पौष २३, सोमबार मकवानपुर । बालबालिकालाई सिर्जनशील बनाउने उद्देश्यले स्थापित बालबालिकाहरूद्वारा नेतृत्व गरिएको नवसर्जक साहित्य चौतारी नेपाल विधिवत् रूपमा जिल्ला प्रशासन कार्यालय, मकवानपुरमा दर्ता भएको छ । पौष २३ गते संस्था दर्ता ऐन-२०३४ अनुसार दर्ता भएको यो संस्थाको सुरूवात २०७७ जेठ १ बाट भएको थियो संस्थाका संरक्षक तथा परिकल्पनाकार दीपक गौतमले जानकारी दिनुभयो । ‘नवसर्जककेन्द्रित अनलाइन साहित्यिक प्रशिक्षण अभियान’ बाट सुरू भएको यस संस्था २०७७ पुस ११ गते पहिलो तदर्थ समिति गठन गर्दै ३१ सदस्यीय केन्द्रीय समिति, सातै प्रदेशमा प्रदेश समिति, काठमाडौँ उपत्यका समिति एवम् विदेश विभागसमेत गठन भइसकेको छ । 

गठनपश्चात् १५० भन्दा बढी अनलाइन कार्यक्रम, राष्ट्रिय बालसाहित्य उत्सव, प्रादेशिक बालसाहित्य उत्सव, केन्द्रीय तथा प्रादेशिक कार्यालय स्थापना लगायतका गतिविधिहरू सञ्चालन भइसकेको छ । आधा दर्जन नवसर्जकका कृति प्रकाशन गराइसकेको नव सर्जक नेपालमा रु. ५० हजार नगदसहितको ‘विष्णुकुमारी रिजाल स्मृति पुरस्कार-२०७९’ प्राप्त गर्दै बालसाहित्यको क्षेत्रमा क्रियाशील संस्थाले मासिक रचना वाचन, विमर्श श्रृङ्खला, पुस्तक विमोचन, कार्यशाला लगायतका कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आइरहेको छ । नवसर्जक चौतारी नेपालका केन्द्रिय महासचिव समर्पण न्यौपाने, वरीष्ठ उपाध्यक्ष विभूति अधिकारी, आँचल कुसुम अधिकारी लगायतका श्रष्टाहरूले पुस्तक रचना गरिसक्नु भएको केन्द्रिय अध्यक्ष प्रशन्ना चौलागाईँले जानकारी दिनुभयो ।