माघ १३, शनिबार
मकवानपुर ।
टेलिभिजन रियालिटी शो पोएट आइडलको प्रथम संस्करण विजेता नीलम गुरुङको कविता संग्रह ‘नपल्टाएका पन्नाहरू’ सार्वजनिक भएको छ ।

तमू ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषद् र यात्रा पब्लिसिङ हाउसले संयुक्त रूपमा सो कार्यक्रम आयोजना गरेको हो भने कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले कविता विचार र कलाको संयोजनसहितको अभिव्यक्तिको उच्चतम शैली भएको र पहिले शास्त्रीय भाषाको प्रधानता रहेको र अहिलेका आधुनिक बोलीचालीको भाषा बढी प्रयुक्त हुने गरेता पनि कविता काव्यिक हुनुपर्ने बताउँदै विचार, कला र काव्यिक चेतमा कवि गुरूङ सशक्त देखिएको विचार राख्नुभयो दिनुभयो ।

सिक्किम, भारतकी कवि नीलम गुरूङले सिर्जनाकै माध्यमबाट नेपाल र नेपालीसँग आफूले सम्बन्ध राख्न पाएको र प्रेरित रहिरहेको बताउँदै आफ्ना कविताहरू वाचन गर्नुभयो । कार्यक्रममा पोएट आइडलको पहिलो श्रृङ्खलामा आवद्ध कविहरूले समेत रचना वाचन गर्नुभयो ।

अतिथि वक्ता पोएट आइडलका परिकल्पनाकार अमनप्रताप अधिकारीले बुबा क्षेत्रप्रताप अधिकारी साझा प्रकाशनको नेतृत्वमा रहँदा प्रत्येक सर्जकले लेखेरै बाँच्ने अवस्था सिर्जना होस् भन्ने भावना स्मरण गर्दै आफूमा पनि सर्जकहरूको सिर्जनाकै भरमा जीविका चलाउन सक्ने हैसियत बनोस् भन्ने धारणा रहेको बताउनुभयो ।

रु. ४९९ मूल्य रहेको कवि गुरूङको कविता संग्रह ‘नपल्टाएका पन्नाहरू’ यात्रा पब्लिसिङ हाउसले प्रकाशित गरेको हो ।