स्व. प्रदीप गिरी एक राजनीतिक विश्लेषक, नेपाली काङ्ग्रेसका नेता हुनुहुन्थ्यो । आफ्ना र फरक सबै दलका साझा बौद्धिक व्यक्तित्व उहाँको खास पहिचान हो । उहाँ मार्क्सवादबाट निकै प्रभावित हुनुहुन्थ्यो । युवालाई राज्यको महत्वपूर्ण स्थानमा नेतृत्व दिनुपर्छ भन्ने उहाँ द्वन्द्वकालमा समेत द्वन्द्वरत माओवादीलाई पनि सँगसँगै लिएर जानुपर्छ भन्ने फरक विचार राखेर चर्चित हुनुहुन्थ्यो ।

राजनीतिशास्त्र र दर्शनशास्त्रमा स्नात्तकोत्तर गर्नु भएका उहाँलाई नजिकबाट चिन्नेहरू सादगी जीवन व्यतित गर्ने, पद लोलुपता फिटिक्क नभएको एक विद्वान जसलाई समसामयिक राजनीतिमा अर्को कसैसँग तुलना गर्न नसकिने व्यक्तित्वका रूपमा चिन्दछन् । जानकारहरूका अनुसार संविधानमा उल्लेख हुनुभन्दा धेरै पहिले नेपाली काङ्ग्रेसभित्र समावेशिकरणयुक्त प्रतिनिधित्वका कुरा उठान गर्दै त्यसलाई प्रयोगमा लैजान दबाब दिनुहुने उहाँ धेरै पटक आफ्नै दलभित्र समेत फरक मत राखेर आफ्नो विचारमा अडिग रहनुहुन्थ्यो । आज उनै सच्चा समाजवादी तथा नयाँ पुस्ताले गर्व गर्ने पूरानो पुस्ताको नेता स्वर्गीय प्रदीप गिरीका महत्वपूर्ण ३० वटा विचारहरू लिएर आएका छौं ।


१. त्रास, चिन्ता, अनिश्चितता कसलाई छैन होला र ? नेपोलियन, हिटलर र चर्चिललाई पनि त थियो होला नि ।

२. वि.पी. कोइरालाको जन्मदिनमा वृक्षारोपण गर्ने काङ्ग्रेस अहिले परिवर्तन भएको छ ।

३. एक्काइसौं शताब्दीको सबैभन्दा ठूलो क्रान्ति महिला र पुरुषको सम्बन्धको पुनःपरिभाषा हो । वीपी कोइरालाले आजभन्दा ५० वर्षअघि ईन्द्रमाया पात्रमार्फत् यसबारे लेखिसक्नु भएको छ ।

४. एकपटक महिलाले जोडदारसँग भन्नुपरेको छ- पहिले मलाई मेरो शरीरमाथिको अधिकार नै देऊ ।

५. राजा महेन्द्रले संसारमैँ नभएको व्यवस्था ल्याएका भनिन्थ्यो, त्यो पनि अन्ततः कमजोर भयो ।

६. विपीले जहिल्यै पनि राजा नभए देश रहँदैन भन्नुहुन्थ्यो, त्यो जहिल्यै गलत थियो । यसको विरूद्धमा म लेखिरहेको थिएँ ।

७. कम्युनिष्ट मित्रहरू आफूलाई मन नपरेपछि जहिल्यै विदेशीको खेल भन्छन्, त्यो पनि नौटङ्की नै हो ।

८. पार्टी सञ्चालन गर्न, हजारौं लाखौं मान्छे पछि लगाउनका लागि अनेकन नारा बनेका छन् । आज लाखौं विदेशिनु, तिनका पैसाले देश चल्नु, गाउँमा श्रम गर्न सक्ने युवा नहुनु, खेति सुनसान र कृत्रिम विलासिता हुनुमा त्यही नाराको काम हो ।

९. नेपालमा कृष्णप्रसाद भट्टराईभन्दा महान मान्छे मैले देखेको छैन ।

१०. सामान्य अर्थशास्त्र पढेको मान्छेले पनि भन्न नसकिने नेपाललाई स्वीजरल्याण्ड बनाइदिने (Per capita income बढाएर ?) प्रचण्डजीको सबैभन्दा फेइलर विचार हो । मेरै नेताहरूले पनि भन्ने गरेका छन् । यो विल्कूलै तर्कशील कुरा होइन ।

११. विदेश गएका युवाले पठाएका पैसाले माननीयहरूले दलाली नगरिकन, कसैले कमिशन नखाइकन, बदमासी नगरिकन जनताकै लागि लगानी गर्छु भन्ने मान्छे चाहिएको छ ।

१२. ओलीले जे भन्नुहुन्छ त्योभन्दा राम्रो गर्छु भनेर हाम्रा देउवा र रामचन्द्रजीहरू भन्नुहुन्छ । त्यो नै खराब हो ।

१३. मसँग देउवाजीले ४ पटक (त्योबेला) सभापति हुन्छ भनेर ज्योतिषले भनेको छ भन्नुभयो । अरूसँगचाहिँ ज्योतिषले ७ पटकसम्म प्रधानमन्त्री हुन्छ भनेको कुरा सुनेको हो । पटक पटक फेल भएपछि अर्को पटक सभापति वा प्रधानमन्त्री बन्ने हो । एकैपटकमा धेरै गर्न सकिन्छ भने पटक पटक किन हुने ? केका लागि हुने ?

१४. Personal is political भन्ने भनाइ छ । थोरै सहकार्य भएता पनि बामदेव गौतमको दुस्साहसपनको बडो प्रशंसक हुँ । बामदेवलाई उचाल्दा ओलीलाई तह लगाउँछ भनेर अरू नेताहरूले प्रयोगमा ल्याएका हुन् । तर पनि मेरो कसैसँग पनि आपत्ति छैन । यस्ता नैतिकताबाट मुलुक बन्दैन । नैतिकताविनाको राजनीतिको कुनै सिर्जनात्मकता हुँदैन ।

१५. रामचन्द्रजी र शेरबहादुरजी पनि बेलाबेला दाउपेच देखाउनुहुन्छ ।

१६. शेरबहादुर देउवा मेरा अभिन्न मित्र हुनुहुन्छ तर एउटाले बिराउँदा अरूले पनि दुख पाउँछ भनेजस्तो निर्वाचन सार्दा उहाँको सत्ता गयो, उहाँसहित हामी पनि जेल पर्नुपर्‍यो । धेरैले कुटाइ पनि खानुपर्‍यो । कतिपय काम तोकिएको समयमैं गर्नुपर्छ । अटेर गर्दा त्यसले धेरैलाई सिध्याउँछ ।

१७.  एउटा भनाइ छ- युद्धमा सत्य नै सबैभन्दा पहिला मर्छ । चुनाव र राजनीति युद्धकै एक प्रकारको विस्तार हो ।अब टाउको काटेर होइन टाउको गनेर नेतृत्व गर्ने समय हो ।

१८. मलाई पदको कुनै लोभ नै छैन र त म आफ्नो दल मात्रै होइन अरू दलका पनि प्रिय छु भन्ने लाग्छ ।

१९. पत्रकारले प्रश्न सोधेपछि उत्तर त दिनैपर्छ तर मैले मात्रै दिएको उत्तर समाधान होइन । कुनै एउटा व्यक्तिको मात्रै उत्तर सहि हो भनेर मान्नु हुँदैन । सबैका उत्तरहरूबाट राम्रा उत्तर छनौट गर्नुपर्छ ।

२०. कुनै (महाकाली, कर्णाली) बिजुलीको योजनामा जाँदा गाउँलेहरूले पैसा मागे भन्ने गुनासो गरे । माग्छन् त । कम्पनीले खोला नदी पाउँनका लागि कहाँ कहाँ कति कति लगानी गरेको छ ? गाउँलेहरूका लागि गर्नुपर्दैन ?

२१. स्थानीय तहमा प्राप्त अधिकार राम्रोसँग प्रयोग हुन सकेका छैनन् भनेर खोस्ने तयारी गरिएको छ । यो सरासर बदमासी हो । सुरूसुरूमा गल्ती होला तर बिस्तारै सबै ठिक हुन्छ ।

२२. हाम्रो विदेश नीति केही पनि छैन । भारत र चीनसँगको नीति बनाए पुग्छ । हाम्रालागि तेस्रो देशको कुनै मतलब नहोस् । हाम्रो समस्या नै निश्चित विदेश नीति नहुनु हो । छिमेकीका बारेमा स्वस्थ राजनीति हामीसँग छैन ।

२३. मैले ल्याएको मतभन्दा मेरा विपक्षीहरूको कूल मत बढी भएकोले चुनाव मैले जितेको भन्न सुहाउँदैन ।

२४. सामाजिक न्याय वृद्धिदर, विकास र आम जनताको उन्नति अलग अलग शब्द हुन् । वृद्धिदरको मोह छोडेर दुई सय डलरको पेट्रोल र डेढ सय डलरको खानपिनको आयातबारे के सोच्दै हुनुहुन्छ ? वर्तमान विषयमा प्रश्नचिन्ह गर्नुपरेको छ । कि त वृद्धिदर कि त सामाजिक न्याय दुईमध्ये एकातर्फ लागौं ।

२५. माओले जहिल्यै पनि जनताबाट सिकौं र जनताबाट सिकाऔं भनेका थिए । वैकल्पिक अर्थ व्यवस्थाको बाटोबाट बजेटमा ती कुरालाई जोडौं ।

२६. कम्युनिष्टको जति विरोध गरे पनि कम्युनिष्टले जनताले खान पाउनुपर्छ, जनताले लाउनुपर्छ भनेर जनताकै पक्षमा बोलेको छ ।

२७. काङ्ग्रेसले सात साल, अठार साल र तेत्तिस सालमा तीनै पटक हतियार उठाएको छ तर पनि व्यक्तिगत हत्याको काम कहिल्यै गरेन । काङ्ग्रेस व्यक्तिहत्याबाट सँधै टाढा राखेर बसेको हो । कम्युनिष्टहरूले हिंसालाई प्रचार प्रसार गरे अनि उहिले मात्रै होइन अहिले पनि बच्चा पैदा गर्दा पाइने दुख जस्तै हो भनेर हिंसालाई समर्थन गरे । हामीबाट भएका हिंसात्मक गतिविधिलाई कम्युनिष्टले झैं गौरवमय इतिहास भनेर म मान्दिनँ । त्यो मजबुरीमा भएको हो अब निरन्तरता र स्वीकार्य हुँदैन ।

२८. इतिहासमा नेपाली काङ्ग्रेसले प्लेन हाइज्याक गरेको छ । त्यो ठूलो आतङ्क सिर्जना गरेको थियो । अन्तर्राष्ट्रियस्तरमा पनि ठूलो गल्ती गरेको हो ।

२९. बाबुराम भट्टराईले विगतमा काङ्ग्रेससँग गरेको सहकार्य निश्चय नै गल्ति थियो । प्रचण्ड पनि निकै महत्वाकांक्षी व्यक्ति हुन् । जसले नेपालमा ४/५ पटक एकै व्यक्ति प्रधानमन्त्री भएको देख्नु भएको छ । एमालेमा पनि प्रधानमन्त्रीमा नदोहोर्‍याएका नेता छैनन् । हाम्रा साथीहरू त झनै भइहाले ।

३०. मभन्दा योग्य मान्छेहरू मपछिको पुस्ता अर्थात् युवा हो । हामीले तुरून्तै सबै जिम्मेवारी युवालाई हस्तान्तरण गर्नुपर्छ ।

युवालाई जहिल्यै हौसला दिने उनै स्व. प्रदीप गिरीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं । (मुखाले)