म भर्खर बैँसको पहिलो खुड्किलो उक्लिने तयारीमा थिएँ । त्यस बेला अनौठा अनौठा सपना देख्थेँ । कहिले डाँफे झैँ हिमालको चुचुरोमा नाचिरहेको हुन्थेँ । कहिले कोइली झैँ वनै थर्कने गरी प्रेमको गीत गाइरहेको हुन्थेँ । अनि कहिले कुनै रोमान्टिक फिल्मको हिरो झैँ हिरोइनको न्यानो अङ्गालोमा बाँधिएको हुन्थेँ ।
किशोर वायुको प्रभाव थियो सायद । म भर्खर आफ्नो उमेरको १६औँ वसन्त उक्लिएको थिएँ ।
“ए ! यसका त जुँगा रेखी बसेछन् ।”
आमा जिस्काउनुहुन्थ्यो ।
“अब बिहे गर्ने बेला भो ।”
म लाजले भुतुक्कै हुन्थेँ । आमाको कुरा नसुने झैँ गर्थेँ । कुरा अन्तै मोड्ने कोसिस गर्थेँ ।
भन्थेँ- “आमा स्कुल जान ढिला भयो, भात पस्किदिनू ।”
जुम्ला, कुडारी बजारको उत्तरपट्टिको भिरालो पाखामा थियो हाम्रो स्कुल । श्री सरस्वती मा.वि. । वार्षिक परीक्षा सकाएर बन्द भएको स्कुल भर्खरै खुलेको थियो ।
म दश कक्षामा पढ्थेँ । राम्रो विद्यार्थी त थिइनँ नै, जसोतसो पास हुन्थेँ । पढे पो राम्रो नम्बर ल्याएर पास हुनु ! सधैँ उटपट्याङमै व्यस्त भएपछि यस्तै त हो । चिट चोर्यो, जबर्जस्ती पास भयो ।
प्रेम के हो ? थाहा थिएन । तर प्रेमबाट टाढा थिइन । पाँच कक्षामै पढ्ने बेला आफ्नै कक्षाकी केटीसँग ‘लभ’ परेको थियो मेरो ।
चिठी उसैले पठाएकी थिई । ऊ तुरुन्तै स्वीकार गर्नु जस्ती राम्री पनि थिइनँ । तर पढाइमा तगडा थिई । कक्षामा सधैँ प्रथम हुन्थी ।
म स्वार्थी भएँ । मन नपर्दा नपर्दै पनि उसको प्रेम स्वीकार गरेँ । सोचेको थिएँ- वार्षिक परीक्षामा आफ्नो मान्छे ठानेर आफ्नो उत्तरपुस्तिका सार्न दिई भने कक्षामा दोस्रो हुन के बेर ?
तर दुर्भाग्य ! वार्षिक परीक्षा नआउँदै उसको परिवार जुम्ला छोडेर इन्डिया हानियो । मेरा सपना तुहियो । अचेल सोच्छु- स्वार्थले भरिएको सपना थियो त्यो । त्यसैले पूरा भएन् । स्वार्थले भरिएका सपना कहिल्यै पूरा हुँदैनन्, केवल मनमा पश्चातापको बिउ रोपेर जान्छन् ।
कक्षा पाँचमा पढ्ने बेलाको प्रेमकहानीको नमिठो अन्त्य पछि मैले फेरि प्रेम गरिनँ । प्रेम त कसैले पत्याए पो गर्नु ! कक्षाका सबै केटीले अघिल्ला सिटे पढन्तेहरूलाई मात्र हेर्थे । म जस्तो पछिल्लो सिटे ल्वाँठलाई कसले हेर्नु ?
एक दिन साथी पारस र म कक्षाको सबैभन्दा पछिल्लो बेन्चमा बसेर खासखुस गरिरहेका थियौँ । पहिलो घन्टी थियो, नेपाली पढाउने सरिता म्याडम निबन्ध भट्याइरहेकी थिइन् । कथा भए पो पढ्नु ! निबन्ध पढ्न त मनै लाग्दैन । त्यसैले हामीले विषयवस्तुभन्दा अन्तै ध्यान केन्द्रित गरेका थियौँ ।
पारसे भन्दै थियो-
“नौ कक्षामा सुर्खेतबाट स्वर्गकी अप्सरा जस्ती केटी आकी छ ।”
“कस्ती कस्ती ?” मैले कान ठाडा पारेको थिएँ ।
“अप्सरा जस्ती, फिल्मको हिरोनी जस्ती” पारसेले मेरो कानैमा मुख टाँसेर सुनाएको थियो ।
उसको कुरा सुनेर म तरङ्गित भएँ । कति बेर कक्षा सकिएला र स्वर्गकी अप्सरा देखुँला ! म आतुर भएँ । ४५ मिनेटको कक्षा पनि ४५ दिन जस्तो लाग्यो ।
“केको हल्ला हो ?” सरिता म्याडमको सदावहार प्रश्न आयो । “केही होइन” भन्दै हामीले शिर झुकायौँ ।
एउटा विराट् छटपटीपछि कक्षा सकियो । भेडाको हुल झैँ ढोकामा धकेलाधकेल गर्दै बाहिर निस्किरहेका विद्यार्थी हुलमा चेपिँदै हामी कक्षा नौको ढोकानिर पुग्यौँ ।
लौ ! कक्षा नौ त सुनसान छ । हामीले स्वर्गकी अप्सरा खोजिरहेका थियौँ । त्यहाँ त केवल रित्ता बेन्च र एउटा भाँचिएको कुर्सी छ । केटाहरूले कुर्सीको खुट्टै भाँचेछन् ।
एक छिनपछि चौरतिरबाट एक हुल विद्यार्थी हामीतिर आइरहेका थिए । कक्षाकोठा चिसा थिए, त्यसैले ‘बिएस्सी’ सरले बाहिरै पढाएछन् । घाम ताप्दै । भिड नजिकै आयो ।
“खोइ त स्वर्गकी अप्सरा ?”
मैले पारसेको कानैमा मुख पुर्याए । ऊ एक छिन केही बोलेन । ध्यान दिएर भिडतिर हेर्यौँ । अलिबेरपछि उसले उत्साहित हुँदै एउटी केटी देखायो ।
“ल हेर ऊ त्यही हो, स्वर्गकी अप्सरा ।”
केटी साँच्चै स्वर्गकी अप्सरा जस्ती थिई ।
दुई चुल्ठी बाटेकी, माथिल्लो ओठमा कोठी भएकी, हामीले लाउँदा मागेर ल्याए जस्ता देखिने स्कुल ड्रेसमा पनि चिटिक्क परेकी । ऊ सुस्त सुस्त हिँडिरहेकी थिई । मानौँ- उसको पदचापले धर्ती भासिन सक्छ ।
केटी मेरो नजिकै आई । मलाई त छुलुक्कै पिसाब आउला जस्तो भयो । तर मैले होस् घुमाइन् । तत्कालै जिब्रोले दुबै ओठमा थुक लगाएँ । मेरा ओठ चिल्ला भए । म ढुक्क भएँ । स्वर्गकी अप्सरालाई चिसोले फुटेका ओठ देखाउनु त भएन् नि !
***
“तेरी भाउजू ।”
“हैन तेरी भाउजू ।”
स्वर्गकी अप्सरा कसले पट्याउने भन्ने विषयमा पारसे र मेरो विवाद पर्यो ।
“ज्यान गए छोड्दिनँ” ऊ भन्थ्यो ।
“अनि मचाहिँ के हेरेर बस्छु ?”
हामी दुवै जना आआफ्नो अडानमा अडिएका थियौँ । केही गर्दा पनि कुरा नमिलेपछि पारसे जङ्गियो ।
“ल दोस्त, जसको शक्ति उसको भक्ति । तैले सके तँ पट्याएर देखा, मैले सके म देखाउँछु ।”
“ओके डन”
मैले पारसेको चुनौती स्वीकार गरे ।
त्यसै साँझ घरमा बाआमा सुतिसकेपछि मैले राम्रा अक्षरमा चिठी लेखेँ । फोन नम्बर त माग्न सके पो ! मागे पनि के ? आफूसँग मोबाइल थिएन । आमाको मोबाइलबाट उसलाई फोन गरुँ, रिसाएर गाली गरी भने… ! फोनबाट मनका कुरा व्यक्त गर्नु जोखिमपूर्ण लाग्यो ।
एकबारको जिन्दगीमा किन खुकुरीको धारमा नाँच्नु ? मैले प्रेम प्रस्ताव राख्न चिठी उपयुक्त माध्यम ठानेँ । रातभर नसुतेरै चिठी लेखे । चिठी लेखिसकेपछि अलिकति आँट आयो ।
“भोलि जसरी पनि पारसेले भन्दा पहिला नै चिठी दिन्छु ।”
चिठीमा पाउँनेको नाम थिएन, उसको नाम त थाहा भए पो ! पठाउनेको नाम पनि लेखिन । नामबिनाको चिठी खाममा कोचेर म निदाएँ । निदाएँ पनि के भन्नु ? उसकै सौन्दर्यको कल्पनामा हराएँ ।
चिठी कसरी दिने ? आफैँले दिउँ कि अरू कसैलाई दिन लगाउँ ? मनमा अनेकौँ कुराहरू खेलाउँदै भोलिपल्ट स्कुल पुगेँ । पारसे त अघि नै पुगिसकेको रहेछ । कतै उसले चिठी पनि दिइसक्यो कि ? मलाई छटपटी भयो ।
म स्कुल पुग्दा प्नार्थना सुरू हुनै आँटेको थियो, पारसेलाई बेवास्ता गरेर चौरमा पुगेँ । ऊ कक्षामै बस्यो, राष्ट्रिय गान गाउने बेला पनि चौरमा आएन ।
प्रार्थना सकेर कक्षामा आउँदा पारसे अँध्यारो मुख लगाएर अन्तिम बेन्चमा बसेको थियो । म पनि गएर उसको छेवैमा बसे ।
“ओइ के भो, स्वर्गकी अप्सरालाई प्रपोज गर्न डराइस् कि के हो ?” उसको मौलिएको चेहरा देखेर सोधिहालेँ । ऊ फिस्स हाँस्यो, मलाई जिस्काए जसरी । छिनमै मुसुमुसु हाँस्छ, छिनमै औँसीको रात झैँ अँध्यारो मुख लगाउँछ । हैन आज पारसे बौलायो कि क्या हो ? उसको चाल देखेर म अचम्मित भएँ ।
पहिलो घन्टी चलिरहँदा जब मैले झोलाको बाहिरी गोजीमा हात छिराएँ, मेरो पेट चिसो भयो । त्यहाँ मेरो चिठी थिएन । घरबाट निस्कने बेला चिठी बाहिरी गोजीमै राखेको थिएँ । अहिले छैन । मैले पूरै झोला छामछुम पारेँ । चिठी भेटिएन ।
थकित भएर पारसेको अनुहारतिर हेरेँ । उसले किताबमा आँखा गाडेको थियो, पढनदास पल्टेर । मेरो चिठी कहाँ हरायो ? अब मैले स्वर्गकी अप्सरालाई के दिने ? मलाई रोउँ रोउँ लाग्यो । मन भारी भयो ।
जब हातमा मोटो मेहलको लोरो बोकेर ‘बिएस्सी’ सर ढोकामा उभिए, मेरो जिउमा एकैचोटी सयौ काँडा उम्रिए जस्तो भयो । के आज मेरो ढाड चिलाएकै हो त ? मैले एकपल्ट पारसेको अनुहारतिर आँखा पुर्याएँ । उसको अनुहार रातो भएको थियो । ऊ पनि डराए जस्तो छ !
‘बिएस्सी’ सर विद्यार्थी कुट्न माहिर थिए नै ।
“बिएस्सी सरको हातबाट कुटाइ खानुभन्दा भिरबाट हाम फालेर मर्नु बेस” कुटाई चाखेकाहरू यसै भन्थे ।
“एइ पारसे उठ्” मेहलको लौरो पारसेतिर सोझ्याउँदै बिएस्सी सर कराए ।
“आस्थालाई चिठी किन लेखिस् ?” पारसे मौलोमा बलि दिन आँटेको राँगो झैँ डराउँदै उठ्यो । एकै छिनमा आस्था पनि देखिई कक्षामा । हैट, स्वर्गकी अप्सराले त डुबाउँछे कि क्या हो ?
बिचरा पारसेको मुटु भलिबल झैँ उफ्रिरहेको होला । मलाई उसको असाध्यै माया लाग्यो । पारसेले केही सोच्न नपाउँदै बिएस्सी सरको लौरो उसको पिठ्युँमा बजारियो । एकचोटी होइन, लगातार पाँचचोटी । तुरुक्क आँसु चुहाउँदै पारसे बेन्चमा थचारियो । स्वर्गकी अप्सराको नाम आस्था रहेछ । स्वर्गकी अप्सरा हो कि नर्ककी ? मलाई आस्थासँग विद्रोह गर्न मन लाग्यो । यसरी मर्ने गरी कुट्न लगाउने हो ? अब यसलाई ज्यान गए चिठी लेख्दिनँ ।
भएछ के भने-
कक्षाका सबै विद्यार्थी प्रार्थनामा उपस्थित भएका बेला पारसेले सुटुक्क मेरो चिठी चोरेछ । उसले चिठीमा आफ्नो नाम थपेछ । कुन बेला, कक्षा नौमा पसेर आस्थाको झोलामा चिठी राखिदिएछ । अनि पो पारसेको दशा चम्कियो । आस्थाले चिठी ‘बिएस्सी’ सरलाई बुझाई । सरले सजाय दिए । के सजायको अर्थ फाँसी दिनु अथवा मर्ने गरी पिट्नु मात्र हो ?
कक्षामा सबैका सामु पारसेले आस्थाको खुट्टा ढोगेर माफी माग्यो । ढोग्ने बेला पारसेको आँसुको थोपा आस्थाको खुट्टामा पर्यो ।
के पारसेको आँसुले पोल्यो आस्थालाई ? मैले आस्थाको अनुहारमा हेरेँ, त्यहाँ कुनै पीडा थिएन् । ‘बिएस्सी’ सर बाहिरिए, सँगसगँ आस्था पनि । जब बेन्चमा पछारिएर पारसे डाँको छोडेर रुन थाल्यो मेरो मन अमिलो भयो । मैले नै चिठी लेखेर त यो सब भएको नि !
“भो नरो पारस” सरको आगमनले पढाउन छाडेर मौन बसेकी म्याडमले मायालु आवाजमा भनिन् ।
“भर्खरका केटाकेटी हुन्, अलिअलि गल्ती त भैहाल्छ नि ! यसरी मर्ने गरी कुट्ने हो ? हेर अनुहारै रातो भा’छ”
पारसेको हालत देखेर पूरा कक्षा नि:शब्द थियो । हामीसँगै पढ्ने पारसेकी दिदीका आँखा रसाएका थिएँ, आँखामा सिङ्गै कर्णाली भरिए जसरी । पहिलो घन्टी सकिएपछि पारसे र म स्कुलमा बस्नै सकेनौँ । स्कुलबाट फुत्त निस्केर हिँड्यौँ । बाटोमा पारसेको झोला पनि मैले नै बोकेँ । पारसे भन्थ्यो “दोस्त झोला बोक्दा पिठ्युँ चर्याउँदो छ ।”
उसको घर कुडारी बजारभन्दा दुई किलोमिटर दक्षिणमा थियो, त्रिवेणी बजारमा । पारसेको घर जाने बाटोमा अलि अलि घाँस भएको चौर थियो । ऊ आकाशतिर पिठ्युँ फर्काएर चौरमा पल्टियो । हावाको झोक्काले पारसेको पातलो सर्ट जिउ छोडेर भाग्ला झैँ गर्न थाल्यो । मैले देखेँ । उसको पिठ्युँमा सातवटा राता धर्सा बसेका थिए । तिनै चहराएका होलान् । मैले चिनेदेखि पारसे यसरी घायल भएर कहिल्यै लडेको थिएन । ऊ बलियो थियो । कहिलेकहीँ स्कुलमा केटाहरुले मलाई पिट्दा बचाउने ऊ नै त हो । एकाएक मेरा आँखा टम्म भरिए ।
“दोस्त पल्टिदै गर्, म पिसाब गरेर आउँछु” छल्किएका आँसु लुकाउन छेउ लागेँ ।
पारसेलाई उसको घर पुर्याएर म कुडारी बजार फर्किएँ । उसको सम्झनाले बाटो छेकेँ, मैले जबर्जस्ती पाइला चालेँ ।
“सुम्निमा दिदी, आज पारसे आएन ?”
अर्को दिन, स्कुलभरि कतै पनि पारसेलाई नभेटेपछि उसकी दिदीलाई सोधेको थिएँ । भरिएको गाग्रीको मुखमा हल्लिरहेको पानी झैँ टिलपिल भएका आँसुलाई सेतो दोपट्टाले पुछ्दै सुम्निमा दिदी बोलिन् ।
“पारसे त हिजो राति नै घर छोडेर हिँड्यो ।”
“कहाँ गयो त ?”
“ दे… … ?” (खोई)
पारसे घर छोडेर भाग्यो । स्कुलभरि हल्ला चल्यो । तल नाग्म बजारसम्म खोज्न पनि गएका थिएँ रे पारसेका बा ! तर कतै भेटिएन् रे !
‘बिएस्सी’ सरले कुटेको साँझ पारसेका बाले सोधेका थिए रे, किन कुटाइ खाइस् भनेर । पारसेले इमान्दार भएर सबै कुरा भनेछ ।
तँलाई पढ्न पठाको कि लभ गर्न भन्दै पारसेलाई दुई झापड लगाएका थिए रे उसका बाले । त्यसै रात पारसे घर छोडेर भागेछ ।
पारसेले घर छोडेको केही दिनपछि उसकी आमा हाम्रो पसलमा आएकी थिइन् । त्यस दिन बा सदरमुकाम जानुभएको थियो । पसलमा आमा र म मात्र थियौँ । मलाई देखेर पारसेकी आमाका आँखा रसाए । भनिन् – “छाउल्या त बाईगयो, तमी राम्मो गरिकन पढ्या !” (सङ्गैको साथी हिँडिसक्यो, तिमी राम्रोसँग पढ्नू)
बोल्दाबोल्दै उनले आँखाको डिलमा टिलपिलाएको आँसु थाम्न सकिनन् । भक्कानो फुट्यो । उनी रुन्चे आवाजमै बोलिन् ।
“त्यै अभागी सात् एकसरा राम्रा टाला पुनि थेनुन्”
“हुन्देउ झर्को नमान” आमाले सम्झाउनुभयो । “छोरो हो , एक दिन त पक्कै फर्केर आउला ।”
जाने बेला पारसेकी आमाले फर्की फर्की मलाई हेरिन् । बिचरा ! आफ्नै छोरा जस्तो मानिन् होला ।
पारसेले घर छोडेपछि म एक्लो भएँ । कक्षामा पनि एक्लै बस्थेँ । कहिलेकहीँ झुक्किएर पारसेलाई बोलाउँथे पनि । त्यहाँ पारसे थिएन । अरू विद्यार्थी अचम्म मानेर मलाई हेर्थे । कतिले त भन्थे पनि-
“भाँडा पसले साहुको छोरो बहुलायो ।”
म हरेक रात सोच्थेँ । कहाँ गयो होला पारसे ? इन्डिया पो गयो कि ? बजारमा पढाइ छाडेर इन्डिया जाने केटाहरू धेरै थिए ।
पारसे खलासी गर्न नेपालगन्ज पो गयो कि ? कोही केटाहरू घरबाट भागेर खलासी हुन नेपालगन्ज पुगेका थिए । कहाँ गयो होला पारसे ? मलाई कयौँ रात उसको सम्झनाले निदाउन दिएन, सताइरह्यो ।
म निराश थिएँ ।
म उदास थिएँ ।
आस्थासँग बेला बेला आँखा जुध्थे । ऊ मन पर्नै पनि छाडेकी थिई । धेरैचोटि मसँग बोल्न खोजेकी थिई । म तर्किएको थिएँ । म एक्लो थिएँ, म कवि भएँ । हरेक दिन एकदुई वटा कविता लेख्न थालेँ, डायरीहरु भरिँदै गए ।
चौकीमा नयाँ असई आएका थिए । असई साबसँग हाम्रो बाको राम्रो सम्बन्ध थियो । असई साब बेला बेला हाम्रो पसलमा आइरहन्थे । भन्थे “जुम्लामा जाडो खान आउन मन थिएन, कर्मले यतै पठायो ।”
“यस्तै हो असई साब” बा भन्नुहुन्थ्यो । “मलाई पनि उतै जाजरकोटमै राम्रो थियो, आफ्नो पुर्ख्यौली ठाउँ भनेर जुम्ला आइयो । यहाँ यस्तै छ ।”
मलाई असई साब खासै मन पर्दैन थियो । बेला बेला चौकीमै बोलाएर कविता सुनाउन लगाइरहने । हिउँ परेर बजार सेतै भएको बेलाको चौकी जाओस् कवि बनेर । आस्था यिनै असई साबकी छोरी रहिछे । म चौकीमा कविता सुनाउन गएका बेला ऊ चिया ल्याएर दिन्थी ।
घुँडासम्म आउँने हिउँ छिचोल्दै चौकी जाउ, बाङ्गाटिङ्गा अक्षरमा लेखेका कविता सुनाउ, अनि असई साबका कुरा सुन । कहिलेकहीँ असई साब भन्थे-
“लेख्दै जाऊ, एकदिन ठुलो कवि हुन्छौ ।”
म फिस्स हाँस्दै टाउको हल्लाउँथेँ ।
दिनहरू यसरी नै बित्दै गए । हिउँ परेर बजार सेतै भएका बेला पारसेको याद आउँथ्यो । तर हिउँका ठुला ठुला घर बनाउन ऊ फर्केर आएन ।
हेर्दाहेर्दै चैत आयो, एसएलसी परीक्षा पनि आयो । मैले पारसेलाई सम्झिएँ, तर सँगै परीक्षा दिन ऊ आएन । नयाँ वर्ष आयो, त्यसको तीन महिनापछि एसएलसीको नतिजा पनि आयो । मैले पारसेलाई सम्झिएँ, तर मलाई बधाई दिन ऊ आएन । एसएलसी पछि म पढ्न काठमाडौं जान आँटेको थिएँ । म काठमाडौँ जाने दिन आयो । मैले पारसेलाई सम्झिएँ, तर शुभयात्रा भन्न ऊ आएन ।
०००
दुई वर्षपछि दसैँ बिदामा जुम्ला जाँदा कसैले सुनाएका थिए ।
“पारसे भेटियो, ड्राइभर भयाको छ । कर्णालीका छालैछालै मोटर हुइक्याउँदो छ ।”
तर पनि पारसेसँग मेरो भेट भएन । भेटुँला कुनै दिन । आफ्नो जीवन आफ्नै हातमा बोकेर खाल्डाखुल्डी परेको, भत्किएको कर्णाली राजमार्गमा सुन्दर जीवन खोज्दै होला ऊ । भेटुँला कुनै दिन र सङ्गै यात्रा गरुँला ।
