अहिले मसँग साइकल छैन । धेरै पहिले जीवनमै एउटा साइकल किनेँथेँ । त्यही चढेँ, थोत्रो पारेँ । सिध्याएँ । एउटा बाइक चढेँ, थोत्रो पारेँ, चढिरहेछु । यही हिसाबले म एउटा गाडी किन्छु होला । थोत्रै हुन्ज्याल चढ्छु होला । घर, टोल छरछिमेक र विद्यार्थीहरू म आएको एक किलोमिटर परैबाट थाहा पाउँदा हुन् ।
आफूले नचढ्दैमा कसैका लागि गाडी चढ्नु कुनै रहरको कुरा पनि रहेन । तर साइकल चढ्नु अनिवार्य भैसकेको छ । ‘मर्निङ वाक’ जाँदा साइकल चढ्नेहरूले ज्यादै पसिना निकालेको देख्छु । त्यति हतार गरेर साइकल चढ्ने हो भने गाडी चढे भैगयो जस्तो पनि लाग्छ । पसिना नै निकाल्ने हो भने गर्मी महिनामा सिरक ओढे पनि निस्कन्छ भन्ने पनि थाहा छ । तर साइकल चलाएर पसिना निकाल्नुको मज्जै बेग्लै हुँदो हो । मेरो छिमेकी चार लाखको साइकल चलाएर पसिना निकाल्छन् । सायद बास्ना पनि आउँदो हो । तर चार लाख लगानी गरेपछि प्याडल पनि आफैँले पेल्नुपर्ने देखेर चकित भने भैरहन्छु ।
सोच्दासोच्दै भर्खरै एक्कासि एउटा बडेमानको भुँडी साइकल चढेर गयो । भुँडीको तौलले टायर लचक्क थियो । हुन त त्यहाँ भुँडी मात्रै थिएन । त्यसका ज्यान पनि थिए । तर साइकल नै भुँडीका लागि किनेकाले नाक, कान, टाउका, गिदीका के कुरा र ? कोही गिदी घटाउनलाई साइकल किन्दो हो र ? जो किन्छन् भुँडीका लागि मात्रै किन्छन् ।
यसरी हेर्दा वर्तमान समयमा भुँडी रूस र युक्रेन, अमेरिका र उत्तर कोरियाजत्तिकै नजिकको शत्रु हो । यो खानदानीको पहिचान र आम्दानीको स्रोत नभएर गन्धगीको भण्डार मात्रै हो ।
अँ कुरा साइकलकै । पहाडी गाउँमा मिलबाट चामल बोक्ने साइकल सहरमा भुँडी बोक्छ । अर्काको भुँडी बोक्दैमा यसलाई गर्भवतीचाहिँ भनिँदैन । किनभने यसको आफ्नै भुँडी हुँदैन । पति वा पत्नी जोसुकै होउन्, अर्काको दोब्बर भुँडी बोक्दा पनि साइकललाई ‘दुई जिउ’ को भन्न पनि त सकिन्न नि । तथापि ’दुई जिउ’ की पत्नीको भुँडी बढ्दा पति खुसी नहुने कुरै भएन । खुसी हुनुको एकै कारण छ- यस्ता भुँडीमा बोसो नबढेर भ्रूण बढ्दै गएको हुन्छ ।
तराईमा किसानका दाउरा र विद्यार्थीका किताब बोक्ने साइकल आजकाल राजनीतिक नारा बनेका छन् । यसरी पढाउने र बचाउने मात्र नभई लडाउने कुरामा पनि साइकल सदैव अगाडि छ । यही मुद्दाले प्रदेश सरकार मात्रै पटक पटक लडाइसक्यो । उता सङ्घीय सरकारका मन्त्रीलाई पनि साइकलले पेट्रोल खाएर लडाएर अहिलेसम्म उठ्न सकेको होइन ।
आफ्नै टोलमा निदाइरहेका बालबच्चा च्याँठिने गरी बुलेट बाइक कराउँछ । आजकाल डिजिटल्ली हेराहेर गरेर फिजिकल्ली भित्र्याइएकी दुलही गुनासो गर्छिन् । नयाँ भाइरल ट्रेन्डअनुसार बुलेटमै चढाएर भित्र्याए । पहिले फोटो भिडियो खिच्नका लागि, अहिले चामलको बोरा र ग्यासको सिलिन्डर बोकाउनका लागि । बाइक चढ्नेका पनि साइकलभन्दा चर्का कथा होलान् ।
साइकलभन्दा झन्डै ६० वर्ष कान्छो रेडियो बेपत्ता हुन लागिसक्दा पनि साइकल नयाँ नयाँ ढाँचामा बजारमा आइरहेकै छ । श्रीपेच लाउन नपाएको युवराजले चढ्ने बाइकदेखि मैले चढ्ने एक्ससिडीसम्म आइपुग्दा पनि मोटरसाइकल जस्तै साइकलको भाउ भने बढेका बढ्यै छ ।
पहिले गाउँमा मोटरसाइकल मोह बढेर रहर गरेकोमा अहिले सहरमा हुँदा साइकलको अभाव खड्किरहन्छ । बरू आफ्ना दुख यसरी पोखेपछि तपाईँका पनि सम्बोधन हुन्छन् कि ?
केही सार्वजनिक दुख छन् । जस्तो हेलमेट भए साइकल चलाउँन हुन्थ्यो, साइकलै छैन । आफ्नै गाडी चढेर भुँडी बढेपछि साइकल चलाउनुपर्दो रैछ, गाडी नै छैन । थोत्रो मोटरसाइकल बेचेर केही लाख थप्न पाए साइकल किन्न सकिन्थ्यो ।
बोसो घटाउन नै साइकल चढ्ने अनुभविसँग सोध्न मन छ, फोनिक्सको ’बुढो’ साइकलले भुँडीको बोसो घटाउला कि नघटाउला ? योग गर्न नजानेमा उल्टो असर हुने भने झैँ भुँडीबाट बोसो गिदीतिर सर्यो भने कम्पनीले क्षतिपूर्ति दिन्छ कि दिँदैन ?
कुप्रिएर बस्दा ढाड दुख्छ, कुप्रिएरै साइकल चलाउँदा ढाड दुख्ला कि नदुख्ला ? महिनामा २५ दिन साइकल चलाएर ५ दिन थेरापी गर्नुपर्छ कि पर्दैन ? नजानेको विषयले म रनभुल्ल हुन्छु ।
मलाई पत्यार लाग्छ- सरकार पुलिसलाई साइकलमा हिडाउँछ, चोरहरू बाइकमा भागिरहेछन् । विद्वान्हरू विकास र समृद्धि साइकलमै छन् भन्छन् ।
जेहोस्, विद्वान्कै कुरा सुनेर साइकल किन्ने सोच गरियो । तर साइकलको रङ हेर्नु पर्ला कि नपर्ला ? अनुहार, जिउडालमा ख्याल गर्नु पर्ला कि नपर्ला ? ट्युसन कक्षा लिएर पनि साइकल चढ्नैपर्ने भएको छ ।
तर साइकल मात्रै चलाएर हुन्नँ रैछ । साइकल चलाउँदा बोक्ने झोला पनि बेग्लै हुँदोरैछ । बिहान र बेलुका बोक्ने झोला फरक फरक त होला नि ? झोला भए साइकल किन्न हुन्थ्यो, साइकल छैन ।
तपाईँ शिक्षक, निजामती वा कुनै संस्थाको कर्मचारी हुनुहुन्छ र तोकिएको पोसाक कहिलेकाहीँ त लगाउनु हुन्न होला । तर ख्याल गर्नोस् नि, साइकल चलाउँदा चाहिने ड्रेसकोडको ज्यादा भ्यालु छ । त्यो नलगाए तपाईँको साइकल र टोकरीमा आँप कोचेर धकेल्ने साइकलको मूल्य उत्तिकै हुन्छ ।
अझ वातावरण दिवसमा गाडीमा साइकल बोकेर पनि दिवस मनाउन पुग्नुपर्छ । तपाईँ प्रमुख अतिथि हो भने आयोजकहरू तपाईँभन्दा पहिल्यै गाडीमै पुगिसकेका हुन्छन् । साइकल चलाउन थालेपछि गाडी चलाउनका लागि अतिरिक्त चालक पनि चाहिँदो रहेछ । साइकल पाल्न पनि कमाउनु पर्दोरहेछ ।
जिममा फलामका डल्ला उचालेर प्रोटिन खाए जस्तै साइकल चढेपछि दानापानीमा ख्याल गर्नुपर्ला कि नपर्ला । साइकल नै चलाउनका लागि खानपान, भेषभूषा, जुत्तादेखि टोपीसम्म फरक फरक हुनुपर्छ भन्ने बुझेर भाउन्न हुन्छु । अँ साँच्ची ! साइकलमा स्लाइनको व्यवस्था पनि हुनपर्छ ।
यति बग्रेल्ती प्रश्न गर्न जानेपछि म ढुक्कले साइकल चढ्न सक्छु । तर अझै एउटा प्रश्न निस्कन्छ- के भुँडी घटाउने साइकलमा पनि मेल र फिमेल भन्ने विभेद छ ? यो प्रश्न मनमा आएपछि झुक्किएर झिस्मिसेमै पत्नीको झुम्कावाला टिसर्ट लाएर मर्निङ वाक जाँदा बाटाका मान्छेहरू मलाई हेर्दै हाँस्दै गरेको दृश्य सम्झन्छु । म त्यस्तै हुने भयले साइकल सम्झेर झनै रातोपिरो हुन्छु ।
जदौ !
संप्रस पौडेल, मकवानपुर