Home Blog Page 55

कविता : टुहुरो दशैं / सिम्रन क्षेत्री

शरदका किरणहरू जब जब दैलोमा देखा पर्छन्
अनि त्यति बेला झनै तिम्रा यादहरुले छपक्कै छोप्न आइपुग्छन् ।
मङ्गल धुनका ध्वनीहरूले
दशैँ आएको खबर सुनाउँदै हिँड्दा तब मलाई भन्न मन लाग्छ,
अरे ! तिमीहरु कति छिट्टै आएका, तिमीहरु साँच्चै आउन अल्लि हतारो ग¥यौ
मेरी आमा नै आएकी छैनन्, कसरी दशैँ आउँछ !

म सम्झिन्छु तिमीले हामी दुई भाईलाई
एकै किसिमको लुगा सिलाइदिन्थ्यौ, त्यो पनि अर्को दसैँलाई हुने गरी
नयाँ लुगा देख्नासाथ हामी कत्ति खुशी हुन्थ्यौँ र लामो सर्ट, पाइन्टमाथि लगेर पट्याउथ्यौँ
अनि हामी गाउँ भरी एक चक्कर लगाएर घर आइपुग्थ्यौं
तिमीले हामीलाई घर आइसकेपछि मात्रै चाल पाउथ्यौ
अनि तिम्रो ओठको मुस्कान अनुहारैभरी पोखिएको देख्थेँ
अहिले आफैं छानी छानी महङ्गा लुगा लगाउँदा पनि त्यो खुशी भेट्दिन आमा !
अनि
अनि याद छ तिमीलाई !
बिर्सियौ कि सम्झिरहेकी छौ !
तिमीले दिएको एक रुपैयाँ लङ्गुर बुर्जामा थापेर चार भएपछि
तिमीलाई देखाउन पारी गाउँदेखि दौडिँदै घर आइपुग्दा
त्यतिबेला तिम्रो मुहार खुशीको लाँलीले पोतिएको हुन्थ्यो
अहिले त लाखौं रुपैयाँले पनि त्यति खुशी पनि दिँदैन आमा !
अनि थाहा छ तिमीलाई,
दसैं छुट्टि पाएपछि स्कुलबाट नाँच्दै नाँच्दै घर आइपुग्दा
घरको पालीमा मेरो पर्खाइमा पिङ्ग हल्लिरहेको हुन्थ्यो
मलाई के थाहा ! हाम्रो सानो सानो खुशीलाई बटुल्न
तिमी कति दुःखको पिङ्गमा हल्लियौ भनेर !
तिमीले मुछेका राता टिका हाम्रो निधारमा वर्षैभरि मुस्काउने कसम खान्थे,
तिमीले उमारेका ति जौंका पहेँला आकुराले पनि सुख, शान्ति समृद्धी बोकेर हुर्कन्थ्यो
अनि सधैं हाम्रो शिरमा आशिर्वाद बनेर बसिरहन्थ्यो
हाँस्दैनन अचेल टिका निधारमा न शान्ति खुशी बोकेर ल्याउँछन् जमराहरु

मलाई याद छ ति दिनहरु
जतिबेला तिम्रो साडीको फुर्को समातेर
नौँ दिन नै तिमी सङ्ग भवानीको मन्दिर पुग्थेँ,
दुई हात जोडी हाम्रा लागि खै के के माग्थ्यौ तिमी
त्यतिबेला मैले बुझ्न सकेको भए म पनि त तिम्रो लागि केही माग्ने थिएँ
अनि तिमीलाई यसरी परदेशिनु नै पर्ने थिएन
तिम्रा हातले बनाएका दसैंका परिकारहरु साँच्चै मिठा हुन्थे,
खै अहिले त दसैंका स्वादहरु नै खल्लो लाग्छन्
अचेल मङ्गल धुनका ध्वनीहरुले
शान्ती होइन मनमा कोलाहल मच्चाए झैं लाग्छ,
चचहुईका आवाजहरुले
मलाई नै जिस्काए झैं लाग्छ,
तिमी नहुदाँ मामाघर पनि विरानो भए झैं लाग्छ
बरु ,
जीवनभर दसैं नआए पनि हुन्छ तर तिमी सधैं आउँनु है आमा !
दसैं त तिमी आएपछि पो आउँदो रहेछ

नारायणगढ–१,दियालो रोड, चितवन

केशब समर्पणको गजल

उसलाई बजारले यस्तो अफर दिन्छ
सके किन्छ नसके आफैं बेचिन्छ

मूर्ति बेच्नेको मनमा भगवान हुन्छ कि हुँदैन
हेर मूल्यसूची त्यसमा केही न केही भेटिन्छ

नकिन छोरी त्यो बेलुन किन्ने बित्तिकै फुट्छ
बेच्नेले त हावा भर्दिन्छ अनि पन्छिन्छ

बाउले गाउँबाट १० रुपैयाँमा बेचेको बन्दा
छोरोले शहरमा ४० तिरेर किन्छ ।

हेटौँडा, मकवानपुर

कविता : दशैं / नवराज लम्साल

कतै झुप्राझाप्री दिनदुख कतै भव्य भवन
कतै भोका नाङ्गा छटपट कतै वा मृदुपन
कतै चिल्ला मोटा जनजन कतै सुष्क अधर
दसैँ आयो भन्छन् सबतिर खुसी क्या सुमधुर ।१।

कतै रुन्छन् भन्छन् जनहित हुने छैन चलन
सबै एकै छैनन् सबतिर सदा वैविध किन
जहाँ जस्तो जे हो सकल मनमा दर्द छ तर
दसैँ आयो भन्छन् सबतिर खुसी क्या सुमधुर ।२।

फुले राता सेता कुसुम कलिका कोमल कला
झुले बालीनाली घरघर नयाँ झ्याल दहिला
हुने खाने खाँदा सुखदुख बटुल्दै वरपर
दसैँ आयो भन्छन् सबतिर खुसी क्या सुमधुर ।३।

बिते बर्सौं बेला तर पनि सदा भाव छ उही
नयाँ पुस्ता पुस्ता श्रुतिमधु सदा तप्तप चुही
जराजीर्णा ज्योत्स्ना लहरलहरा पात जमरा
दसैँ आयो भन्छन् सबतिर खुसी क्या सुमधुर ।४।

म यौटा यात्री जो दुइतिर दुवै जोड्नु छ अझै
स्वयम् हिँड्ने बाटो पथिक जति छन् छोड्नु छ अझै ।
अझै उस्तै भाका विवरण बनी बोल्नु छ तर
दसैँ आयो भन्छन् सबतिर खुसी क्या सुमधुर ।५।

कविता : दशैं / शिरोमणि लेखनाथ पौड्याल

 

हट्यो सारा हिलो मैला, हरायो पानीको वर्षा ।
भवानीको भयो पूजा, चल्यो आनन्दको वर्षा ।।

जता जाऊँ उतै भन्छन् दशैं आयो दसैँ आयो ।
यही आनन्दले सबै संकष्ट बिर्सायो ।।

ठूला साना सबैलाई दशैं अत्यन्त राम्रो छ ।
चलेका चाडमा यही ज्यादा उत्कृष्ठ हाम्रो छ ।।

सबै अत्यन्त आनन्दी सबै छन् पीङमा दङ्ग ।
सबैको देखिने आयो उज्यालो चेहरा रंग ।

कविता : दशैं / मसान उपासक

यहाँ
सदा झैँ फूलिरहेको छ फूल
सदा झैँ चलिरहेको छ बतास
सूर्य उतैबाट उदाइरहेको हो
जहाँबाट उदाउदै आएका थिए
र अझैं बाटाहरू उस्तै छन्
जुन विगतमा पनि तिमिले टेकी हिडेथ्यौ ।

अझैं यो माटोमा
तिनै हलो र कोदालो निहुरिन्छन्
अझैं यी बाटाहरूमा
पुरानै सपनाहरू बिउँझन्छन्
कुमालेहरू उसैगरी माटो कुँद्छन्
र सुन्दर जीवन चलाउँछन्
कुलोमै नदीका वेगहरू बगाउँन
एक हूल किसानहरू दौडिरहेका छन् ।

अझसम्म
विवेक बोकेर सीमानामा
उही सिपाहीहरू उभिन्छन्
हँसिया बोकेर खेतमा
तिनै नारीहरू निहुरिन्छन्
सान्नानी आफ्नै जीवनको रङ पोत्दै छिन्
बिहानै उदाएको घाम
दुःखको कालो रात छाडी फर्कन्छ
सोच्दासोच्दै चाउरिँदै गएको गालामा
म पनि हिजोभन्दा अलिक बुढो देखिन्छु ।

यसपाली पनि दसैं आएको छ
र बाँड्नु छ सुख शान्ति र सम्वृद्धि
लिनु छ उही उदास आँखाको अगाडि बसेर
दीर्घ जीवन र प्रगतिको आशिष
चुँडिन थालेको जीवन लिएर
खेल्नु छ आकाशै छुने गरी पीङ
र भन्नु छ साना नानीहरूलाई पनि
खेल ! खेल्नु मै जीवनको उमङ्ग भेटिन्छ ।

अचेल सोच्दा यस्तो लाग्छ
दुःख छाडेर जाने दसैलाई
छाडेरै बाँचे के फरक पर्ला र ?
                                    बकैया–४, मकवानपुर

 कविता : दसैँ / अनसूया खनाल

यसपाली नि घुम्दैफिर्दै फेरि दसैँ आयो
पोहोर जस्तै सबैतिर खुसीयाली छायो ।
हिलो छैन फोहर छैन घमाइलो घाम छ
हराभरा बालीनाली रमाइलो याम छ ।।
 
सफा हुन्छ बाटोघाटो सफा हुन्छ घर
फोहर भन्नु छैन कतै घरको वरपर ।
नयाँ लुगा लगाउने मिठो खाना खाने
आमासँगै हाँस्दैखेल्दै मामाघर जाने ।।
 
पूजा हुन्छ भगवतीको अनेक थरि फूल
चढाउँदै भन्छन् सबै नहोस् कहिल्यै भूल ।
शिरमा लाउँछन् जमरा र टीका निधारमा
मान्यजनले आशिष दिँदा खुसी मुहारमा ।।
 
एक वर्षमा एकै पटक आउने ठूलो पर्व
यस्तो पर्व मनाउँदा हुन्छ हामीलाई गर्व ।
पालै पालो पिङ खेल्छौँ रमाउँदै साथी
उडाउछौँ चङ्गा हामी धेरै माथि माथि ।।
 
दशैँ ठूलो पर्व हाम्रो मनाउनलाई भनी
लामो छुट्टी भएको छ विद्यालय पनि ।
गुरुमाले सम्झाउनुभो घरमै बसी पढ्नू
नयाँ ज्ञान सिप सिक्दै अघि अघि बढ्नू ।।
 
गुरुबाले सुनाउनुभो एउटा सुन्दर कथा
त्यस्तो कथा सुनेपछि छक्क परेँ म ता ।
किताब मात्र सबै कुरा होइन बाबु नानी
घरमा पनि कति हुन्छन् सिक्नुपर्ने बानी ।।
                                                 हेटौँडा–१२, पदमपोखरी

कविता : दशैं / भूपी शेरचन

प्रत्येक वर्षझैँ
यस वर्ष पनि, नियमानुसार
आउनुभो दुर्गा, माता,
विजयादशमीको साइत पारेर ।
अनि आफ्ना भक्तहरूका मनमा
उही भक्ति,
तर, मनमा कम शक्ति;
पूजाको थालमा जमरा बढी,
र टीका कम देखेर,
झन् आफू पुजिँदा,
आफूलाई चढाइएका नैवेद्यमा
फल कम फूल बढी देखेर;
पूजा सकिना साथ
“फेरि अर्को वर्ष आइहाल्छ नि,
अहिलेलाई जान्छु है” भने जस्तो गरी
भग्नमन दुर्गा भवानी
फिर्ता जानुभो,
एक दृष्टि–भक्तहरूका काँतर अनुहार,
र, जर्जर घरहरूमाथि पारेर !
सायद, आफ्नो आउनैपर्ने बाध्यतामाथि
झर्किनु पो भो कि भगवती !
“सायद, मैले गर्दा मेरा अभागी
भक्तहरूको झन् हुन गयो दुर्दशा”–
मनमनै फतफताउनु पो भो कि दुर्गा भवानी !
पूजा सकेर उठ्दा,
दुर्गा माताको प्रतिमाका आँखाहरू
अलिअलि रसाएको जस्तो लाग्याथ्यो मलाई,
कतै “दसैँ भनेर म आएकी,
झन् दशा पो भैदिएछ क्यारे
यी मेरा कङ्गाल भक्तहरूका लागि !” भन्ठानी,
रुन त रोइनन् साँच्चीकै दुर्गा भवानी
भन्न सकिन्न है, भन्न सकिन्न !
कलियुग हो भन्दैमा, अति दुर्गति भएपछि भक्तहरूको
साक्षात् भगवती नरोए पनि
प्रतिमाका आँखाहरू पनि नरसाउलान् !
भन्न सकिन्न है, भन्न सकिन्न ।
सुन्नुभो …नेपाली दाइ–भाइहो
हजुरलाई होइन, हजुर सवारी
(कारको भयालबाट बजिया लखौँपतिले पो
“–के भन्या ?” भनी सोधेको !
के लखपति पनि नेपाली हुन्छ र !!)
अँ त, सुन्नुभो नेपाली दाइ–भाइहो !
आलु एक धार्नीको चौबीस रुपियाँ पुग्यो !!!
अब के खाने ? …
झन् यस पटकको दसैँले त ‘भाइटीका’मा
दिने दक्षिणा पनि बाँकी छाडेन ।
मर्द हुनु पनि कर्महारा हुनु रे’छ
आईमाई भएको भए–‘पर सरेकी छु’ भनेर
‘भाइटीका’ लाई नै एक वर्ष पर सारिदिन्थेँ मैले
लौ भैगो मैले पनि मान्ने …
जस्तो पर्ला, उस्तै टर्ला ।
तर, अर्को वर्षको दसैँ नि ?
बुझ्नुभो,
मैले के निर्णय ग¥या’छु !
मैले त भगवतीलाई पनि सताइ सकेको छु !
आ ! आफ्नै आमा त हुन् दुर्गा पनि !
आमासित पनि केको लोकाचार ! हैन त ?
भनिदिएँ मैले त–“अब उप्रान्त दुर्गा माता !
सुटुक्क आउनू
सुटुक्क जानू !
केलाई चाहियो र धूमधाम ! होइन र दुर्गा आमा ? बिनसित्तैमा ।”
उहिले पो भगवतीको आगमनमा
धूमधाम गरेर चहाड मानिन्थ्यो,
जब, दसैँ भनेको मात्र पूजापाठ नभई
एक–एक सरो
नयाँ जुत्ता पनि हुन्थ्यो ।
मासु खानेलाई
वर्षमा एकैपल्टलाई भए पनि
पेटभरि मासु पनि हुने गथ्र्यो दसैँ आउनु
वा मनाउन भनेको ?
शाकाहारीलाई पनि
कम्तीमा एक डालो सेल, पुरी, हलुवा र
एक थाल मिठाई पनि हुने गथ्र्यो
दसैँ आउनु भनेको त ! …
अब त दसैँ …
साँच्ची कै दशा भएको छ
न छोरालाई हङकङको ज्याकेट किनिदिन सकियो
न छोरीलाई बैङ्कके जुत्ता;
धरहरा–बजारबाट घटीघटाउ गरेर
कात्तिकको पेस्की तलबभित्र किनमेल
कटाउ गरियो ।
खानामा सेलरोटी कहाँ पाउनु !
सप्तमीमा किनिराखेको पाउरोटी टोकियो,
पmलफूल पनि खाइयो …
भोगटे बारीमै थियो,
एक दर्जन औँलाजत्रा केरा पनि,
सपरिवार खाइयो,
आठ रुपियाँ दर्जनमा किनेर !
मलाई त के ! हाइ सन्चो छ
‘डाइबिटिजको रोगी
न मासुको भारी !
परिवारले पनि चित्त बुझायो
बूढा च्याङ्ग्राको छाला चपाएर ।
अब तपाइँहरू नै भन्नोस,
यस्तोमा के काम चहाड आएर ?
हुनेलाई तीन सय पैँसट्ठी दिन नै दसैँ छ,
नहुनेलाई वर्षभरि दशा छ ।
हुनेलाई चारै छाक मासु छ,
नहुनेलाई आँखाभरि आँसु छ ।
 

गजल मञ्च मकवानपुरद्वारा ‘गजल यात्रा–४’ विमोचन

हेटौँडा, कात्तिक ३ गते । गजलमञ्च मकवानपुरद्वारा नेपाली गजलहरुको संग्रह गजल यात्रा-४ प्रकाशन र विमोचन गरिएको छ । गजल मञ्च मकवानपुरले प्रकाशन गरेको चौथो संस्करणको सो पुस्तक शुक्रबार हेटौँडामा विमोचन गरिएको हो ।
गजल मञ्च मकवानपुरका अध्यक्ष केशव समर्पण, हेटौँडा उपमहानगरपालिका ४ नम्बर वडाका अध्यक्ष नविन सिग्देल, साहित्य सर्जकहरू तुल्सी घिमिरे, निमेष निखिल लगायतले संयुक्त रुपमा सो गजल सङ्ग्रह विमोचन गर्नुभएको थियो । गजल यात्राको यस शृङ्खलामा गजलका इतिहासका साथसाथै विभिन्न गजलकारहरुको ५७ वटा गजल समेटिएको अध्यक्ष केशव समर्पणले जानकारी दिनुभयो ।
२०६१ सालमा स्थापित गजल मञ्च मकवानपुरले नियमित रुपमा हरेक महिनाको पहिलो शनिबार गजल यात्राको क्रममा गजल वाचन, नवसर्जककेन्द्रित गजल लेखन कार्यशाला लगायत टिकेटमा गजल जस्ता कार्यक्रमहरू समेत आयोजना गर्दै आइएको छ भने हालसम्म यसको २०७ श्रृङ्खलाहरू सम्पन्न भइसकेका छन् ।

जी.एस. निकेतन र युनाइटेड बोर्डिङको दसैं विशेष कार्यक्रममा विद्यार्थीको प्रतिभामा जोड

हेटौँडा, कात्तिक २ गते । जीएस निकेतन माध्यमिक विद्यालय, हेटौंडा ५ ले दसैं विशेष साँस्कृतिक कार्यक्रम तथा प्रतियोगिता सम्पन्न गरेको छ । सोही अवसरमा विद्यालयले शिक्षक कर्मचारीबीच दसैंको नमुना कार्यक्रमस्वरूप टिका लगाउँदै शुभकामना आदानप्रदान गरेको छ । बुधबार र बिहीबार २ दिन भएको कार्यक्रममा विद्यार्थीहरूको गायन, सामुहिक लोक नृत्य, देउसी, परम्परागत पोषाक प्रदर्शनी, नाटक प्रदर्शनी, उद्घोषण आदि कार्यक्रमहरूको प्रतिस्पर्धा गरिएको हो । कार्यक्रममा किताबघर, हेटौंडाको पुस्तक प्रदर्शनी समेत रहेको थियो । विद्यालय सञ्चालक समिति, विद्यालय व्यवस्थापन समिति, शिक्षक-अभिभावक सङ्घका पदाधिकारी, अभिभावक तथा विद्यार्थीहरूको सक्रिय सहभागीता तथा उपस्थिति रहेको थियो ।

यस्तै मनहरी ८ मा रहेको युनाइटेड इङ्लिश बोर्डिङ स्कुलले विद्यालयमा दसैं विशेष कार्यक्रमअन्तर्गत शिक्षक तथा बालबालिकाहरूलाई टिका लगाउने र आशिर्वाद दिने कार्य गरेको छ । यस कार्यबाट चाडबाडको आवश्यकता र महत्व बढ्ने विद्यालयले जनाएको छ । विद्यालयले गर्दै सिक्दै, स्थलगत भ्रमण, चित्रकला, गायन, नृत्य, गाउँखाने कथा, हाजिरीजवाफ तयारी आदि जस्ता विविध अतिरिक्त क्रियाकलापहरूलाई विगतदेखि नै जोड दिँदै आएको र विद्यार्थीमा अन्तर्निहित प्रतिभालाई निखार ल्याउँदै उनीहरूमा सिर्जनशीलताको विकासका लागि विद्यालय प्रशासन लागि परेको भाइस प्रिन्सिपल विष्णुहरि सुवेदीले जानकारी दिनु भएको छ ।

गणेश श्रमणको ‘आगो लिएर गाउँगाउँमा’ को गृह विमोचन

कात्तिक १, चितवन ।
कवि गणेश श्रमणको `आगो लिएर गाउँ गाउँमा´ कवितासङ्ग्रहको गृह विमोचन गरिएको छ । बुधबार सम्पूर्ण किताबमा आयोजना गरिएको कार्यक्रममा कविहरू एलबी क्षेत्री, केदारनाथ खनाल, उदय अधिकारी, रमेश प्रभात र डाक्टर हेमनाथ घिमिरेले पुस्तक विमोचन गर्नु भएको हो ।
विमोचनपछि बोल्दै समीक्षक रमेश प्रभातले कवि गणेश श्रमण गतिशील व्यक्तित्व भएका लेखक भएको बताउनुभयो । `उनी गतिशील छन्, जस्तो लेख्छन्, त्यस्तै जीवनशैली बाँचेका छन् । ´ प्रभातले भन्नुभयो – `गाउँको परिवेशमा रमाउन जानेका कविले ‘आगो लिएर गाउँ गाउँमा’ कवितासङ्ग्रहमा गाउँको चित्रण गरेका छन् ।´
कविले कवितामार्फत विभिन्न बाहना बनाएर गाउँका मानिसहरू सहर पस्नेक्रम हिजोदेखि आजसम्म निरन्तर रहेको धारणा राखेको समीक्षक प्रभातले बताउनुभयो । `यसले गर्दा गाउँ रित्तो रित्तो भएको छ । यसरी रित्तो भएको गाउँमा विकास कसरी सम्भव हुन्छ ? भनेर कविले खोतल्ने काम गरेका छन् ।´, उहाँले भन्नुभयो ।
त्यसैगरी अर्का समीक्षक उदय अधिकारीले कवि गणेशका कविता सरल र स्पष्ट भएको धारणा राख्नुभयो । `समाज र राजनीतिको सरल चित्रण उनका कवितामा देख्न पाइन्छ । उनले कवितामार्फत यी कुरा प्रष्टरूपमा उल्लेख गरेका छन् ।´, अधिकारीले भन्नुभयो ।
त्यसैगरी कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्रीले गणेशका कवितामा समेटिएका विषयवस्तु फराकिलो रूपमा आएको बताउनुभयो । उहाँले गणेशका कविता काव्यिक मात्रै नभएर आख्यानका रूपमा पनि पढ्न सकिने बताउनुभयो । भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानका सदस्यसचिव बालकृष्ण थपलियाले गणेशका कविता उत्कृष्ट भएको प्रतिक्रिया दिनुभयो । `कविले कवितामा मेहनत गरेका छन् । पाठकलाई वास्तविक कविताको स्वाद पस्किन कवि सफल देखिएका छन् ।´, थपलियाले भन्नुभयो ।
कार्यक्रमका सभापति सम्पूर्ण किताबका प्रमुख लेखराम सापकोटाले कवि गणेश श्रमणका कवितामा काव्यिक रस भएको बताउँदै कविता पारखीले यो सङ्ग्रह चाख दिएर पढ्नुका साथै उहाँका कविताहरूले राष्ट्रिय रूपमा चर्चा बटुल्ने पनि सापकोटाले अनुमान र शुभेच्छा व्यक्त गर्नुभयो ।
नेपाली कविता र लघुकथाका क्षेत्रमा कृति प्रकाशित गरी लेखकका रूपमा दरिएका गणेश श्रमणको पहिलो प्रकाशित कृति ‘शब्दहरू अविराम यात्रामा’ हो । २०५७ सालमा प्रकाशित यो संयुक्तकवितासङ्ग्रहमा कवि गणेशसँगै सुरेन्द्र अस्तफल, नवराज ढुंगाना, प्रभा बराल, रमेश प्रभात, दीपकप्रसाद गौतम, लक्ष्मी ढकाल बास्तोला, गोपाल पौडेल, प्रकाश थापा र बुद्धिनाथ अधिकारीका पनि कविता छन् ।
त्यसपछि एकल कविताका कृतिहरू ‘शब्दक्रान्ति’ (२०६६) र ‘आगो लिएर गाउँ गाउँमा’ (२०८०) हुन् । त्यस्तै उनको लघुकथाको कृति ‘गुलियो काठमाडौँ’ (२०७५) प्रकाशित छ । फिनिक्स बुक्सले प्रकाशन गरेको उनको नयाँ पुस्तकको मूल्य ४००/- रुपैयाँ छ ।
कार्यक्रममा चितवन साहित्य परिषद्का अध्यक्ष केदारनाथ खनालले पनि शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रमलाई प्राध्यापक एवम् सञ्चारकर्मी गोविन्द रिमालले सहजीकरण गर्नु भएको थियो ।