौलाले बताउनु भएको छ ।
कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरूले मात्र भाग लिनपाउनेगरी कविता जुनसुकै विषयमा लेख्न सकिने तथा मौलिक र अप्रकाशित हुनुपर्ने आयोजकले जानकारी दिएको छ । कविताका लागि बढीमा २०० शब्दसीमा तोकिएको छ भने प्राप्त कवितामध्ये उत्कृष्ट ३ लाई जनही २ हजार र १ जनालाई प्रोत्साहन पुरस्कार १ हजार र प्रमाणपत्र दिइने सङ्गमका उपाध्यक्ष सानु खनालले जानकारी दिनु भएको छ ।
यही कार्तिक २३ गतेभित्र प्राप्त कवितालाई कार्तिक २६ गते हुने प्रतियोगितामा सामेल गराउने आयोजकले सचिव मनोज पोखरेलले बताउनुभएको छ ।
