Home Blog Page 30

डा. महेश मास्केलाई पारिजात स्मृति सम्मान

५ चैत्र, मकवानपुर
नवसाहित्य अनलाइन ।
पारिजात स्मृति सम्मान २०८० बाट डा. महेश मास्केलाई सम्मानित गरिएको छ । ३१औँ पारिजात स्मृति दिसको अवसरमा बुधबार साहित्यकार तथा स्वास्थ्यसेवी मास्के सम्मानित हुनु भएको हो ।

साहित्य सङ्गम मकवानपुर र आदर्श टोल विकास संस्था हेटौँडा १० नम्बर वडा कार्यालयसँगको सहकार्यमा १५ हजार ५ सय ५५ रुपैयाँ राशिको सम्मान प्रदान गरिएको हो । उहाँ पारिजात स्मृति केन्द्रका पूर्व अध्यक्षका साथसाथै पारिजातको व्यक्तित्व र कृतित्वको प्रवर्धनमा सक्रिय हुनुहुन्छ ।

हेटौँडा उपमनपा १० नम्बर वडाका वडाध्यक्ष फुर्वा दोर्जे तामाङ्ग प्रमुख अतिथि रहनु भएको कार्यक्रममा साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डीबी बर्तौलाको सभाध्यक्ष रहनु भएको थियो ।

वडा कार्यालयनजिकै बसपार्कमा रहेको पारिजातको प्रतिमामा माल्यार्पण गरी सुरू भएको कार्यक्रममा डा. मास्केलाई प्रदान गरिएको नगद राशिमा उहाँले सोही बराबरको रकम थप गरी साहित्य सङ्गम मकवानपुरको अक्षयकोषमा सहयोग प्रदान गर्नुभयो ।

चीनका लागि पूर्व राजदूत मास्के भोकका कैदीहरूसँग कविता सङ्ग्रह २०४१ सालमा प्रकाशन गर्नु भएको छ ।

पारिजातको व्यक्तित्वबारे नेपाल प्रज्ञा प्रतिष्ठान काव्य विभाग सदस्य शान्ति प्रियबन्दनाले पारिजातको जन्म, लेखन, राजनैतिक चेतना, लेखनकला, प्रकाशित पुस्तक आदिबारे बोल्नुभएको कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलले सम्मानित व्यक्तित्व मास्केको व्यक्तित्वबारे चर्चा गर्नु भयो ।

सङ्गमका सहसचिव भवानी तिमल्सिना र सदस्य रजनी पौडेलले पारिजातका कविताका साथै जनार्दन खनालले पारिजातप्रति समर्पित कविता वाचन गर्नुभयो ।

मन्तव्यका क्रममा वडाअध्यक्ष तामाङले भन्नुभयो- “राज्यले गर्नुपर्ने काम साहित्यिक सङ्घसंस्थाले गरिरहेको छ । यो सहयोग र समर्थन निकै खुसीको विषय हो ।”

सङ्गम अध्यक्ष बर्तौलाले पारिवारिक व्यक्ति सुकन्यापछिको अर्को व्यक्तित्व मास्के नै पारिजातको सबैभन्दा नजिकको व्यक्तीका रूपमा रहेको बताउनुभयो ।

आदर्श टोल विकास संस्था र १० नं. वडाद्वारा स्थापित रू. १ लाख ५० हजारको अक्षयकोषमार्फत् हरेक २ वर्षमा बैशाख ५ गते पारिजात स्मृति सम्मान प्रदान गर्ने गरिन्छ । पारिजातकी बहिनी सुकन्या, राल्फा आन्दोलनका सहयात्री रामेश सो सम्मानले यसअघि नै सम्मानित भइसक्नुभएको बताउनुभयो ।

पारिजातको ३१औँ स्मृति दिवसको अवसरमा १० नं. वडा कार्यालयको हलमा आयोजित कार्यक्रममा सङ्गमका उपाध्यक्ष सानु खनालले स्वागत तथा सचिव मनोज पोखरेलले कार्यक्रमलाई सहजीकरण गर्नु भएको हो ।

प्रज्ञा पुस्तक प्रदर्शनी प्रारम्भ

४ बैशाख, मकवानपुर
नवसाहित्य अनलाइन । २०८१वैशाख ४,बुधवार। नेपाल प्रज्ञा-प्रतिष्ठान भानुभक्त कक्षमा नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले पुस्तक प्रदर्शनीको उद्घाटन गर्नुभयो ।नव वर्ष २०८१ सालकाे उपलक्ष्यमा आयोजना गरिएको पुस्तक प्रदर्शनीमा भाषा, साहित्य ,संस्कृति, कला ,इतिहास, दर्शन, समाजशास्त्र लगायतका पुस्तक राखिएका छन् । प्रदर्शनीको मूल उद्देश्य पठन संस्कृतिको विकासमा टेवा पुर्याउनु रहेको छ । “सबै भाषा,सबै ज्ञान,सबैको प्रज्ञा-प्रतिष्ठान”भन्ने मूल नारालाई आत्मसात् गर्दै अघि बढेको प्रतिष्ठानले महत्त्वपूर्ण र अनुसन्धानात्मक पुस्तक प्रदर्शनीमा राखेको छ । हिमाल, पहाड, मधेस- तराईका विभिन्न संस्कार र संस्कृति, विभिन्न भाषाका काेशहरू प्रदर्शनी स्थलमा राखिएका छन्। प्रज्ञा नेपाली बृहत् शब्दकाेश १ प्रति खरिदमा २०% छुट र दुई प्रतिकाे खरिदमा २५% छुट र नयाँ तथा पुराना सबै पुस्तकहरूमा ४० प्रतिशत छुट रहेको छ । प्रदर्शनी २०८१ वैशाख ४ देखि१८ गतेसम्म रहनेछ । प्रदर्शनीमा पुन: प्रकाशन भएका अमरकाेश,नेपाली साहित्यकाेश,काैटिल्यकाे अर्थशास्त्र ,जाँ ज्याक रुसको कन्फेसन्स, ईषाादि नोै उपनिषद्, ग्रिक महाकवि हाेमरको ओडिसी, हरेराम जाेशिकाे प्राचीन अभिलेख, गुमानसिंह चामलिङकाे एरिस्टाेटल र उनका काव्य शास्त्र ‘पेरी पाेइएतिकेस’, काठमाडौँ उपत्यकाका नेवारी लाेकगीत लगायतका पुस्तकहरू ४०% छुटमा पाइन्छ । प्रतिष्ठानका नयाँ प्रकाशन ‘समाज अन्वेषण’, ‘मिक’, ‘लाबाङ्गी’ पत्रिका, नेवारी भाषाका कथाहरू लगायतका पत्रिका तथा कृतिहरू प्रदर्शनी स्थलमा राखिएकाे छ । सधैँ झैँ साझा प्रकाशनका कृतिहरू पनि प्रदर्शनीमा राखिने छ ।

यी जर्ज कोरोनिस हुन् । उनले ९९ वर्षको उमेरमा विश्व कीर्तिमान राखेका हुन् ।

उनले आफ्नो उमेर समूहको पौडी प्रतिष्पर्धाअन्तर्गतको ५० मिटर फ्रिस्टाइलमा ५६.१२ सेकेण्डमा पूरा गरी विश्वक कीर्तिमान राखेका हुन् ।
रोचक त के छ भने सन् १९१८ मा जन्मिएका उनी २० वर्षको हुँदा दोस्रो विश्व युद्ध भयो । त्यसपछि उनले पौडी खेल्नै छोडिदिए । ८० वर्षको उमेरसम्म उनले पौडी नै खेलेनन् । त्यसपछि मात्रै सहभागी भएर ९९ वर्षको उमेरमा अरूलाई उछिन्न सफल भए ।
मान्छेहरू आफ्नो रहर उमेरमैँ पूरा गर्नुपर्छ भन्छन् तर ८० वर्षको अन्तरालपछि पनि पूरा गर्ने रहरचाहीँ मर्दैन रहेछ ।
रहर भन्ने कुरा पनि अचम्मकै छ भन्या ।

प्रकट पङ्गेनी रहनु भएन

४ बैशाख, मकवानपुर
नवसाहित्य अनलाइन । कवि गजलकार प्रकट पङ्गेनी शिवले संसारबाट विदा लिनु भएको छ । मङ्गलबार ७० वर्षको उमेरमा उहाँको निधन भएको हो ।
केही समयदेखि जण्डिस र निमोनियाका बिरामी पङ्गेनी स्वास्थ्यमा एक्कासी समस्या आएपछि अस्पताल भर्ना हुनु भएको थियो । मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारका क्रममा निधन हुनु भएका उहाँका ‘अक्षरभरि अक्षता’, गीत संग्रह ‘यो मन कतै अल्झेको छ’ र ‘जुनको चिठी जुनालाई’ र गजल संग्रह ‘प्रणयवेदका ऋचाहरू’ प्रकाशित छन् ।
०००
श्रृङ्गारिक गजल सिर्जनामा उहाँ चर्चित हुनुहुन्थ्यो । उहाँका केही सिर्जनाहरूलाई यहाँ प्रस्तुत गरिएको छ ।


तिम्रो हातले भर्दै गिलास पिलाएको छुट्टै मजा
कोखाइ कोखाइ भन्दै सितन खिलाएको छुट्टै मजा ।

को हुन्छ र ओठ टोक्दै गिलास भर्दै पिउने मान्छे
त्यसमाथि झन् बाहुपास नै दिलाएको छुट्टै मजा ।

मध्यरात छ हामी दुइ छौँ चकमन्न अँध्यारो छ
छामछामछुमछुम गर्दै ओछ्यान मिलाएको छुट्टै मजा ।

यता मैले तान्दा उता तिम्ले तान्दा फाट्यो च्यादर
अँध्यारोमैँ त्यस्तो च्यादर सिलाएको छुट्टै मजा ।

कहिलेकाहीँ मजा पनि कति मजा हुन्छ गाँठे
मजा मान्दा मान्दै मजा बिलाएको छुट्टै मजा ।

साँझमा दियो बाली राख्यौ, को आउँदैछ आज
हातका औँला चाली राख्यौ, को आउँदैछ आज ।


हिजो अस्ति उप्किएका घरका छेउकुना
बिहानदेखि टाली राख्यौ को आउँदैछ आज ?

एउटा फूल भगवानलाई टिपे भइहाल्थ्यो त
सिङ्गै फूलको डाली राख्यौ को आउँदैछ आज ?

अगलबत्ती जलाएर तुलसीको मठमा
छेउमा पूजा थाली राख्यौ को आउँदैछ आज ?

बिहानदेखि सजिएर श्रृङ्गारपटार गरी
शीरको सिउँदो खाली राख्यौ को आउँदैछ आज ?


“जस्तो साइनो लाउने मन छ, त्यस्तै लगाऊ तिम्रो खुसी
पिउने आखिर म छँदैछु, जे जे मगाऊ तिम्रो खुसी ।”

आउँदा आउँदै अबेर भयो साँझ पर्‍यो म के गरूँ
अँध्यारोमैँ राख या त सन्ध्या जगाऊ तिम्रो खुसी ।

टाढा थिएँ हिजो अस्ती आज छेउमैँ बसेको छु
स्वागतार्थ बिगुल बजाऊ ध्वजा जगाउ तिम्रो खुसी ।

नजिक आइ सताउ प्रकट भन्थ्यौ तिमी टाढा हुँदा
नजिक आएँ अब सत्य बचाउ डगाउ तिम्रो खुसी ।

सराप नदेउ वृन्दाले झैँ पत्थर हुने रहर छैन
आजको रात ओछ्यानमा सुताउ भगाउ तिम्रो खुसी ।
०००
उहाँका सिर्जनाहरूमार्फत् उहाँ जीवन्त रहीराख्नुहुनेछ । नवसाहित्य अनलाइन परिवार सशक्त सर्जक प्रकट पङ्गेनीको असामयिक निधनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ ।

आँचलले खुला वक्तृत्वकला प्रतियोगिता गर्ने

२७ चैत्र, मकवानपुर
नवसाहित्य अनलाइन ।

आँचल साहित्य कलापुञ्ज हेटौँडाको आयोजनामा खुला वक्तृत्वकला प्रतियोगिता प्रतियोगिता हुने भएको छ ।
हेटौँडा उपमहानगरपालिका १० नम्बर वडा कार्यालयको सहयोगमा नेपाली साहित्यकी सशक्त नारी हस्ताक्षर पारिजातको स्मृति दिवसको सन्दर्भमा सो प्रतियोगिता आयोजा हुन लागेको हो ।
‘नेपालको सामाजिक रूपान्तरणमा राजनीतिक आन्दोलनको भूमिका’ विषयक सो प्रतियोगिता बैशाख ५ गते बिहान ११:०० बजे आयोजना हुने अध्यक्ष भावना सापकोटाले जानकारी दिनु भएको छ ।
कार्यक्रममा उत्कृष्ट प्रतियोगीहरूलाई प्रमाणपत्रसहित प्रथम पुरस्कार ८ हजार, द्वितीय पुरस्कार ६ हजार, तृतीय पुरस्कार ४ हजार र सान्त्वना पुरस्कार २ हजार नगद प्रदान गरिने उहाँले बताउनुभयो ।
इच्छुक प्रतियोगी सहभागीहरूले आफ्नो सहभागिताका लागि २०८० वैशाख ४ गते साँझ ४ बजेभित्र तोकिएको सम्पर्क नम्बरमा आफ्नो नाम र आवश्यक विवरण टिपाइसक्नुपर्नेछ उहाँले जानकारी दिनुभयो ।

भीम विराग प्रतिष्ठानले राजेन्द्र थापा र निशा देसारलाई सम्मान गर्ने

२६ चैत्र, मकवानपुर
नवसाहित्य अनलाइन । भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपालले वरिष्ठ गीतकार राजेन्द्र थापा र गायिका निशा देसारलाई सम्मान गर्ने भएको छ । रु. १ लाख राशिको बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कारबाट थापा सम्मानित हुन लाग्नु भएको हो भने २५ हजार राशिको भीम विराग युवा सङ्गित पुरस्कार २०७९ बाट देसार सम्मानित हुन लाग्नु भएको हो ।

यही चैत्र २९ गते होटल एभोकाडोमा आयोजना हुने कार्यक्रममा १५औँ संस्करणको कार्यक्रम हो । उद्यमी-व्यवसायी कन्हैयाकृष्ण श्रेष्ठले वि.सं. २०६४ मा आफ्नी आमा बिजुलीमाया वनः श्रेष्ठको नाममा स्थापित बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय पुरस्कारबाट यसअघि गीत तथा सङ्गीत क्षेत्रका सशक्त व्यक्तित्वहरू अम्बर गुरूङ (२०६४), प्रेमध्वज प्रधान (२०६५), भक्तराज आचार्य (२०६६), फत्तेमान राजभण्डारी (२०६७), शान्ति ठटाल (२०६८), दीप श्रेष्ठ (२०६९), प्रकाश श्रेष्ठ (२०७०), न्हुच्छेबहादुर डङ्गोल (२०७१), मीरा राणा (२०७२), कर्म योञ्जन (२०७३), चेतन कार्की (२०७४), दावा ग्याल्मो (दीपक जङ्गम) र किरण प्रधान (२०७९) सम्मानित भइसक्नु भएको छ ।

प्रतिष्ठानले प्रदान गर्ने अन्य सम्मान तथा पुरस्कारहरू तुलसीमाया-शिवकुमारी सिर्जनशील नारी पुरस्कार, भीम-मथुरा बाल प्रतिभा पुरस्कार, कमला-भवानी सङ्गीत पुरस्कार, शीला नारी सङ्गीत पुरस्कार, हर्षनर बज्राचार्य स्मृती स्वर्ण पुरस्कार, विजय बानियाँ स्मृति लोक सङ्गीत पुरस्कार, चिनुकुमारी लामा स्मृति साहित्य पुरस्कार, मङ्गलादेवी श्रेष्ठ स्मृति स्वास्थ्य सेवा पुरस्कार, अजित सेन गुप्ता स्मृति भिन्न क्षमता पुरस्कार हुन् ।

२०५९ भाद्र ७ गते स्थापना भएको प्रतिष्ठानले नेपाली सङ्गीत, साहित्य र कला क्षेत्रको उन्नयनमा देश तथा विदेशमा रहेर नेपाली वाङ्मय क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आउनु भएका सर्जक, स्रष्टाहरूलाई सम्मान एवम् पुरस्कृत गर्दै आइरहेको प्रतिष्ठानका अध्यक्ष केशवलाल श्रेष्ठले जानकारी दिनु भएको छ ।

प्रधानाध्यापकद्वारा विद्यालयको उपलब्धी र योजनाको प्रस्तुती

२६ चैत्र, मकवानपुर । नवसाहित्य अनलाइन । हेटौँडा उपमहानगरपालिकाका विभिन्न १२ वटा विद्यालयका प्रधानाध्यापकले चालु शैक्षिक सत्रको उपलब्धी र सिकाई एवम् आगामी शैक्षिक सत्रको योजनाका बारेमा प्रस्तुती गरेका छन् । शिक्षाका लागि राष्ट्रिय अभियानको आयोजना तथा समृद्ध समाज दैनिक, रुहेल सिआरसी र इस्थर बेञ्जामिन स्मृति संस्थाको समन्वयमा आइतबार प्रधानाध्यापकका उपलब्धी र योजनाको विषयमा प्रस्तुतीकरण कार्यक्रम भएको हो । कार्यक्रममा सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिले प्रधानाध्यापकका प्रस्तुतीलाई अवलोकन गरेका थिए ।
चालु शैक्षिक सत्रको अन्तिम समय र आगामी शैक्षिक सत्रको सुरुवात हुनै लाग्दा प्रधानाध्यापकका योजनाको प्रस्तुतीले सरोकारवालालाई योजनाबारे जानकारी हुने र एउटै मञ्चमा प्रधानाध्यापकको प्रस्तुतीले एकअर्कामा सिकाईको अवसर रहने अपेक्षा आयोजकको रहेको थियो । कार्यक्रममा हेटौँडा–१ स्थित अमर माविकी प्रधानाध्यापक मालती उप्रेती, हेटौँडा–२ स्थित सिद्धार्थ माविका प्रधानाध्यापक परमानन्द सरोज कर्ण, हेटौँडा–४ स्थित श्रमिक माविका प्रधानाध्यापक श्रीराम दाहाल, आधुनिक राष्ट्रिय माविका प्रधानाध्यापक रामसागर गुरागाई, भुटनदेवी मावि माविका सहायक प्रधानाध्यापक वेदराज कोइराला, हेटौँडा–६ स्थित बालजागृति युवाबर्ष माविकी प्रधानाध्यापक सम्झना अधिकारी, हेटौँडा–७, नागस्वतीस्थित नवज्योति माविका प्रधानाध्यापक ज्ञानेन्द्र दाहालले प्रस्तुती राख्नुभएको थियो ।

यस्तै हेटौँडा–८, कमानेस्थित चन्द्रोदय माविका प्रधानाध्यापक जीधराज ढकाल, हेटौँडा–१३, पदमपोखरीस्थित महेन्द्र माविका प्रधानाध्यापक विष्णु श्रेष्ठ, हेटौँडा–१४, मयुरधापस्थित जनज्योति माविका प्रधानाध्यापक भोगेन्द्र लुइटेल, हेटौँडा–१५, रातोमाटेस्थित जनजागृति माविका प्रधानाध्यापक केशवप्रसाद सञ्जेल, हेटौँडा–१६, हटियास्थित जनप्रिय माविका प्रधानाध्यापक भुपेन्द्र चौलागाईले चालु शैक्षिक सत्रका योजना, उपलब्धी, सिकाईसँगै आगामी शैक्षिक सत्रको योजना र चुनौतिका विषयमा प्रस्तुती राख्नुभएको थियो ।

प्रधानाध्यापकको प्रस्तुतीलाई हेर्न, सुन्न, बुझ्न जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलान, हेटौँडा उपमहानगरपालिकाको सामाजिक विकास समितिका संयोजक रामकृष्ण कोइराला, शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख दीनानाथ गौतम, राष्ट्रिय परीक्षा बोर्ड हेटौँडाका प्रमुख कृष्णप्रसाद घिमिरे, हेटौँडा उपमहानगरपालिकाको शिक्षा महाशाखाका प्रमुख सीताराम कोइराला, मकवानपुर बहुमुखी क्याम्पसका प्रमुख डा. यमबहादुर सिलवाल, हेटौँडा क्याम्पसका प्रमुख देवीराम लामा, हेटौँडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सीपल पुरनबहादुर जोशी, उद्योग संघ मकवानपुरका अध्यक्ष बद्रिप्रसाद शर्मा, टोल विकास संस्था नगर समन्वय समिति अध्यक्ष ध्रुब अधिकारीको आतिथ्य रहेको थियो ।

प्रधानाध्यापकको प्रस्तुतीपछि वृहत राष्ट्रिय शिक्षा अभियानका संयोजक अभिषेक घिमिरेले टिप्पणी गर्नुभएको थियो । विद्यालयको लक्ष्य र उद्देश्य निर्धारण गरेर काम गर्नुपर्ने सुझाव दिनुहुँदै प्रधानाध्यापकका प्रस्तुतीअनुसार विद्यालयमा क्रियाकलाप भइरहेको हो भने हेटौँडाको शैक्षिक अवस्था राम्रो रहेको बताउनुभयो । विद्यालयका प्रधानाध्यापकलाई शैक्षिक एवम् प्रशासनिक सुधारकर्ताको रुपमा स्थापित गर्नुपर्ने उल्लेख गर्नुहुँदै उहाँले माध्यमिक तहका विद्यालयले फिडर विद्यालयको शैक्षिक सुधारमा पनि सहयोग गर्नुपर्ने बताउनुभयो । सीसी क्यामरा जडान गर्दैमा, अंग्रेजी माध्यममा पठनपाठन हुँदैमा विद्यालयको शैक्षिक सुधार भएको मान्न नमिल्ने उहाँको भनाइ थियो । कार्यक्रममा योजना प्रस्तुत गर्ने प्रधानाध्यापकलाई मायाको चिनोस्वरुप विद्यालय शिक्षा, बालमनोविज्ञानसँग सम्बन्धित पुस्तक प्रदान गरिएको थियो । इस्थर बेञ्जामिन स्मृति संस्थाका संयोजक बुद्धवीर लामाले प्रधानाध्यापकका योजनाको प्रस्तुती कार्यक्रमले आपसी सहकार्यको अवसर सिर्जना गर्ने विश्वास लिएको बताउनुभयो ।

प्रभातको पाँचौ कृति ‘निसमालोचना’ नयाँ वर्षमा सावर्जनिक हुने

२५ चैत्र, मकवानपुर । नवसाहित्य अनलाइन । चितवनका गजलकार तथा समालोचक रमेश प्रभातको पाँचौं कृति ‘निसमालोचना’ सार्वजनिक गरिने भएको छ ।

प्रभातको जीवनसंगिनी रेखा श्रेष्ठले प्रकाशन गरेको समालोचनामा आधारित यो कृति नेपाली नयाँ वर्ष २०८१ को अवसरमा सार्वजनिक गरिन लागेको हो ।

१३२ पृष्ठको यो कृतिमा विभिन्न कविता, गीत र विविद्य विषयमा २७ वटा समालोचना समावेश गरिएको छ । ३०० रुपैयाँ मूल्य राखिएको कृतिले समालोचना क्षेत्रमा पाठक बढाउने अभिप्राय राखिएको छ ।

तनहुँको पुरकोटमा २०२९ सालमा जन्मिएका रमेश प्रभात चितवनका प्रखर कवि, समालोचक तथा गजलकार हुन् । विसं २०४४ सालबाट कविता लेखनबाट आफ्नो साहित्यिक यात्रा सुरु गरेका प्रभातको २०५४ सालमा ‘सत्तालिप्सा’ हाइकु सङ्ग्रह, २०५७ सालमा ‘शब्दहरु अविराम यात्रामा’ संयुृक्त कविता सङ्ग्रह र २०६१ सालमा ‘प्रायश्चित’ बालकथा सङ्ग्रह प्रकाशित भइसकेका छन् । वीरेन्द्र बहुमुखी क्याम्पसका नेपाली विषयका उपप्राध्यापक प्रभात चितवन साहित्य परिषद् , साहित्य संगम, अभिव्यञ्जना साहित्य प्रतिष्ठान, गजल मञ्च र नेवा समाज गरी आधा दर्जन बढी साहित्यिक संघसंस्थामा आवद्ध छन् ।

भरतपुर मंगलपुरका स्थायी निवासी प्रभातले झण्डै आधादर्जन सम्मान तथा पुरस्कार प्राप्त गरेका छन् ।

दुई प्रतिभा पुरस्कृत, बज्जिका भाषाको पहिलो बालकविता संग्रह सार्वजनिक

राैतहट । सरस्वती राजनारायण प्रतिष्ठान जनकपुरको मातहतमा गठित कला सम्बद्र्धन समिति रौतहटले कलासम्बन्धी विशेष गोष्ठी, पुरस्कार वितरण तथा सम्मान समारोह सम्पन्न गरेको छ ।

रौतहटको गरुडामा आयोजित कार्यक्रममा साहित्यकार रेणु गुप्ताद्वारा बज्जिका भाषामा लिखित ‘मेला’ बालसाहित्यिक कृतिको लोकार्पण गरिएको छ । ‘मेला’ नेपालमा बज्जिका भाषाको पहिलो बालकविता संग्रहको रुपमा रहेको कार्यक्रममा जानकारी गराइएको थियो । यससँगै गुप्ताको प्रकाशित कृतिको संख्या सात पुगेको छ ।

कार्यक्रममा गुप्तालाई पन्ध्र हजार रुपैयाको वीनादेवी पुरस्कार तथा जनकपुरका साहित्यकार विजय दत्त मणिलाई पन्ध्र हजार रुपैयाको आनन्दीदेवी पुरस्कारले सम्मानित गरिएको छ । दोसल्ला तथा अभिनन्दनपत्रसहित दुवै प्रतिभाको साहित्यिक योगदानको कदर गर्दै सम्मानित गरिएको प्रतिष्ठानले जनाएको छ ।

नृत्य तथा गायन कलाको क्षेत्रमा करिब पचासी वर्ष योगदान पु¥याएका लोकगायक तथा कलाकार अनुप सहनीलाई विशेष सम्मान गरिएको छ । ९० वर्षीय कलाकार सहनी करिब पाँच वर्षको उमेरदेखि नाच्न र गाउन थालेका थिए । कलाकार सहनीले कार्यक्रममा विभिन्न लोकगीत गाएर प्रतिभाको परिचय दिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि गरुडा नगरपालिका नगर प्रमुख कन्थमनिप्रसाद कलवारले आफूले कला क्षेत्रको निरन्तर सम्मान गरिरहेको बताउँदै बज्जिका भाषा र साहित्यका साथै कलाकारिताको क्षेत्रमा सक्रिय रहेका प्रतिभाहरुको प्रशंसा गरेका छन् । नगर प्रमुख कलवारले कलाकार सहनीलाई आफ्नो तर्फबाट दुई हजार एक सय रुपैया नगदले सम्मानित गरेका छन् ।

कार्यक्रमका विशिष्ट अतिथि पूर्व प्रमुख जिल्ला अधिकारी रामविलास रायले बज्जिका भाषा र कलाको प्रशंसा गर्दै हरेक व्यक्तिले मातृभाषा, मातृदेश तथा आफ्नो संस्कृतिप्रति गर्व गर्न सक्ने वातावरण हुनुपर्ने बताएका छन् । यसै गरी पुरस्कृत तथा सम्मानित प्रतिभाहरु गुप्ता, मणि र सहनीले समाजले आफूहरुमाथि विश्वास गरेर अझ बढी दृढतापूर्वक सेवामा लाग्ने अभिभारा सुम्पेको अभिव्यक्ति दिएका छन् ।

अनिता–शिव अन्तर्राष्ट्रिय बज्जिका वाङ्मय पुरस्कारका संस्थापक शिवचन्द्र साह, बज्जिका साहित्य समाज सर्लाहीका अध्यक्ष रामचन्द्र महतो कुशवाहा, बज्जिका प्रचार प्रसार समिति रौतहटका संयोजक बिन्दा साहनी, बज्जिकाका प्रथम प्रशिक्षक विपिनबिहारी सिंहले मन्तव्य व्यक्त गर्दै मधेश प्रदेशको प्रमुख भाषाको रुपमा बज्जिका स्थापित भइसकेको र बज्जिका साहित्यले दिनानुदिन प्रगति गरिरहेको जानकारी गराएका छन् ।

धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लाका साहित्यकारहरुको सहभागिता रहेको कार्यक्रममा बहुभाषिक विशिष्ट साहित्यकार अजयकुमार झा, प्रतिष्ठित कलाकार बृजकिशोर सहनी, बज्जिका पत्रकार समाज नेपालका अध्यक्ष राजुकुमार श्रीवास्तव, लोककलाकार गगनदेव पंडित, प्रतिष्ठान सचिव रामचरित्र ठाकुर, बज्जिका साहित्य संगम रौतहटका सचिव रामअधार पासवान, नवसर्जक साहित्य चौतारी मधेश प्रदेशका कोषाध्यक्ष अभिजीत राम, भूपनारायण राम दास, राजेश महतो कुशवाहा, धनदेव जोशी, रवीन्द्र पटेल, रवीन्द्र पासवान, संगीता सहनी, सुधीरकुमार लाल, रुपेश रोदन, प्रतिष्ठानका संस्थापक रामेश्वर रौनियारसहितका प्रतिभाहरुले लोकगायन, कविता, गीत, हास्यव्यंग्य आदिको प्रस्तुतिले कला गोष्ठी सार्थक बनेको थियो ।

प्रतिष्ठानका अध्यक्ष इन्जिनियर चन्देश्वर रौनियारले मधेश प्रदेशको वाङ्मयको सबै क्षेत्रमा प्रतिष्ठानले काम गर्दै जाने बताउँदै जीवनलाई कलाको रुपमा व्याख्या गरेका छन् । पूर्वीय वाङ्मयका धरोहर रौनियारले भाषालाई अभिव्यक्तिको माध्यम बताएका छन् । कार्यक्रमलाई सफल बनाउने सबैलाई प्रतिष्ठानले मधेशको पहिचान गमछा ओढाएर सम्मानपत्रले सम्मानित गरेको छ । कार्यक्रममा उपस्थित सबैलाई बज्जिका साहित्य संगम रौतहटका अध्यक्ष किशुनदयाल श्रीकृष्णले स्वागत गरेका थिए ।

कार्यक्रममा सञ्जय साह मित्र संयोजक रहेको पाँच सदस्यीय कला सम्बद्र्धन समिति गठन गरिएको घोषणा गरिएको छ । सरस्वती राजनारायण प्रतिष्ठानको मातहत रहने गरी घोषित कला सम्बद्र्धन समितिमा शिवचन्द्र साह, किशुनदयाल श्रीकृष्ण, रेणु गुप्ता र संगीता सहनी सदस्य तोकिएका छन् ।

‘बुढीपोल्ली’ लिएर आए खेम बतास

२३ चैत्र, मकवानपुर । नवसाहित्य अनलाइन । खेम बतासद्वारा लिखित कथासंग्रह ‘बुढीपोल्ली’ले सुदूरपश्चिमको आञ्चलिकतालाई बलियो गरी प्रस्तुत गरेको लेखकहरुले बताएका छन्। शनिबार राजधानीको शिल्पी थिएटरमा पुस्तक विमोचनसँगै भएको बहसमा सहभागी वक्ताहरुले गरिब, दलित, भूमिहीनजस्ता भुइँमान्छेप्रति लेखकको सहानुभूति सकारात्मक देखिएको बताए। विमोचनपछि पत्रकार फणीन्द्र संगमले बहसको सहजीकरण गरेका थिए।

लेखक/समालोचक बिन्दु शर्माले आञ्चलिकता र स्थानीय भाषा प्रयोगमा लेखक सबल रहेको बताइन्। ‘सदियौंदेखि चलिरहेको सांस्कृतिक उत्पीडनप्रति असहमति प्रकट गर्दै लेखकले नयाँ चेतनाको खोजी गरेका छन्,’ उनले भनिन्। नेपाली साहित्यमा मानक भाषा र कुनै भाषिका वा मातृभाषाप्रति द्न्द्व नरहेको उनको भनाइ थियो। छाउपडी प्रथासँग सम्बन्धित कथा ‘मान्छे हराएको सूचना’को प्रसंगमा उनले मान्छे सामाजिक सोचसित डराउने भएकाले त्यो सोच बदल्नुपर्ने बताइन्। ‘छाउ नमान्दा देउता रिसाउने भए छाउगोठ होइन देउताका मूर्ति भत्काउनुपर्छ,’ उनले भनिन्। कवि/कथाकार बिना थिङले लेखक महिलाको विषय र चरित्र निर्माणमा सकारात्मक देखिएको बताइन्।

कथामा धेरै पात्रको आउजाउ भइरहँदा मूल पात्र नै ओझेलमा परेको उनको टिप्पणी थियो। ‘केही कथाका महिला पात्र विद्रोह गर्न तयार छैनन् तर केहीमा भने त्यो संकेत देखिएको छ,’ उनले भनिन्। ‘लेखकले आफ्नो भूगोलको कथा लेख्ने हो। बुढीपोल्लीमा सुदूरपश्चिमका कथाव्यथा छन्,’ उनले थपिन्, ‘यो नेपाली साहित्यका लागि फरक स्वाद पनि हो।’ कथाकारले उठाएका मुद्दामा आफू सहमत भएको भन्दै लेखक राजन मुकारुङले यी कथा सुदूरपश्चिमको मात्र नभई नेपालभित्रैका कथा रहेको भनाइ राखे।

कवि सोझो गाउँलेले खेमका कथा परिवेश र उद्देश्यमा निकै सफल रहेको भन्दै प्रशंसा गरे। ‘सामाजिक कुरीति र विभेदविरुद्ध लेखकले क्रान्ति नै गरेका छन्,’ उनले भने, ‘सुदूरको सांस्कृतिक पक्षलाई बलियोसँग उठाइएको छ।’ कवितामा व्यक्त गर्न नसकिएका विषयलाई कथामा उठाउनकै लागि ‘बुढीपोल्ली’ जन्मिएको लेखक खेमको भनाइ थियो। १२ लामा कथा संगृहीत पुस्तकलाई माया पब्लिकेसनले बजारमा ल्याएको हो।