गोदावरी नगरपालिका वडा ११, ललितपुर निवासी गोपाल सन्जेल समाजशास्त्रमा स्नातकोत्तरपछि समाजसेवा तथा लेखनमा सक्रीय हुनुहुन्छ । उहाँका उज्यालो बाटोतिर (कविता सङ्ग्रह)– २०४८,
अनुभूतिका रेखाहरु (निबन्ध सङ्ग्रह)–२०५७,परिवर्तनको पक्षमा (निबन्ध सङ्ग्रह)– २०६३, प्रसङ्गवश (निबन्ध सङ्ग्रह)– २०६५,मै हराएँ आज (गजल सङ्ग्रह)–२०६७, बिस्मात (उपन्यास)– २०६९, पत्थर पगाल्दै (निबन्ध सङ्ग्रह)– २०७०, अयोग्य (लघु उपन्यास– संयुक्त लेखन) २०७१, निःशब्दका शब्द (कविता सङ्ग्रह)–२०७३, मभित्र म खोजेर (हाइकु सङ्ग्रह)–२०७३, समय–रेखामा आमोई (उपन्यास )–२०७८प्रकाशित रहेको छ । उहाँ अखबारी लेखन, स्तभ लेखन, फुटकर आलेख, कविता, गीत, गजल आदि विधामा सक्रीय रहदैँ आउनुभएको छ ।
चराचुरुङ्गीहरू
पानीको मैदानमाथि उडान भर्छन्
पूरापूर फेरो मार्छन्
मिठामिठा गीत गाउँछन्
मिठामिठा पीरती गाँस्छन्
पानीहाँसको आफ्नै घर
तैरिन्छन्, पौडिन्छन्, डुबुल्की मार्छन्
आफ्नै संसार ठान्छन् !
गर्भभित्रका जलचरहरू
रमेका कथाकुथुङ्ग्री कतिकति
आसपासका जीवात्माहरू
कथै बुन्न वरिपरि झुम्मिन्छन्
रम्नै रमण लाउँछन्
सबैसबै रम्छन्
रम्नुको नामै रारा !
हावा रम्नै हाम फाल्छ
पानीको सपाट मैदानमा लडिबुडी खेल्छ
घामको झुल्को उसैगरी लुटपुटिन्छ
रङ्ग पोत्छ, रङ्गीन बनाउँछ
इन्द्रेणीभन्दा धेरै रङ्ग पोत्छ
पानीको रङ हेर्न
पानीको रङ फेर्न
पानीको रङ उचेर्न
निलो आकाश ढकनी मार्छ
सेतो चाँदीको ढिक्का बनेर
बादल पानीमाथि नै नाच्छ !
छाया प्रतिछायाबिच ऐना हेराहेर गर्छ !
आकाश, हिमाल, रुख, बुट्यान, पानीसँगको अनौठो सम्मिलन !
पानीसँगै पातपतिङ्गर रङ्ग फेर्छ
रङ्गको नामै रारा !
तर मनुवाहरू भने
समय नापेर आउँछन्
बाहाना बनाउँछन्
खै, कसोकसो असहज मात्रै
केके गर्छन् गर्छन्
केके भन्छन् भन्छन्
लय मिल्दैन, सुर मिल्दैन
रम्ने ताल नि मिल्देन
आम्मै, धन्न दर्शन पाएँ रे !
आहा, कति राम्री रे !
ओहो, कस्तो अद्भूत रे !
भाग्यले पाइला टेक्न पाएँ रे !
कतिपयका कुरो त
खाने ठाउँ नि छैन
बस्ने ठाउँ नि छैन
खेल्ने ठाउँ नि छैन
बाटाघाटो नि छैन
हरे, यो कस्तो गुनासो ?
घरज्वाईँ बस्न आएजस्तो !
हे मूर्ख मनुवा,
मैले पाएको वरदानमा रम्न
चराचुरुङ्गी जस्तो जान्दैनौ र ?
जीवात्मा जस्तो ठान्दैनौ र ?
जलचर जस्तो मान्दैनौ र ?
हावा, पानी, घामले जस्तो सुन्दैनौ र ?
गुनासो रारा होइन,
रम्नुको गहिराही नै रारा हो !
भित्री आँखा खुल्दैन भने
प्रकृति कसरी खुलोस्
चराचर जगत कसरी उघ्रियोस्
मन नपर्न सक्छ
मन नरम्न सक्छ
त्यसो भने नआऊ, नछोऊ
परै बस, कथै सकियो
एक्लै रम्न देऊ, सङ्लै रहन देऊ
अनन्त छु, अनन्त रहन्छु
पूर्ण छु, परिपूर्ण रहन्छु
अनन्तको नामै रारा !
परिपूर्णको नामै रारा !
भित्री आँखाले हेर
व्यापार होइन, अपार खोज
क्षणिक सयल होइन,
आत्मिक आनन्द खोज
बिथोल्न होइन, बुझ्न आऊ
आउन नबिराऊ, समय ननापी आऊ
स्वर्गबाट आएकी होइन,
स्वर्ग यहीँ सृष्टि गरेको हो
स्वर्गकी अप्सरा होइन,
धरतीकै अप्सरा हो
अतृप्त छु, अतृप्त नै रहन्छु
अतृप्तको नामै रारा !
रम्न आऊ, रम्नुको नामै रारा !
ललितपुर
