ढुङ्गा पगाल्ने केवल प्रेमको हिम्मत हुन्छ
जो कोहीले प्रेम पाउने कहाँ किस्मत हुन्छ ?

एकोहोरो रोटी कहिल्यै पाक्दैन मित्र डढ्छ
एकोहोरो प्रेमको प्रतिफल केवल खत हुन्छ ।

केही हुन्न सुरूप्प पार्न त भन्छन् साथीहरू
थाह छैन र खाएपछि नै त यसको लत हुन्छ ।

यहाँ विशेष निस्वार्थ कर्म गर्ने कमै भेटिन्छन्
स्वार्थमा कर्म गर्नेकै ठुलो घर अनि छत हुन्छ ।

जति नै तिमी असल नेता हौ केही फरक पर्दैन
पैसा हुने विपक्षीकै भागमा गतिलो मत हुन्छ ।

थाह छैन किन सधैँ जातीय वर्गीय विभेद हुन्छ
यति मात्र थाह छ ऊभित्र पनि रातै रगत हुन्छ ।

जब समस्या आउँछ टाढा कुद्छन् आफ्नाहरू
किन मान्छे मान्छे बन्न खोज्दैन्न जब जरुरत हुन्छ ।

अनिल कोइराला, मकवानपुर