मुक्तक–१
नराम्ररी आफ्नै आङमा थुक्नुभयो हजुरले
आफ्नै घरमा कसलाई फेरि ढुक्नुभयो हजुरले
पोल्नुभयो आफ्नै हठमा करोडौंका इच्छालाई
जनइच्छा भन्दै ढ्वाङ फुक्नुभयो हजुरले ।
मुक्तक–२
स्वतन्त्र भै बोल्न पाइयोस् कोही कसैको अधीन नहोस्
सरकार तिमीसँग हाम्रो नाता अझै सङ्गीन नहोस्
खबरदार ! दवाब आउला, आश्वासनले झुक्याउला
हाम्रो हातमा नक्शा अनि उसको हातमा जमीन नहोस् ।
मुक्तक–३
सँधै बढाउँछ मात्र घटाउँदैन कैल्यै
कसले गर्यो किन गर्यो बताउँदैन कैल्यै
जे जे भेट्यो सबै खान्छ, कैल्यै पुग्यो भन्दैन
तर दुब्लो हाम्रो सरकार मोटाउँदैन कैल्यै ।
मुक्तक–४
आफैँ बनाउँछ अनि आफैँ भत्काउँछ
सानै विषयमा पनि चर्को कराउँछ
प्राय सँधै हुन्छ आफैँ धामी, आफैँ झाक्री
यस्तो लाग्छ मेरो देश बुख्याँचाले चलाउँछ ।
–भक्तपुर
