पौष २१ आइतबार मकवानपुर ।
मुक्तक मञ्च मकवानपुरको बैठकले ३ मुक्तककारहरूलाई सम्मान गर्ने घोषणा गरेको छ । मञ्चको गत शुक्रबार बसेको बैठकले मुक्तककार दीपक समीप, हरिकृष्ण काफ्ले र बिर्खे अन्जानलाई सम्मान गरिने अध्यक्ष डीबी बर्तौलाले बताउनुभयो । अध्यक्ष डिबी बर्तौलाद्वारा आफ्ना पिताको स्मृतिमा स्थापित ‘बहादुरानन्द स्मृति मुक्तक सम्मान २०८०’ बाट पोखराका मुक्तककार दीपक समिपलाई सम्मानित गरिनेछ । उक्त सम्मानको राशि रू ७ हजार ७ सय ७७ रहेको छ भने गत वर्ष यस सम्मानबाट सिन्धुलीका मुक्तककार लोकेन्द्र डहरे सम्मानित हुनुभ‌एको थियो । मुक्तक मञ्च मकवानपुरका उपाध्यक्ष किशन पौडेलद्वारा आफ्ना बाबुको स्मृतिमा स्थापित ‘तारा स्मृति मुक्तक सम्मान २०८०’ मुक्तककार हरिकृष्ण काफ्लेलाई सम्मानित गरिनेछ । उक्त सम्मानको राशि रू ७ हजार ५ सय रहेको छ । गत वर्ष सो सम्मानबाट बाट देवराज खरेल सम्मानित हुनुभ‌एको थियो । 

प्रलेस मकवानपुरका अध्यक्ष श्रीराम अधिकारीद्वारा आफ्नी हजुर‌आमाको स्मृतिमा “इन्दिरादेवी स्मृति मुक्तक सम्मान २०८०” बाट थाहा नगरपालिकाका मुक्तककार बिर्खे अञ्जानलाई ‘इन्दिरादेवी स्मृति मुक्तक सम्मान २०८०’प्रदान गरिनेछ । सो सम्मानको राशी रु ५ हजार ५ सय ५५ रहेको छ। गत वर्ष माध्यमिक स्तरीय मुक्तक प्रतियोगिता गरी विजेता समर्पण न्यौपानेलाई सो सम्मान समर्पण गरिएको थियो । सम्पूर्ण सम्मान अधिवेशनको दिन माघ २७ गते प्रदान गरिने छ। यसैगरी पौष २८ गते स्रष्टाद्वय दीपक गौतम र किशन पौडेलका मुक्तक वाचनका साथै मुक्तक मञ्चका आजीवन सदस्यहरूलाई प्रमाणपत्र  वितरण समेत गरिने अध्यक्ष बर्तौलाले जानकारी दिनुभयो । मञ्चले सदस्यता नवीकरण तथा आजीवन र साधारण सदस्यताका लागि सूचनामार्फत् आह्वान गरेको छ ।