कार्तिक २६ मकवानपुर । साहित्य सङ्गम मकवानपुर र युगप्रकाश क्लब हेटौंडा ११ को संयुक्त आयोजनामा कविता प्रतियोगिता र सर्जक सम्मान कार्यक्रम गरेको छ । ११५औँ लक्ष्मी जयन्तिको अवसरमा आयोजित कार्यक्रममा हास्यव्यङ्ग्यकार आरसी रिजालको प्रमुख आतिथ्यता र युगप्रकाश क्लबका अध्यक्ष दीपक सिवाकोटीको अध्यक्षता रहेको थियो ।
विद्यालयस्तरीय कविता प्रतियोगितामा प्राप्त कूल ३७ कवितामध्ये १५ कविता छनौट चरणमा परेका थिए । वाचनका लागि उपस्थित १२ मध्ये निमिषा निरौला, कृष्मा लौडारी र विशप आचार्यको कविता उत्कृष्ट तथा रीतिका छत्कुली र इभानी रानाभाटले प्रोत्साहन पुरस्कार प्राप्त गर्नुभयो । उत्कृष्ट कविताका लागि २ हजार र प्रोत्साहनका लागि १ हजार नगद राशि तथा प्रमाणपत्र प्रदान गरिएको थियो । साथै कार्यक्रममा स्वर्गीय साहित्य सर्जक तथा दाना कविताका अगुवा तुल्सि थापालाई मरणोपरान्त सम्मान गरियो भने १० हजार राशिको महाकवि लक्ष्मीप्रसाद देवकोटा सम्मानबाट अग्रज साहित्य सर्जक देवराज खरेल सम्मानित हुनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि तथा सङ्गम सल्लाहकारहरू, आरसी रिजाल र निमेष निखिल, सल्लाहकार तथा निर्णायक मण्डल संयोजक श्यामकुमार बानियाँ, सङ्गम अध्यक्ष डीबी बर्तौला, ११ नं. वडा अध्यक्ष जुना दाहाललगायतले मन्तव्य राख्नुभयो । सङ्गमका सल्लाहकार सुवास खनालले लक्ष्मीप्रसाद देवकोटाको चर्चा गर्नुभयो भने उपाध्यक्ष सानु खनालले सम्मानित व्यक्तित्व खरेलका बारेमा मन्तव्य राख्नुभयो ।
साहित्य सर्जक, साहित्यप्रेमी तथा राजनीतिक, शैक्षिक क्षेत्रका व्यक्तित्वहरू राजकुमार लामिछाने, सुवास खनाल, नारायण भण्डारी चन्द्रकिरण श्रेष्ठ, मधु ढुङ्गाना आदि कार्यक्रममा उपस्थित रहनुभयो ।
कार्यक्रमको पूर्वसन्ध्यामा स्मारक गेटदेखि प्रभातफेरि तथा त्रिभुवन माविमा रहेको देवकोटाको प्रतिमामा माल्यार्पण तथा स्वर्गीय तुल्सी थापाप्रति मौन धारण गरी सुरू गरिएको कार्यक्रमलाई सङ्गमका सचिव मनोज पोखरेलले सहजीकरण गर्नु भएको हो ।
