पौष २४, मङ्गलबार मकवानपुर । इन्डियन आइडलमा प्रतिस्पर्धा गरिरहेकी गायिका मेनुका पौडेलको गायकीले भारतीय सेलिब्रेटीसहित धेरैको प्रशंसा पाइरहेको छ । इण्डियन आइडलको आइतबार रातिको एपिसोडमा बाहरिनबाट जोगिँदै भने उनी ‘बटम चार’ मा परेकी हुन् । हरेक श्रृङ्खलामा निर्णायकहरूको प्रशंसा र ‘स्ट्यान्डिङ ओभेसन’ पाउँदै आएकी उनले पछिल्लो प्रस्तुती ‘तेरा साया साथ होगा’ गीत गाउँदागाउँदै ‘लिरिक्स’ बिर्सिइन् । गायनकै क्रममा उनले ‘भोकल क्र्याक’ भएको बताइन् । जजले तिमी सक्नेछौ मेनुका भनेपछि पनि उनले निरन्तरता दिन सकिनन् । निर्णायक विशाल डडलानीले अन्तरा फेरि सुरु गर्न सल्लाह दिए तर सकिनन् ।
अर्की निर्णायक श्रेया घोषालले उनलाई सहयोग गर्दै गीत गाइन् । तर उनले आफूले गाउन नसक्ने र आफ्नो मुटुको चाल (हार्ट बिट) बढेको बताइन् । उनले पानी मागेर पिइन् । उनलाई सान्त्वना दिन सञ्जय दत्तसँगै जजहरु स्टेजमा पुगे । स्टेजको छेउमा लगेर चिकित्सकले रक्तचाप जाँचे। डाक्टरले प्रस्तुतिलाई निरन्तर राख्न सुझाव दिएपछि कार्यक्रम अघि बढ्यो। त्यसपछि मेनुकाले सहज हुँदै गीत पुरा गरिन् । निर्णायक घोषालले गायनका लागि योग्य रहेकी र उनले संसारभरबाट प्रशंसा पाइरहेको बताइन् । तथापि यस घटनालाई इन्डियन आइडलले फरक शैलीले ‘पब्लिसिटी’ गरेको भनेर चर्चा पनि भइरहेको छ भने अर्कातिर फरक भाषाका गीत, सङ्गीतका धुनहरू याद गर्नु कठिन रहेको भनेर उनलाई ढाडस दिनेहरू पनि भेछिन्छन् ।
मेनुका पौडेलको स्वरलाई ‘सङ्गीतकी साक्षात् स्वरूप’ भनेर चर्चा गर्दै भारतमा लता मङ्गेश्करसँग तुलना गर्ने गरिएको छ । उनले प्रभासको चलचित्र ‘सलार’ का लागि गीत रेकर्ड गराइसकेकी छिन् । उनलाई अन्य चलचित्रमा गायन र अभिनयको प्रस्ताव आइसकेको छ । नेपाल आइडलमा सर्वाधिक हेरिएको (२.६ मिलियन भ्युज) उनको अडिसनमा उनले पहिलो गीतमा नारायण गोपालको ‘तिम्रो जस्तो मुटु मेरो पनि…’ गाएपछि निर्णायक न्ह्यू बज्राचार्यले दोस्रो गीत गाउन भनेपछि नारायण गोपालकै ‘पोखिएर घामको झुल्का….’ गीत ३ पटक गाएकी थिइन् । अन्ततः उनी पहिलो सिजनमा उनी शीर्ष ११ मा पुगेकी थिइन् । उता इन्डियन आइडलको अडिसनमा भने उनले लगान फिल्ममा रहेको लता मङ्गेस्करको आवाजमा रहेको ‘ओ पालन हारे निर्गुन व न्यारे (१.१ मिलियन भ्युज)’ गाएर उच्च सम्मानका साथ ‘गोल्डेन माइक’ प्राप्त गरेकी थिइन् । नवसाहित्य डट कम परिवार मेनुका पौडेलको आगामी यात्राको लागि शुभकामना प्रकट गर्दछ ।
