“सर नमस्कार ! त्यहाँ के भएको हो ? थुप्रै मानिस भेला भएका छन् त ?” भींडतिर जाँदै गरेका रमेश सरलाई मैले प्रश्न गरेँ ।

“खोई के भएको हो ? मलाई पनि थाहा छैन । भरखर आँउदै छु । मानिसको जमघट देखेर म पनि कक्षामा नगई सिधै यतै लागेँ ।” उनले मेरो प्रश्नको उत्तर दिए ।

म पनि उनीसँगै गफिँदै यताउति हेर्न थालेँ । परबाट दीक्षा मेमले हात हल्लाएर यतै आउनु भन्ने सङ्केत गरिन् । म उनले इशारा गरेतिरै गएँ । त्यहाँ अरु सरमेम पनि रहेछन् । सबैजना आआफ्नो तर्क प्रस्तुत गरिरहेका थिए तर मैले खास कुरो बुझिँन ।

“मेमले ठिक गर्नुभो । अन्याय गर्ने पनि त एउटा सीमा हुन्छ । महिला भनेर कति हेप्न सकेको ?” भींडबाट आवाज आयो ।

“ सबभन्दा पुरानो शिक्षक उनी नै हुन् । ३० वर्षदेखि लगातार मधेसबाट धाइरहेकी छिन् । क्याम्पसको अनुकूलता अनुसार कहिले बिहान, कहिले दिउँसो जहिले बोलाउँछन् तहिले आइरहेको देखिन्छ । बैंकको अधिकृत स्तरमा नाम निस्केको तापनि त्यहाँ गइनन् । आफ्नो उर्वर समय यही खर्चिन् । अहिले फल खाने बेलामा त उनैले पढाएका विद्यार्थीलाई पो न्युक्ति गरेछन् । त्यो पनि उनलाई एकवचन नसोधी अनि दुःख लाग्दैन त ?” मदन सरले आक्रोश पोखे ।

“ पद मात्र दिएर के गर्नु त ? काम गर्न नि सक्नुप¥यो नि ! दुई जना मानिसको अगाडि बोल्नुप¥यो भने थरथरी काम्छिन् अरे अनि त्यस्तो कमजोर मानिसलाई प्रमुख बनाएर मात्र हुन्छ ?” नेत्र सरले आपूmले सुनेको कुरा बताए ।

“त्यस्तो कुरा कसले भनेको ?” मदन सरले प्रश्न गरे ।

“रमेश सरले ।” उनले छोटो उत्तर दिए ।

“ए ! जो चाहिँ विज्ञापन खुलाउदा भिड्ने आँट नगरेर रातारात पार्टी परिवर्तन गरी दबाबमा छिर्छ अनि त्यो चाहिँ सक्षम अरे । बिचरा ! हामीलाई सिकाउँछ ।” अघिदेखि हाम्रा कुरा सुनिरहेका पुराना शिक्षक नरेन्द्र रिसाए ।

“त्यति मात्र हो र ? ती मान्छे त पहिले विद्यार्थी हुँदा पनि खुव उपद्रो गर्थे अरे । कहिले फेन भाँच्ने, कहिले शौचालयको ढोका फुटाउने, कहिले शिक्षकसँगै झगडा गर्ने …. । पछि क्याम्पसमा स्नातकोत्तरको कक्षा सुरु भएपछि पनि यहाँ राम्रो पढाइ हुँदैन भन्दै विद्यर्थीलाई भड्काएर अन्यत्र लगेका थिए अरे त ? के त्यो साँच्चो हो ?” मैले जिज्ञासा राखेँ ।

“खोई, के साँचो के झुटो भविष्यले बताउला तर यति चाहिँ साँचो हो । मान्छे अति नै उम्ल्यो कहाँ गएर नराम्ररी पोखिन्छ ।” नरेश सरले चिन्ता प्रकट गरे ।

“होइन, आफ्नै गुरुलाई कहिले बिद्यार्थीसँगै गएर तिनलाई पढाउन आउँदैन भन्नु, कहिले बोल्न आउँदैन भन्नु, कहिले असक्षम भन्नु त राम्रो कुरा होइन नि ! खास चाहिँ उसको समस्या के हो ? बुझ्नै सकिएन ।” मैले फेरि जिज्ञासा राखेँ ।

“उनी पहिले अर्कै कलेजमा पढाउथे । उनले पढाउने ठाउँमा नेपाली माध्यमका विद्यार्थी सकिए । उनी अङ्ग्रेजी माध्यममा पढाउन नसक्ने भएपछि जागिर सकियो । त्यसपछि यहाँ शक्ति प्रयोग गरेर दबाबमा छिरे । उनी आएपछि अर्की महिलाको जागिर सक्यो । उनलाई फेरि आउनेवित्तिकै पूर्णकालीन हुनुप¥यो । त्यसका लागि बिहानका कक्षा चाहियो । त्यही भएर उनले मेमसँग तपाई एक वर्ष चाहिँ दिउँसो आइदिएर मलाई सहयोग गर्नुप¥यो भनेछन् । मेमले प्रमुख सरलाई सोद्धा त्यसो गरे जागिर धरापमा पर्छ भनेपछि मेमले उसलाई सहयोग गर्न सकिनन् । त्यसपछि ऊ रिसाएर कक्षाकोठाभित्रै उनलाई पढाउन आउँदैन भनेछ । आफ्ना छरछिमेकका विद्यार्थीलाई पनि उचालेर मेमको कक्षा वहिष्कार गर्न लगाएछ । त्यो कुरा प्रशासनमा पनि पुग्यो । प्रशासनले पनि उसको त्यस्ता क्रियाकलापको भत्र्सना गरी माफी पनि मगाएको हो तर पनि उसको उदण्डता साम्य भएको देखिँदैन ।” नरेश सरले थाहा पाएको कुरा बताए ।

“त्यो मानिस गलत छ भन्ने कुरा प्रशासनमा सबैलाई थाहा छ तर पनि उसैलाई सल्लाहाकार चाहिँ किन नियुक्ती गरेको मैले नबुझेको कुरो नि !” अनिता मेमले जिज्ञासा राखिन् ।

“कसले नियुक्ती गर्छ त्यसलाई ? त्यो आफै जान्ने भाको नि ! बिनसित्तिमा पनि गफ गरेर हो जस्तै बनाउछ तर ती कुरा सत्य हुँदैनन् । अस्ति यो भरखर बनेको नयाँ भवन म, चिफसर र सञ्चालक समितिका अध्यक्ष बसेर डिजाइन् गरेको भन्यो । हामी त मख्ख प¥यौँ । भरे भन्दा त त्यस विषयमा उसलाई थाहा नै रहेनछ । कसैले तपाईं भनोस् न नभनोस् आफै मपाईं हुँदो रहेछ । उसका कुरा फिल्टर गरेर मात्र बुझ्नु ।” पुराना शिक्षक कैलाश सरले अनिताको जिज्ञासा तृप्ति गर्ने प्रयत्न गरे ।

“हामी मूल विषयवस्तुतिर नभएर सहायक विषयतिर केन्द्रित भयौँ । हाम्रो मुख्य विषय भनेको मेडमको राजिनामा हो ।” मैले सबैको ध्यान आकृष्ट गर्न खोजेँ ।

“मुख्य र सहायक भनेर कसरी मापन गर्ने र ? कहिलेकाहीं मुख्य जस्तो लागेको कुरा सहायक हुन्छ भने कहिले सहायक जस्तो लागेको कुरो मख्य पनि त हुन सक्छ । त्यसैले कुन मुख्य कुन सहायक भनेर पत्ता लगाउन अन्तिमसम्म कुर्नुपर्ने हुन्छ । फेरि मेडमलाई त्यो कदम चाल्न बाध्य बनाउने मुख्य कारण त त्यही त हो नि !” छलफलमा सहभागीले एकै स्वरमा बोले ।

“मेडम पनि अहिले बेलुकी सत्रको कार्यक्रम संयोजक होइन र ?” भरखर प्रवेश गरेकी रेनू मिसले जिज्ञासा राखिन् ।

“हो त ! मेडमले त्यहाँ राम्रो काम गरेको देखिन्छ । सबै जना सन्तुष्ट नै छन् । पहिले भन्दा अहिले राम्रो काम गरेको भनेर मेडमको तारिफ हुने गरेको पनि सुनिन्छ । प्रशासन पनि सकरात्मक छ । कर्मचारीले पनि आर्थिक रूपमा पारदर्शी भएको कुरा गर्छन् तर त्यही चाहिँ काहीं नभएको अप्ठेरो रहेछ । कहिले के कहिले के भनेर गिजोलिरहन्छ ।” सोना मेमले आफुले थाहा पाएको जानकारी दिइन् ।

“कुरा त्यसको मात्र होइन, क्याम्पस प्रशासनले पनि उनीमाथि अन्याय गरेको छ । उनीभन्दा आठदस वर्षपछि आएकाहरूलाई एकैपटक विभिन्न स्थानका प्रमुख पदमा बहाल गरिरहँदा उनको पनि चाहना के छ भनेर सोध्नु पर्दैन ? यत्रा जनामा एउटा पनि महिला नपर्नु के महिलाप्रतिको विभेद होइन र ? के महिलालाई चाहिँ अतिथिलाई खादा लगाउन, खानेकुरा बाँड्न मात्र प्रमुख बनाउनुपर्ने हो ? काम गर्ने अवसर नै नदिई कसरी जानिन्छ ? के पुरुषले चाहिँ गर्भमै सिकेर आएका हुन् र ? महिलाको नाम उच्चारण गर्ने बित्तिकै उनी भ्याउदिनन् । काम गर्न गारो हुन्छ । उनका बालबच्चा स–साना छन् । उनी टाढाबाट आउछिन् । कहिलेकाहीं अबेरसम्म बैठक बस्नुपर्ने हुन्छ । यस्तैयस्तै ……बहाना ?” मैले असन्तुष्टि व्यक्त गरेँ ।

“अहिले मेम जुन पदमा बहाल भएको देखिन्छ । पहिले त्यो पदमा पुरुष हुँदा प्रमुख भनेरै नियुक्ती गरिएको थियो तर त्यही पदमा मेडमलाई नियुक्ती गर्दा त्यो पद नै खारेज गरेर कार्यक्रम संयोजक मात्र भनियो । त्यस विषयमा हामीले प्रश्न गर्दा त्यो पद विधानबाटै हटाइयो भनिएको थियो । फेरि अहिले नयाँ पद सृजना गरेर पुरुषलाई नियुक्ती गरियो । नेपालको राजनीति र रामदेव क्याम्पसको राजनीति कसैले बुझ्न नसक्ने भए । जसलाई सोधे नि खोई थाहा छैन मात्र भन्छन् । ‘यी दुबैको कानुन दैब जानून्, भयो है अब । खोई के भन्नु र ?” सोना मेमले निरासा प्रकट गरिन् ।

“खोई, विभेद गरियो भन्ने कुरा भान्सेलाई थाहा छ कि छैन ? त्यो सबै समयले बताउला तर हामी प्रष्ट छौँ कि उनीमाथि अन्याय भयो भनेर । त्यसैले यस्तो अवस्थामा आफुमाथि भएको शोषणका विरुद्ध प्रतिकार पो गर्नुपर्छ । कमजोर बनेर भाग्न हुँदैन । राजिनामा समस्याको समाधान हो र ? हामी सबै मेमकै पक्षमा थियौँ तर उनले सल्लाह नै नगरी त्यस्तो कदम चालेको मलाई चाहिँ पटक्कै मन परेन ।” हर्कमाया मेमले चित्त बुझाइनन् ।

“मेमको स्वभाव झगडालु छैन । दायाँबायाँ, छलकपट पनि जानेको थाहा छैन । सबैसँग समान व्यावहार देखिन्छ । कसैलाई अपशब्द भनेको आजसम्म थाहा छैन । सँगै रहेर काम गरेको पनि बाइस वर्ष भइसकेछ । एउटा इमानदार मानिसलाई यसरी अपहेलना गरेको महसुस गरेपछि चित्त दख्यो होला । सहन नसकेर त्यस्तो कदम चालेको होला ।” मलाई लागेको कुरा भनेँ ।

गफ गर्दागर्दै मेमको पनि उपस्थित भयो । एकछिनको भलाकुसारीपछि त्यही विषयमा केन्द्रित भयौँ । हामीले मेमलाई राजिनामा फिर्ता लिन अनुरोध ग¥यौँ तर उनले मानिन् ।

“यस पटक मात्र होइन, अघिल्लो पटक पनि मलाई एकवचन सोधिएन । पछि मैले आफ्नो पनि इच्छा भएको कुरा राखेकी थिएँ । त्यतिखेर मलाई गुलियो वचन दिइएको पनि थियो । म सोझी मान्छे मख्ख परेँ तर अहिले त प्रशासनको प्रमुख सल्लाहाकार हुँ भन्नेबाटै मेरो क्षमतामाथि प्रश्न चिन्ह खडा गरेर असक्षमताको ट्याग भिराएर मेरो स्वाभिमानमा चोट पु¥याउने काम भयो । यस्तो परिस्थितिमा म कसरी यही बसेर काम गर्न सक्छु ? मेरो मनभित्र चाहिँ यस्तै कुराहरू खेलिरहँदा म कसरी ती निर्दोष विद्यार्थीलाई राम्रो शिक्षा दिन सक्छु ? उनीहरूको के दोष छ ? मेरो असुन्तष्टि त्यस्तो गलत क्रियाकलापका विरुद्धमा हो । ती गौप्राणीप्रति होइन ? फेरि मैले घुक्र्याएर त्यसो गरेकी पनि त होइन । त्यसो हुनाले अब म फिर्ता लिन्नँ । काम गर्ने क्रममा तपाईंहरूसँग पनि कहिलेकाहीं जानेर वा नजानेर मबाट कमीकमजोरी भए होलान् । ती सबै मैले नियतवस गरेका होइनन् भन्ने सम्झी त्यसका लागि क्षमा दिनुहुनेछ भन्ने आसा गरेकी छु । मेरा पक्षमा वा विपक्षमा जोजो हुनुहुन्छ तपाईंहरू सबैलाई धन्यबाद । आज म मूलतः मेरा सकर्मी मित्र र विद्यार्थी भाइबहिनीहरूसँग विदा माग्न आएकी हुँ । यहाँहरूसँग भेट भयो । अब विद्यार्थीहरूलाई भेटेर फर्कन्छु । होओस् त धन्यबाद ।” ज्योति मेम भक्कानिइन् ।

उनका पीडा सुन्दा माहोल कारुणिक बन्यो । सबै एकअर्काका मुखमा हेराहेर गर्न थाले तर कसैको वाक्य फुटेन । कति साथीहरूका आँखा रसाए । वातवरणमा सन्नाटा छायो ।

“मेमलाई प्रशासनले असक्षम भनेको होइन । त्यो एउटाले भन्दैमा यसरी विचलित हुनुहुँदैन । हामी सब तपाईंकै पक्षमा छौँ । रह्यो कुरा पदको । काम गर्ने सिलसिलामा गर्दै भन्दै जाँदा कहिलेकाहीं तलमाथि हुन्छ । सायद, यहाँ पनि त्यस्तै भयो होला भन्ने लाग्छ । अहिले जोजोले प्रवेश पाएका छन् । ती सबै आआफ्ना विभागमा दक्षता हाँसिल गरेकै मानिस हुन् । पद सृजना गर्ने र नियुक्ती गर्ने प्रक्रिया फरक भए होलान् तर व्यक्तिहरू सक्षम छन् । पक्कै पनि त्यस्ताको हातमा शासनको बागडोर आउँदा सबैलाई भलो हुनेतिर ध्यान जान्छ होला भन्ने लाग्छ । अब कसैप्रति पनि विभेद नहोओस् भन्ने कामना पनि गरौँ । परिणाम प्राप्त गर्न केही समय हामीले धैर्य गर्नुपर्छ त्यसैले मेमले आफ्नो कार्यमा पुनरविचार गर्नुहोओस् भन्ने आग्रह छ मेरो ।” मैले विन्ती गरेँ ।

“ती मान्छेको बोली र व्यावहारलाई लिएर मेमले त्यसरी चित्त दुखाउनु हुँदैन किनभने ती आफै पीडित छन् बिचरा !” अघिदेखि हामीसँगै छलफलमा भाग लिइरहेका सञ्चालक समितिका सदस्य बोले ।

“कसरी ?” मैले प्रश्न राखेँ ।

“उनी सानै छँदा बाबुआमाको बिछोड भयो । आमाले अर्को विवाह गरेपछि यिनीहरूको अवस्था एकदम नाजुक हुँदै गयो । आमाविहीन हुनुपर्दा यिनको स्वभावमा परिवर्तन आयो । पढ्ने क्रममा पनि यिनले निकै ठुलो सङ्घर्ष गर्नुप¥यो । विवाहपछि पनि पारिवारिक अवस्थामा खासै सुधार हुने वातावरण बनेन । बेलाबेला घरमा कलह भइरहन्छ । अहिले पनि विचार गर्नु त उनी कहिले हाँसिरहन्छन् । कहिले कति मलिन भएर बोल्छन् तर कहिले अनुहार कस्तो डरलाग्दो हुन्छ । बिनसित्ति आवेशमा आउँछन् र झम्टिन्छन् । त्यसमा पनि महिलासँग त उनको खासै क्यामेस्ट्री मिल्दैन । त्यसो हुनाले उनका कुरालाई लिएर त्यति धेरै गहि¥याइमा जानु हुँदैन भन्ने लाग्छ मेमले ।” सञ्चालक सदस्यले मेरो जिज्ञासा तृप्ति गर्ने प्रयत्न गरे ।

“तपाईले कसरी थाहा पाउनु भयो त ?” सोना मेमले जिज्ञासा राखिन् ।

“मेरो त करेसा जोडिएका छिमेकी, दाजुभाइ पनि हुन् । फेरि उनी दस वर्षको हुँदादेखि हामीसँगै छौँ । उनका जीवनका आरोहअवरोहसँग म परिचित छु ……” उनी भावुक बने ।

“कोही किन बर्बाद होस् नाटकको पात्र धुर्ब जस्तै रहेछन् । बिचरा रमेश सर !” म स्तब्ध भएँ ।

सुन्दरहरैँचा, मोरङ)