अर्मा सुली प्रुधोमे पूरा नाम रेनी फ्रान्सिस अर्मा सुली प्रुधोमे (René François Armand (Sully) Prudhomme) | १६ मार्च १८३९मा पेरिसमा जन्मिएका प्रुधोमेको उपनाम ‘सुली हो | उनी ६ ,सेप्टेम्वर १९०७मा दिवंगत भए ।
सुली प्रुधम परिवारका एक्लो सन्तान थिए । उनी मूलतः दार्शनिक कवि थिए । उनले पेरिसस्थित ‘इकोल पोलिटेकनिक’ नामक विद्यालयबाट आफ्नो शिक्षाको थालनी गरेका थिए । गणित विज्ञानमा उनको बढी रुचि थियो, जसअनुसार उनले त्यस विषयमा दक्षता हासिल गर्दै गए । उनको अध्ययनको क्रममा पेरिस सहरमा आँखाको रोग नराम्रोसँग फैलियो । यसको असर उनलाई पनि पर्यो र उनले एकाग्रतापूर्वक त्यस विषयमा अध्ययन गर्न सकेनन् । विस्तारै, उनले दार्शनिक ढङ्गका कविताहरू रच्न लागे । २६ वर्षको उमेरमा उनको पहिलो कवितासङ्ग्रह प्रकाशित भयो, जसको नाम थियो ‘स्टेजेज एट पोयम्स’ ।
‘स्टेजेज एट पोयम्स’ भित्रै उनको विश्वप्रसिद्ध कविता ‘ली वेस व्राइस’ सङ्ग्रहीत छ । अर्को वर्ष उनले ‘ले ऐ पि्रवेस’ नामक काव्यग्रन्थ प्रकाशित गरे । ‘ले एक पि्रवेश’ लाई अङ्ग्रेजी भाषामा ‘दि स्टेट’ नाम दिएर अनुवाद गरिएको छ । सन् १८७५ मा उनका अन्य दुई पुस्तक ‘ले सालीच्युड’ र ‘ले वेरेई ट्रेन्डेसेज’ पनि प्रकाशित भए । केही वर्षपछि फेरि दुई पुस्तक ‘ला जास्टिज’ र ‘ले वानुहुर’ उनले प्रकाशित गरे । ‘ला जस्टिज’मा न्यायको खोज गरिएको छ भने ‘ल वानुहुर’मा चरम आनन्दमा पुग्ने मार्ग पहिल्याइएको छ ।
सन् १८८१ मा उनी फ्रेन्च एकेडेमीका सदस्य चुनिए । त्यसबखत उनलाई भिक्टर हृयुगोको समानान्तर कवि मानिन्थ्यो ।आफ्नो जीवनको अन्तिम क्षणमा उनी ‘पक्षघात’बाट पीडित थिए । त्यही समयबीच उनले ललितकला, छन्द शास्त्र र काव्य सिद्धान्तमाथि केही निबन्धहरू पनि लेखेका थिए । सबैभन्दा पछि, आफ्नो ६३ वर्षको उमेरमा उनले ‘ला बे्रइ रेलिजन सेंलो पास्कल’ नामक पुस्तक लेखे, जसमा साहित्यसँग आधात्मिकताको महत्त्वलाई प्रकाश पारिएको छ । र, ६८ वर्षको उमेरमा निधन भएका सुली लाई Père-Lachaise मा समाधिस्त गरिएको छ ।
