पुस २० शुक्रबार मकवानपुर — नेपाल प्रज्ञा प्रतिष्ठानले वरिष्ठ साहित्यिक पत्रकारद्वय रोचक घिमिरे र रुक्मिनी श्रेष्ठलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । ‘साहित्यिक पत्रकारिता’ क्षेत्रमा योगदान पुर्‍याएको भन्दै प्रतिष्ठानले उहाँहरूलाई पुरस्कारसहित सम्मान गर्न लागेको हो । कुलपति भूपाल राईको अध्यक्षतामा बसेको बैठकले ‘प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कार’ वरिष्ठ साहित्यकार रोचक घिमिरे र ‘प्रज्ञा नेपाली मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कार’ बाट वरिष्ठ साहित्यिक पत्रकार रुक्मिनी श्रेष्ठलाई सम्मान गर्ने निर्णय भएको हो । ५० हजार रुपैयाँ राशि भएको दुवै पुरस्कार आगामी पुस २९ मा नेपाल प्रज्ञा-प्रतिष्ठानमा आयोजना गरिने एक समारोहबीच प्रदान गरिनेछ । ७ दशकदेखि साहित्यिक पत्रकारितामा निरन्तर योगदान पुर्‍याउँदै आएका घिमिरे रमेश विकल साहित्य प्रतिष्ठानका अध्यक्ष हुनुहुन्छ भने उहाँले २०१८ साल जेष्ठ २ गतेबाट रचना साहित्यिक द्वैमासिक पत्रिकाको सम्पादक र प्रकाशक रही साहित्यिक पत्रकारिता सुरू गर्नु भएको हो । त्यस्तै, पाँच दशकदेखि साहित्यिक पत्रकारितामा समर्पित श्रेष्ठ नेपाल भाषामा २००८ वैशाखदेखि प्रकाशित हुँदै आएको ‘थौंकन्हे’ साहित्यिक मासिकमा २०४५ सालमा आबद्ध भइ सम्पादक तथा प्रकाशक रहँदै आउनु भएको छ ।