कसमस एजुकेशन ट्रेनिङ एण्ड रिसर्च सेन्टरले आयोजना गरेको प्रदेशस्तरीय हस्तलेखन प्रतियोगिता २०८०, बागमती प्रदेशको पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । शनिबार कार्यक्रममा उत्कृष्ट १०० विद्यार्थीहरुलाई पुरस्कार वितरण गरी कार्यक्रम भव्यरुपमा समापन गरिएको हो । पूर्व मन्त्रीपरिषद् अध्यक्ष खिलाराज रेग्मीको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रमको सभापतित्व कसमस एजुकेशनका निर्देशक रमेश पराजुलीले गर्नु भएको थियो । कार्यक्रममा विजेता विद्यार्थी तथा विद्यालयका अनुमानित ५०० प्रतिनिधि विद्यालयहरु समावेश भएका थिए।

उक्त कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुले नृत्य कला पनि प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रदेशभित्रका उत्कृष्ट हस्तलेखन भएका विद्यार्थीहरुलाई प्रमुख अतिथिद्वारा पुरस्कार वितरण गरिएको हो । यस्तै प्रथम हुनेमा कक्षा २ देखि ४ मा नोबल एकेडेमी, काठमाडौंका राजा चेम्जोङ रहेका छन् । रोजबड स्कूल, बुद्धनगर, काठमाडौंकी लुनिभा मानन्धरले द्वितीय स्थान हासिल गरिन् भने ज्ञानदोय बालबाटिका आवसीय मावि हेटौँडाका स्पन्दन रायमाझी तृतीय भएका छन् ।

साथै कक्षा ५, देखि ७ मा कान्जीरोवा नेशनल स्कूल, काठमाडौँका सिन्जा पौडेल प्रथम भए । घलराज मेमोरियल स्कूल, काठमाडौंकी प्रकृति लकान्द्री द्वितीय स्थान हासिल गरिन् । यस्तै निहारिका पब्लिक स्कूल, ग्वार्को ललितपुरकी आकृती चौधरी तृतीय स्थान हासिल गर्न सफल भइन् । त्यसैगरी कक्षा ८ देखि १० मा अरोमा अंग्रेजी मा.वि., भरतपुर चितवनका देवेन्द्र साह प्रथम भए भने ज्योति एकेडेमी, सीतापाईलाका प्रधुम्न गौतम द्वितीय भए भने व्हाइट किट इन्टरनेशनल स्कूल, काठमाडौंका सामुल रायमाझी तृतीय भए ।

कार्यक्रममा उत्कृष्ट हुने विद्यार्थीहरुलाई प्रथम, द्वितीय, तृतीय र क्रमशः नगद रु २५ हजार, १५ हजार र १० हजारका साथै उत्कृष्ट हुने १०० जना विद्यार्थीहरुलाई नगद रु ३००० सहित ट्रफी, मेडल र प्रमाण पत्र वितरण गरिएको थियो । त्यसैगरी उक्त कार्यक्रममा संस्थाका संस्थापक सदस्यहरु रमेश पराजुली, रेशम कुमार पौडेल, अमीर महत, जनार्दन घिमिरे लगायत सम्पूर्ण कर्मचारीसहित प्रतिनिधि विद्यालयका शिक्षकहरूलाई पनि सम्मान गरिएको थियो ।