मकवानपुर । राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपालको ८६ औँ ‘अविरल जनसाहित्य यात्रा’को शृङ्खलामा शनिबार कवि जयन्ती स्पन्दनका एक दर्जन कविता सुनिएको छ । कवि स्पन्दनले ‘ऐँठन’, ‘शैलुङ परिदृश्य’, ‘छोरा, छोरा र छोराहरू नै’, ‘टीकापुर घटना र खण्ड खण्ड त्रासदी’, ‘परिवेश अनिष्टको’, ‘मनभरि कुँदिएको छ खाँदबारी’, ‘जनआह्वान’, ‘महिला समानता एकपटक सबै भन्नुपर्छ’ शीर्षकका कविता वाचन गर्नुभएको थियो । सहयोगी कवि डा. जया सत्यालले ‘इतिहासको मानवता’, रूपक अलङ्कारले ‘आन्दोलन’, जयन्ता पोखरेलले ‘मौन सडक र मानिसहरू’ र प्रशान्त खरेलले ‘उभिएको छ समय तिम्रो अगाडि’ शीर्षकका कविताहरू वाचन गर्नुभएको थियो । कार्यक्रममा राष्ट्रिय जनसांस्कृतिक महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारीले सरल तरिकाले गम्भीर भाव कवितामा सम्प्रेषण गर्न सकिँदोरहेछ, कवितामै शालीन व्रिद्रोहका माध्यमबाट रूपान्तरणको सन्देश पनि सम्प्रेषण गर्न सकिँदोरहेछ भन्ने अनुभूति कविता सुनिसकेपछि आफुले गरेको बताउनुभयो । वाचित कवितामाथि टिप्पणी गर्दै समीक्षक डा. रजनी ढकालले स्पन्दनका कवितामा आमा, छोरी हुँदै देश आएको बताउनुभयो । साथै उहाँले कवितामा पुस्तान्तरणको कुरा र देश बनाउनेहरू स्वार्थप्रेरित भएकामा चिन्ता गरिएको टिप्पणी गर्नुभयो । सङ्घका अध्यक्ष राम विनयले २०७० चैत १४ देखि तत्कालीन राष्ट्रिय जनसाहित्यिक मञ्चका संस्थापक अध्यक्ष डा मोदनाथ प्रश्रितबाट थालनी गरिएको ‘अविरल जनसाहितय यात्रा’को ८६ औँ शृङ्खला आइपुगेको जानकारी दिनुभयो । शृङ्खलाका संयोजक डा. हरिप्रसाद सिलवालले प्रगतिशील एवं प्रगतिवादी चेतनाका साथ साहित्य सृजना गर्ने जयन्तीले कविता, वक्तृत्व, एकाङ्की, समालोचना, बालसाहित्यमा निरन्तर कलम चलाइरहेको जनाउनुभयो ।