राम्ररी गोडमेल नपुगेका, पानी नपुगेका, पौष्टिक आहार नपुगेका बिरुवाहरू; जो फुल्न खोज्दैछन्, जो फल्न खोज्दैछन्, जो हाँस्न खोज्दैछन्, हँसाउन खोज्दैछन् तर किन किन खुलेर फुल्न सकिरहेका छैनन् । फल्न सकिरहेका छैनन् । तिनै बिरुवाहरूको फाँटको एउटा कान्लामा उभिएर आकाशतिर हेर्छु । बादलहरु हतारिएर उडिरहेका छन् । ठेलामठेल गर्दै दौडिरहेका छन् । तिनीहरु कहाँ जाँदैछन् होला ? तिनीहरूको गन्तव्य के होला ? बादलहरु जो हिजो हिउँ थिए मेरै हिमालका । तातिए ! पग्लिए ! बग्न थाले, उत्तरबाट दक्षिणतिर । उकालो बाटो ओरालोतिर । पहरा हुँदै, पाखा हुँदै, खोँच हुँदै, बेसी हुँदै, उकाली हुँदै, फाँटहरुमा फैलिँदै गए । गइरहे । जाँदैछन् । सायद केही नदी बनेर, केही खोला बनेर, केही खहरे बनेर, तिनीहरु मिसिँदै बढ्दै पर पुग्नेछन् । तर यहाँ म अहिले सप्रन नसकेका बालीहरूको फाँटमा उभिएर बगिरहेका खोलाहरूलाई हेर्छु । दौडिरहेका बादलहरुलाई हेर्छु ।

दौडिँदै गरेका पानीहरूलाई साउती गरेर एकैछिन रोक्न पाए हुन्थ्यो । यो माटोको प्यास, यो बिरुवाको आस, यो जीवनको बास तिमी त हो नि । पानी ! एकैछिन मेरो फाँटबाट पनि बग्देऊ न । ए पानी ! एकैछिन मेरो आँतबाट पनि बग्देऊ न । एकैछिन रोकिदेऊ न । मन त छ बग्दै गरेको खोलालाई अलिकति फर्काएर टारीको कुलोतिर पसाऊँ । बेसीको फाँटतिर धकेलिदिऊँ अनि तराईको विशाल भूमितिर नहरमा बदलिदिऊँ । त्यो खोला निरर्थक बग्नुभन्दा बिरुवाहरूको जरा जरा हुँदै बगोस् । जीवनहरूको नशा नशा हुँदै बगोस् । चराचुरुङ्गीहरूको चिरबिर हुँदै बगोस् । जीवन लिएर बगोस् । जीवन दिएर बगोस् । बगरहरुलाई उब्जाउ फाँट बनाउँदै बगोस् । बाँझो मनलाई हराभरा छाँट बनाउँदै बगोस् । अलिकति अगाडि बगिसकेको त्यो खोला फेरि फर्केर फाँटतिर बगोस् । खेतका कान्लाहरूतिर बगोस् । त्यसैले त त्यो खोला ! त्यो पानी ! निरर्थक बग्नुभन्दा सार्थक बगाइका लागि अलिकति फर्कियोस् । अलिकति मोडियोस् ।

कहिलेकाहीँ हतारिएर जानेहरूलाई तानेर फर्काउनुपर्छ । घचेडेर मोडिदिनुपर्छ । घुमाएर फर्काउनुपर्छ । जसरी त्यो खोलाको पानीलाई कतै मेसिनले तानेर टारी खेतमा फर्काउँछौं । जसरी त्यो खोलाको पानीलाई कुलो बनाएर बेँसीखेतमा मोडिदिन्छौं । जसरी त्यो खोलाको पानीलाई नहर बनाएर तराईको फाँटमा फैलाउँछौँ । हो त हतारिनेहरूलाई, छोडी जानेहरूलाई, पर पर हुन खोज्नेहरूलाई । कहिले मायाले, कहिले घुर्क्याइले, कहिले फुर्क्याइले, कहिले जिम्मेवारीले मोडिदिनुपर्छ, नजिक्याउनुपर्छ । आफै आफैसँग राख्न खोज्नुपर्छ ।

“खोलाको पानी त दौडिने, हतारिने, छिटोछिटो हिँड्ने, परपर पुग्ने; पोखरीको पानी हामीसँग छँदै छ नि” भन्दै खोलाको पानीलाई छोडिदियौँ भने खोलाको गतिशीलतालाई बिर्सियौँ भने पोखरीहरु सुक्दै जानेछन् । खाल्डो रहनेछ, पानी सकिनेछ । निर्जीव माटो रहनेछ । सजीव पानी रित्तिनेछ । त्यही सजीवताको रित्याइलाई रोक्नका लागि, त्यही माटोको जीवनलाई बचाउनका लागि, गतिशीलताको विकल्प अर्को गतिशीलता हो । खोलाको विकल्प बग्दै गरेको त्यही खोला हो । जमिरहेको पोखरी हुनै सक्दैन। हुन त मेरो आशा; जम्दै गरेको पोखरी पनि बग्न सिकोस् । हिँड्न सिकोस् । किनाराहरू भत्काओस् । हिँडाइमा जीवन हुन्छ । बगाइमा चेतना हुन्छ । भत्काइमा निर्माण हुन्छ । अनि पो त्यो जीवन, त्यो चेतना, त्यो निर्माण, संसारको सार हुन्छ । त्यो सारका लागि पनि बग्नु छ । हिँड्नु छ । अनि फर्कनु छ ।

कहिलेकाहीँ बगाइको यात्राले अलि लामो गन्तव्य रोजेको हुनसक्छ । जस्तो कि हिमालबाट पग्लेको हिउँ हिमनदी हुँदै भिरपाखा, लेकबेसी, फाँट, मैदान भएर समुद्रमा पुग्दछ । समुद्रको विशाल आयाममा आफूलाई लुकाएर फेरि वाष्पीकरण हुन्छ । आकाशसम्म उचालिन्छ । बाफ बन्छ । बादल बन्छ । समयले फेरि हिमालको हिउँ बनाइदिन्छ र फर्कन्छ । मैले धरतीमा पाइला टेकेर आकाशमा हेर्दै गर्दा अनगिन्ती बादलका टुक्राहरु ठेलामठेल गर्दै एक आपसमा हतारिँदै, मडारिदै कुदिरहेको देख्दैछु । त्यो सबै पानीको भोलि हो । त्यो सबै पानीको हिजो हो । आज त धर्तीमा खोलाहरु बगिरहेका छन् । आकाशमा बादलहरु दौडिरहेका छन् । समुद्रमा पानीहरु बसिरहेका छन् । हिमालमा हिउँहरु थुप्रिरहेका छन् । तर मेरो फाँट, मेरो मैदान, मेरो बेसी, मेरो टारी रित्तो रित्तो छ । उदास उदास छ । प्यासी प्यासी छ । बाँझो बाँझो छ । एकातिर टारीहरू बाँझा छन्, अर्कोतिर भकारीहरू रित्ता छन् । एकातिर पेटहरु खाली छन् । अर्कोतिर भरिएका ट्रकहरू आइरहेका छन्, रित्ता ट्रकहरू गइरहेका छन् । भरिएका जहाजहरू गइरहेका छन्, रित्ता जहाजहरू आइरहेका छन् । मलाई पानीहरू हतारिएर बगेकामा चिन्ता पटक्कै होइन । ती पानीहरू समुद्रमै बिलाउने हुन् कि भन्ने चिन्ता अलि बढी हो । मलाई आकाशमा बादल दौडादौड गरेकोमा चिन्ता पटक्कै होइन । मलाई ती बादलहरु आकाशकै शून्यतामा बहकिने हुन् कि भन्ने चिन्ता अलि बढी हो । मलाई भरिएका ट्रकहरू आइरहेकोमा चिन्ता पटक्कै होइन । त्योभन्दा बढी ट्रकहरु रित्तै गइरहेकोमा हो । मलाई भरिएका जहाजहरू गइरहेकोमा चिन्ता पटक्कै होइन। त्योभन्दा बढी जहाजहरू रित्तै फर्किएकोमा हो ।

केही पानीहरू थुनिन्छन् ठूलाठूला ड्यामहरूमा । अड्काइन्छन् केही समय । पोखरी बन्छन् । बिस्तारै बिस्तारै लामो कालो सुरुङबाट हत्तारिँदै झरेका उनीहरु उज्यालो बन्छन् । उज्यालो बनाउँछन् । अँध्यारोलाई हटाउँछन् । गाउँगाउँमा पुग्छन् । बस्तीबस्तीमा पुग्छन् । सहरसहरमा पुग्छन् । मानव सभ्यताका सहयोगी बनिदिन्छन् । कतै उज्यालो बलेर अँध्यारोको विरुद्धमा उभिदिन्छन् । कतै ऊर्जा बनेर गतिशीलताको सिर्जना गरिदिन्छन् । कतै वैज्ञानिक उपकरणका सास बनिदिन्छन् । अनि आफ्नो सार्थकता पुष्टि गरिदिन्छन् । मलाई त हतारिएको पानीको यात्रा भन्दा रोकिएको पानीको यात्रा पनि कहिलेकाहीँ ठीक लाग्छ, जसले केही समय शक्ति सञ्चय गर्छ । अनि कतै बल्छ । कतै बाल्छ । कतै दौडिन्छ । कतै दौडाउँछ । कतै यन्त्रलाई ज्यान दिन्छ । पानीको यो यात्रा रोकिएको होस् कि जमेको होस् । बगेको होस् कि बगाइएको होस् । जीवनका लागि त हो नि । समाजका लागि त हो नि । विज्ञानका लागि त हो नि । जो आफैमा गतिशील छ । जो आफैमा सृजनशील छ । जो आफैमा उत्पादनशील छ।

कहिलेकाहीँ पानीले आफू एक्लै हिँड्न पाउँदैन । बग्न पाउँदैन । मान्छे आफू सफा देखिन आफ्नो वास्तविकतालाई पानीमा मिसाइदिन्छ । मान्छेका यथार्थ अनुहारहरुलाई बोकेर पानी बग्नुपर्छ । जहाँ पानी तरल कम, ठोस बढी छ । जहाँ पानी आफै निर्जीव बनेर धीमा बगिरहेको छ । त्यो पानीको यात्रा कहिले ढलमा, कहिले नालीमा, कहिले खोल्सामा, कहिले गन्धकीमा लडीबुडी गर्दै अगाडि बढ्नुपरेको छ । पानी न हो जसोतसो बगिदिन्छ दुर्गन्ध बोकेर, नसके गजदम्म बसिदिन्छ दुर्गन्ध फैलाएर ।

मौलाएर परपरसम्म पुगेको फर्सीको लहरा अलिकति जरा उखेलिने बित्तिकै मुन्टाबाट ओइलिन सुरु भएको देखेको छु । सायद त्यो फर्सीको लहराको जीवन मुन्टामा भन्दा पनि बढी जरामा अडिएको रहेछ। माटोमा जोडिएको रहेछ । त्यही भएर त जरा उखेलिने बित्तिकै मुन्टाबाट ओहिलाउन सुरु भयो । मानव जीवन र सभ्यता पनि उस्तो लाग्छ मलाई जुन आफ्नो माटोसँग जोडिएको हुन्छ । आफ्नो संस्कृतिसँग बाँचेको हुन्छ । आफ्नोपनसँग उजेलिएको हुन्छ । त्यो आफ्नोपन, त्यो आफ्नो संस्कृति, त्यो आफ्नो माटो सधैं सधैं आफ्नो हुन्छ । जीवन बाँच्नका लागि नयाँ नयाँ कुरा जान्नका लागि, अलिकति खुलेर हाँस्नका लागि संसारको जुनसुकै कुनामा पुगे पनि, जुनजुन माटोमा बगे पनि, जुनजुन हावामा दौडिए पनि आखिरमा संसार त एउटै घर न हो तर त्यही घरभित्रको आफ्नो माटोमा, आफ्नोपनमा, आफ्नो संस्कृतिमा फर्कनै पर्छ । सार्थक जीवनका लागि, साँचो जीवनका लागि जसरी बग्दै गरेको खोलाको पानीलाई टारमा ल्याएपछि न हो फूल फुल्ने, फल लाग्ने, हरियाली मुस्कुराउने, त्यो निर्जीव माटोलाई सजीव बनाउने ।

पानीको यात्रा, जीवनको यात्रा, गतिशीलताको यात्रा, उत्सर्गको यात्रा, परिवर्तनको यात्रा, आखिरमा फर्कनुहुनेछ । जमिरहेको पानी होस् वा बगिरहेको पानी होस् जब पानी जीवनसँग जोडिन्छ, जब पानी माटोसँग जोडिन्छ, जब पानी सिर्जनासँग जोडिन्छ, जब पानी उत्पादनसँग जोडिन्छ, तब पो पानीको अर्थ हुन्छ । कहिलेकाहीँ हिँड्दै गरेका पाइलाहरू गन्तव्यको दिशा त अर्कै रहेछ भन्ने बोध भएपछि गन्तव्य पहिल्याउन फर्कनै पर्छ । हिँडेका गल्तीहरूलाई सच्याउनै पर्छ, त्यो पनि फर्कनु हो । अनि कहिलेकाहीँ हिँड्दै गरेका पाइलाहरु गन्तव्यमा पुग्न अल्छी गर्न सक्छन् त्यसलाई अझ बढाउनुपर्छ। अझ चलाउनुपर्छ। गन्तव्यलाई नजिक्याउनुपर्छ । त्यो पनि त फर्कनु हो । फर्कनु पाइला मेट्नु मात्र होइन, पाइला बढाउनु पनि हो । यी पानीका पाइलाहरू डोबडोबमा मरुभूमि बनेर रहे भने ती मरुभूमिलाई उब्जनशील बनाउन फर्कनु पनि फर्कनु हो । अनि मरुभूमि र बाँझा जमिनहरुलाई उत्पादनशील बनाउँदै हरिया गरागरामा कलकलाउँदो ध्वनि छर्दै समुद्रको यात्राका लागि तम्सिनु अनि फेरि बाफिँदै, उड्दै, जम्दै खोँचखोल्चाबाट पहरातिर हाम्फाल्नु, पखेरातिर तप्किनु र फेरि बन्जर जमिनलाई उज्यालो बनाउँदै हिँड्नु पनि त फर्कनु हो । यो पानीको यात्रामा, यो जवानीको यात्रामा फर्कने उपदेश दिइरहँदा । आफ्नो माटोमा, आफ्नो संस्कृतिमा, आफ्नो सभ्यतामा, आफ्नो प्रकृतिमा, आफ्नोपनमा मुस्कुराउने उपदेश दिइरहँदा । त्यो उपदेश दिनु भन्दा बढी ग्रहण गर्नु चाहिँ फर्कनु हो । त्यो उपदेश भन्नुभन्दा बढी आफै बन्नु चाहिँ फर्कनु हो । फर्कनु हामीबाट ममा फर्कनु हो । फर्कनु मबाट आफूमा फर्कनु हो । अनि फर्कनु, “महरु” सबै फर्किएपछि समाज र सभ्यतातर्फ फर्कनु हो । फर्किएको सभ्यतामा मुस्कान हुनेछ । उज्यालो हुनेछ । हरियाली हुनेछ । पूर्णता हुनेछ । आत्मीयताको अँगालो हुनेछ । त्यसैले त गाउँँगाउँमा, बस्तीबस्तीमा, आँगनआँगनमा, चोटाचोटामा रित्ता अँगालाहरु फर्कनुको पर्खाइमा छन् । भरिनुको पर्खाइमा छन्।