साहित्य संगम नुवाकोटको आयोजनामा नुवाकोटको बिदुरमा आउदो पौष १४ र १५ गते दुई दिने साहित्य, पर्यटन तथा संस्कृति महोत्सव हुने भएको छ । साहित्यको माध्यमबाट सामाजिक चेतना अभिवृद्धि गराउने उद्देश्यको साथ पौष १४ र १५ गते नुवाकोट साहित्य, पर्यटन तथा संस्कृति महोत्सव हुने साहित्य सङ्गम नुवाकोटका अध्यक्ष सुमित्रा सुमीले जानकारी दिनुभयो ।
साहित्य संगम नुवाकोटद्वारा आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष सुमित्रा सुमीले कार्यक्रमको बारेमा जानकारी गराउनुभएको थियो । सातै प्रदेशका साहित्यकारहरूको सहभागिता रहने कार्यक्रमको पहिलो दिन लाखे नाँच, खैजेडी भजन तथा पञ्चे बाजासहितको झाँकीले बिदुर परिक्रमा गर्नेछ । यस्तै, कार्यक्रमको पहिलो दिनमै काव्य गोष्ठी अन्तर्गत कविता, गजल र मुक्तक वाचन, विचार गोष्ठी, जनप्रतिनिधिको धारणालगायतका विभिन्न कार्यक्रम गरिने तथा साँझमा गजलको प्रस्तुति रहने उहाँले जानकारी दिनुभयो ।
यसैगरी, कार्यक्रमको दोस्रो दिन आगन्तुक साहित्यकारहरूलाइ विभिन्न पर्यटकिय स्थलको भ्रमण गराइने र मायाको चिनो वितरणसहित कार्यक्रम समापन हुने आयोजकको भनाई छ ।
पर्यटन तथा सहकारी मन्त्रालय बागमती प्रदेशको सहकार्यमा हुन लागेको कार्यक्रममा स्थानीय निकायको सहयोगको अपेक्षा गरिएको समेत अध्यक्ष सुमीले जानकारी दिनुभयो ।
