माघ २, मङ्गलबार मकवानपुर । सिएम रिमालको बालकथासङ्ग्रह ”कथा भन्छु नि ल !” बजारमा आएको छ । पुस्तकमा अनुष्माको आँसु, उसलाई सधैँ राम्रो होस् र कथा भन्छु नि ल ! शीर्षकका तीन कथा समेटिएका छन् । शिक्षणसिकाई र साहित्य सिर्जनामा सक्रिय रिमालका यसअघि फुटकर रचनाहरु प्रकाशित थिए । बालकथा, बालकविता, समीक्षा, कथा र कविता लेखनमा निरन्तर लागिरहेका उनको यस पुस्तकमा बालमनोविज्ञान बुझेर लेखिएका बालकथाहरु छन् ।
‘आँट गरे, गर्न नसकिने केही रहेनछ ।’ अनुष्माको आँसु शीर्षकको कथामा यस्तो मूलभाव छ । क्षमता चिनेर हौसला दिएमा बालबालिका अगाडि बढ्न सक्ने विषयवस्तु कथामा रोचक ढङ्गले पस्केका छन् । गरीब दीनदुःखीलाई सहायता गर्नुपर्छ, प्राणी रक्षा गर्नु हाम्रो कर्तव्य हो भन्ने सन्देश बोकेको ‘उसलाई सधैँ राम्रो होस्’ शीर्षकको कथा पढ्दा पाठकमा सकारात्मक सोच विकास हुन्छ ।
नानीबाबुहरुलाई सुत्ने समयमा कथा सुनाउने परम्परा हट्दै गएको आजको समयमा यस पुस्तकको शीर्षकले नै कथावाचनको माग गर्दछ । शीर्षक पढ्दा नै कथा सुनाउने जिम्मेवारी थपिएजस्तो गराउने ”कथा भन्छु नि ल !” शीर्षकको कथामा “योचाहिँ म सानै छँदाको कुरा हो…।” भन्ने प्रसङ्गले बालबालिकालाई आकर्षित गराउँदछ । चित्रसहितको यस पुस्तकमा देव कोइमीले चित्र बनाउनुभएको छ । पुस्तक खोजी प्रकाशनले बजारमा ल्याएको हो ।
