#टाढिनेहरूको नाउँमा
टाढिनेहरू टाढिन्छन्
जसरी टाढिन्छन् हिउँदका माल्चरीहरू
सयाैँ गुनहरू बिर्सेर
एउटै बैगुनमा टाढिने आफन्तजस्तै
सयाैँ धुनहरू बिर्सेर
नयाँ धुन खोज्ने प्रेमिकाजस्तै
बाटो छोड्नु हुँदैन भनेर सम्झाउदा
कुबाटो रोज्ने सन्तानजस्तै
टाढिनेहरू टाढिन्छन्
मुहान बिर्सिएर बगेको नदी
कहाँ पुग्छ पुग्छ
स्वार्थ पूरा गरेपछि मन मिल्ने दाैँतरी
कहाँ लुक्छ लुक्छ
हिउँदको खहरेजस्तै रहेछ आफ्नाको माया
दु:ख परेको बेला कहाँ सुक्छ सुक्छ
जसरी टाढिन्छन् अनेक तिकडम गरेर धन कमाएकाहरू कमाउन नसक्नेसँग
जसरी टाढिन्छन् उच्च पदधारीहरू भुँइमान्छेहरूसँग
जसरी टाढिन्छन् चुनाव जितेपछि नेताहरू मतदातासँग
जसरी टाढिन्छन् गरिबका अनुहार बेचेर
डलर कुम्ल्याउदै एनजिओका मालिकहरू गरिबसँग
जसरी टाढिन्छन् धर्म बेचेर पेट पाल्ने अधर्मीहरू धर्मसँग
त्यसरी नै टाढिएका छन् टाढिनेहरू मसँग
यतिखेर म
मदेखि टाढिएकाहरू सम्झेर टोलाएको छु
जसरी टोलाउछ
बहेको हावा र बगेको नदी सम्झेर
डाँडाको एक्लेसल्लो मध्यरातमा
कहाँ पुगे होलान् मसँग टाढिएर
स्वार्थको जङ्गलैजङ्गल हिँडेका मेरा आफ्नाहरू
कृपया कसैले भेटेपछि भन्दिनू
तिमीहरू टाढिएपछि
आनन्दको निद निदाएको छ ओम रिजाल ।।
#यात्रामा जानुअघि
जानु छ आफ्नै क्रोधको मलामी
छोड्नु छ स्वार्थको जंगली बाटो
बोक्नु छ एक टुक्रो सत्यपन
हिँड्नु छ एक्लै एक्लै यात्रामा
र
गाउँनु छ जीवनको गीत
”लाखाैँ ताराबीच एक्लै मुस्कुराउँछ जून”
सकुशल उडेका चराहरू
गुँड नफर्कन सक्छन्
म पनि नफर्किन सक्छु भीरमा ठोक्किएर
बाचुञ्जेलसम्म न हो जिन्दगीको उज्यालो
बाँड्नु छ सद्भाव
पोख्नु छ प्रेमको पोखरी
कोर्नु छ नमेटिने डोब यात्रीका लागि
खेल्नु छ भैलो
”ए ! पुनियाँका चन्द्र – साब्बाइ”
सम्झनाको जूनघाम त रहेछ जिन्दगी भन्नु
सम्झनु छ मन दु:खाएका मान्छेहरू
माग्नु छ माफी
सुम्सुम्याउनु छ मायाले दु:खेको मन
र
हिँड्नु छ फेरि देउडा गाउँदै
”आउँदा जाँदा पानी खाउँला नसुकेइ कर्नाली”
यात्रा न हो जिन्दगी
यात्रामा जानु अगि
भेट्नु छ प्रिया
र
भन्नु छ मेरो तस्बिर खिचेर राख
काम लाग्न सक्छ कुनै दिन
समवेदनाका आँसु झारेर
श्रद्धाञ्जली दिन ।।
