Home Blog Page 41

कविता : घामको गणतन्त्र / बैकुण्ठ लामिछाने

रातभर बास बसेपछि शीत
मेरो खरको छानोमा
चिस्यानको सुन्दरताले
मुर्छित बनाएको छ
मेरो दैनिकी
आइसक्दा चारैतिरका अग्ला घरको बरन्डामा
घामको बिस्कुन
मेरो झुपडीमा आउनुअघि नै
पुजीवादको अपहरणले
किन घेराबन्दीमा परेको छ
घामको गणतन्त्र !

भकारोले फेरिरहेको छ
चिसो श्वास
बाफले हानिरहेको छ झट्टी
घामको झुत्तोमा
व्यग्रताको किलोमा उभिएर
मालीगाई बोलाइरहेको छ घामको जन्ती
पठ्याङ्ग्रापठ्याङ्ग्री दौडिरहेछन्
यता उता घामको प्रेमिल प्रतीक्षामा
आगाको अगुल्टो
लगाइरहेछ दाउरासँग मीत
डेक्चीको कुँडे चिसो पिएर मुर्छित छ
घाम न आइपुगेको रिसमा घर घेरिरहेको छ
पिरो धुवाँ
अग्लो घरको माथिल्लो तलाको बरन्डामा उभिएर
पुजीवादको डबलबेडको तन्नाले फेरि गर्लम्मै छेकेको छ
मेरो घरको ढाडैमा ओर्लन लागेको घाम
फेरि दोश्रो पटक पनि
आलिसान पुजीवादको ओछ्यानको घेराबन्दीमा परेको छ
घामको गणतन्त्र

अगेनुको छेवैमा
बिँडीको चुम्बनमा फतफताइरहनु भएको छ श्रीमान्
घाम पनि छेक्न सक्ने रहेछ हो पैसा हुनेले त
अलि चर्कै कड्किरहनु भएको छ
एक्लै

तातेपछि धुवाँको पारो
छोडेर दाउराको सङगत
एक्लै निस्किएको छ आवेगमा
को हो त्यो घाम छेक्ने ?
पिरो धुवाँको हतियार बोकेर
ठुला घरको कोठाकोठा विद्रोह छर्दै हिँडेको छ धुवाँ
त्यत्तिकैमा च्याठ्ठिनु भएको छ सिरानको तलाबाट मालिक्नी
कति पताको हो धुवाँ
ग्यास बाल्नु नि !
जम्मै धुवैधुवॉले स्वास फेर्नै सकिएन
मरिने भो ।
मार्ने भए यिनका सन्तानले हामीलाई ।
रिसानी हुनुभयो उहाँहरू भनेर
म चुपचाप फेरि ठोकिरहेको छु दाउराको खप्परहरू
र कुरिरहेछु घामको आगमन
तोडन नसकेर चौतर्फी घेराबन्दी
निसास्सिएर पुजीवादको उचाइको चेम्बरमा
घामको गणतन्त्र
पुन : यो पटक पनि
आउन सकेको छैन घाम पिँढीको पोल्टासम्म
धुवाँको उचाइमा रिसको उचाइ थपेर
अझै थपेर धुवाँ बेतोडले सल्काएर बिँडी
श्रीमानले कड्केर फेरि बोल्नु भो
हेरौँ अब
घाम छेक्न सक्नेहरूले धुवाँ छेक्न सक्छन् कि सक्दैनन् ?
हेरौँ
श्वास छेकेर को बाँच्ने रहेछ यो शहरमा???

देवघाटमा मकर–काव्य–यामिनी–२०८० हुँदै

मकवानपुर । मकर संक्रान्तिको पूर्व सन्ध्यामा चितवनको देवघाटमा मकर–काव्य–यामिनी–२०८० सञ्चालन हुने भएको छ । २१ औं श्रृङ्खला अन्तर्गत पौष २९ गते बेलुका ७ बजेबाट सुरुवात कार्यक्रम शुरु हुने आयोजक सदस्य विशप आचार्यले बताउनुभएको छ ।

महेश संन्यास आश्रमद्वारा संचालित महेश संस्कृत गुरुकुल विद्यापीठको संयोजनमा देवघाधाममा आयोजना हुने यस २०८० को काव्य यामिनीमा प्रा।डा। दयाराम श्रेष्ठको प्रमुख आतिथ्यता रहनेछ भने अन्य विशिष्ट कविहरूको पनि उपस्थिति रहने आचार्यले जानकारी दिनुभयो । साथै गुरुकुलबाट साहित्य साधना गरेर आफूलाई साहित्यको सेवामा लगाएका ’देवघाट’ महाकाव्यका लेखक कवि निराजन पन्त, कवि गोबन्दराज विनोदी, कवि सुदेश सत्याल, कवि गौतम मनिष, कवि नगाधिराज, कवि अञ्जान प्रदीपलका साथै अन्य जिल्लाा कविहरूकोसमेत उपस्थिति रहनेछ ।

माघे संक्रान्तिको गण्डकी स्नानले शरीरको कलुषतालाई हटाउँछ भने मकर काव्य यामिनीको साहित्य रसपानले मनको कलुषतालाई हटाउँछ भन्ने विश्वास त्यहाँ आउने साहित्य अनुरागीहरूले गरेका छन् । एउटा कार्यक्रम सुरुवातबाटै उत्तिकै भव्यताका साथ २१ औं श्रृङ्खलासम्म आइपुग्नुले पनि यसको महत्तालाई अझ बढाएको साहित्यप्रेमीको बुझाई छ ।

प्रा.डा. देवी नेपालद्वारा नवसर्जककेन्द्रित लेखन कार्यशाला

पौष २८, शनिबार
मकवानपुर ।
नवसर्जक सहित्य चौतारी नेपालको आयोजनामा सिर्जनात्मक लेखन कार्यशाला सञ्चालन गरिएको छ । हेटौंडा उपमहानगरपालिका, ४ नं. वडा कार्यालयको मुख्य सहयोग एवम् प्याब्सन मकवानपुरको सहकार्यमा सञ्चालित कार्यक्रममा अग्रज साहित्यकार, समालोचक, तथा अभियन्ता प्रा. डा. देवी नेपालले प्रशिक्षण गराउनु भएको हो ।

एक दिने कार्यशाला चौतारीकी उपाध्यक्ष कृतिका लौडारीको अध्यक्षता एवम् हेटौंडा उपमहानगरपालिका, ४ नं. वडाका वडाध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । प्याब्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदी, वडाध्यक्ष सिग्देल लगायतले शुभकामना मन्तव्य राख्नु भएको कार्यक्रममा स्टेसनरी सहयोग विद्यार्थी पुस्तक पसल, हेटौंडाका पुष्कल नेपालले गर्नु भएको थियो ।

कार्यशालामा मकवानपुरका सामुदायिक तथा संस्थागत विद्यालयका २५० विद्यार्थी तथा शिक्षकहरू सहभागी कार्यक्रममा सहयोगी निकाय ४ नं. वडाका सदस्यहरू गीता त्रिपाठी, जेन श्रेष्ठ, संस्थाका सल्लाहकार तथा पुरस्कार संस्थापकहरू रमेशमोहन अधिकारी, डिबी बर्तांला, विष्णु न्यौपाने, अर्चना दहाल, प्रभा पौडेल, पुरूषोत्तम आचार्य, हरिकृष्ण काफ्ले, विष्णुप्रसाद अधिकारी, मसान उपासक, तुल्सी घिमिरेलगायतका मकवानपुर सम्बद्ध साहित्यिक संस्थाहरू साहित्य सङ्गम, झरना साहित्यिक परिवार, सिस्नुपानी नेपाल, प्रगतिशील लेखक सङ्घ, मातृभूमि साहित्य समाज, गजल मञ्च, आँचल साहित्य कला पुञ्ज, मुक्तक मञ्च, बुढ्यौली साहित्य समाज, नेपाली लेखक सङ्घ, भीम विराग सङ्गीत साहित्य कला पुञ्जलगायत सङ्घसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । 

माघ ६ गते शनिबारदेखि तेस्रो चरणको अनलाइन साहित्यिक प्रशिक्षण अभियानलाई पुनः सञ्चालन गरिने आयोजकले जानकारी गराएको छ भने आजको कार्यक्रम रोयल प्यालेस, हेटौंडामा सञ्चालन गरिएको हो 

हेटौंडामा भीम विराग र गुन्जनको संयुक्त कवि गोष्ठी

मकवानपुर । भीम विराग साहित्य कला प्रतिष्ठान नेपाल र गुन्जन नारी साहित्य संस्था काठमाडौको संयुक्त आयोजनामा हेटौंडामा कवि गोष्ठी गरिएको छ । शुक्रबार हेटौंडामा आयोजना गरिएको कवि गोष्ठीमा मकवानपुरका तथा गुन्जनमा आबद्ध समेत करिब ३ दर्जन सर्जकहरुले रचना वाचन गरेका थिए ।

गुञ्जनका तर्फबाट जलेश्वरी श्रेष्ठ, हिरण्यकुमारी श्रेष्ठ, सुलोचना मानन्धर, सुस्मिता नेपाल, पद्मावती सिंह, सन्ध्या पहाडी, डा. रेणुका सोलु, डा. रजनी ढकाल, विन्दु सुवेदी, रुकु कार्की, सावित्री श्रेष्ठ, मन्जिला शर्मा, कमला रिसाल, रीता खत्री, रश्मि रिमाल, शान्ता शाक्य, उषा केसी, विमला कार्की, निर्मला फुँयाल, यशोधा अधिकारी, गीता कार्कीले कार्यक्रमा सहभागी जनाएका थिए । यसैगरि मकवानपुरका आरआर चौलागाईं, हयग्रीव आचार्य, भावना सापकोटा, पूर्णकला घिमिरे, सविता तिमल्सिना, सानू खनाल, हरिकृष्ण काफ्ले, रजनी पौडेल, गीताकुमारी न्यौपाने, जयन्ती आचार्य , गोपिनी गौतम, दिनेश शर्मा, किशन पौडेल, अश्लेषा अधिकारीले आ-आफ्ना रचना सुनाएका थिए ।

गोष्ठीमा आठ दशक छुनै लागेकी पद्मावती सिंहले गीत गाउँदा ७३ वर्षीय शुशिला पाण्डे मानन्धरले भीम विरागसँग कुनै समय अभ्यास गरिएको तर रेकर्ड हुन नपाएको गीत सुनाइन् । कार्यक्रममा बालजागृति माध्यामिक विद्यालय कक्षा ४ मा अध्ययनरत छात्रा अश्लेषा अधिकारीले ‘तिमिले त होइन तिम्रा आँखाहरुले’ गीत संगीत मै प्रस्तुत गरिन् ।

प्रतिष्ठान अध्यक्ष केशवलाल श्रेष्ठ तौजको अध्यक्षता तथा प्रतिष्ठानका सल्लाहकार सुशीला पाण्डे मानन्धरको प्रमुख आतिथ्यमा भएको गोष्ठीमा विशिष्ट अतिथि जलेश्वरी श्रेष्ठ गुञ्जनका अध्यक्ष, अतिथि पद्मावती सिंह गुञ्जन संस्थापक अध्यक्ष र कार्यक्रमको सेतु आरआर चौलागाईं रहेका थिए । प्रतिष्ठानका सदस्य गोपिनी गौतम ढकालले स्वागत गरेको गोष्ठीमा कार्यक्रम अवधारणा गुञ्जन महासचिव सुस्मिता नेपालले राखेकी थिइन् । गोष्ठीको सहजीकरण प्रतिष्ठानका महासचिव छवि अनित्यले गरेका थिए ।

डिभिजन विद्युतमा रचना वाचन कार्यक्रम

पौष २७, शुक्रबार मकवानपुर ।
चेरब स्मृति प्रतिष्ठानद्वारा विद्युतीय सुरक्षा सम्बन्धी कार्यशाला गोष्ठीका क्रममा साहित्य रचना वाचन गरिएको छ ।
शुक्रबार नेपाल विद्युत प्राधिकरण बागमती प्रदेश, प्रदेश डिभिजन कार्यालय, हेटौंडामा भएको कार्यक्रममा प्रतिष्ठानद्वारा प्रकाशित हिमाद्रि साहित्यिक त्रैमासिक पत्रिकाको २७औं अङ्क लोकार्पण एवम् काव्य गोष्ठी कार्यक्रम सम्पन्न भएको हो ।
प्रतिष्ठानका अध्यक्ष पूण्य घिमिरेको सभाध्यक्षता र निर्देशक तथा प्रतिष्ठानका आजीवन सदस्य थर्कबहादुर थापाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विद्युतकर्मी साहित्यिक समाजका अध्यक्ष कृष्णदेव रिमाल, सिस्नुपानी नेपालका चक्र दवाडी, व्यङ्ग्यचित्रकार आशिष खनाल माड्साप र सिस्नुपानी नेपाल मकवानपुरका संप्रस पौडेलले हास्यव्यङ्ग्य रचना वाचन गर्नुभयो । यस्तै कवि बैकुन्ठ लामिछाने, प्रलेस केन्द्रिय सदस्य मसान उपासक, मातृभूमि साहित्य समाजका देवराज खरेल, छन्दकवि पुरुषोत्तम आचार्यले कविता वाचन गर्नुभयो भने साहित्य सङ्गम र मुक्तक मञ्च मकवानपुरका अध्यक्ष डीबी बर्तौलाले मुक्तक, सदस्य सागर तिमिल्सिनाले मुक्तक गायन र हाइकु वाचन तथा अर्का सदस्य सुबास सजलले गजल र मुक्तक वाचन गर्नुभयो ।

प्रादेशिक प्रमुख ई. मनोज यादव, कुलेखानी तथा अन्य आयोजनाका प्रमुखहरूले मन्तव्य राख्नुभएको कार्यक्रममा ई. सुरज रेग्मी, शालिकराम बराल, लक्ष्मी बर्तौला, बलराम पुडासैनी आदिले रचना वाचन गर्नुभयो । प्रतिष्ठानका अध्यक्ष पूण्य घिमिरे साहित्य सर्जक हुनुका साथै नेपाल विद्युत प्राधिकरणका पूर्व कर्मचारी समेत हुनुहुन्छ । पूण्य घिमिरे र रत्नकला घिमिरेद्वयका सुपुत्र ई. चेरब घिमिरेले अल्पायुमैं विद्युत आयोजना निर्माणका क्रममा दुर्घटनाका कारण निधनपछि उहाँको स्मृतिमा स्थापित प्रतिष्ठानले विभिन्न खालका कार्यक्रमहरू गर्दै आइरहेको छ ।

कुलेखानी प्रथम, द्वितीय जलविद्युत केन्द्र, बागमती प्रदेश प्रादेशिक डिभिजन कार्यालय, हेटौंडा, हेटौंडा ग्रीड महाशाखा, ढल्केवर, इनरूवा ४०० केभी प्रशारण लाइन, २२०/१३२ केभी हेटौंडा र इनरुवा सवस्टेसन, एन.इ.ए. इन्जिनियरिङ कम्पनी लिमिटेड ट्रेड टावर थापाथलीद्वारा विभिन्न सत्रमा विभाजित गरी सहजीकरण गरिएको कार्यक्रममा रचना वाचनलगायतका साहित्यिक कार्यक्रमको सत्रलाई विद्युतकर्मी साहित्य समाजका सचिव विष्णु आचार्यले सहजीकरण गर्नु भएको हो । 

झरनाको बदामसँग कविता सम्पन्न

मकवानपुर । मकवानपुरको अग्रणी साहित्यिक संस्था झरना साहित्यिक परिवार झसाप, मकवानपुरको आयोजनामा बदामसँग कविता कार्यक्रम सम्पन्न भएको छ । झसापको २९८ औँ साहित्य शृङ्खलाका अवसरमा शुक्रबार हेटौँडा–१७ मा रहेको जुरेथुम पर्यटकीय पार्कमा करिब तीन दर्जन सर्जकहरुले बदाम र सुन्तला खादै कविता वाचन गर्नुभएको संस्थाका अध्यक्ष विश्वनाथ सञ्जेलले जानकारी दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथिको रुपमा मन्तव्य राख्नुहुदै नियात्राकार निर्मोही व्यासले यात्राले काव्य लेखनमा सहजता प्रदान गर्ने भन्नुहुदै झरनाले राम्रो काम गरीरहेकोमा संस्थाको प्रशंसा गर्नुभयो ।

कार्यक्रममा संस्थाका संरक्षक रमेशमोहन अधिकारी, सल्लाहकार दीपक गौतम, साहित्यकार समिर पाख्रिन, पुरुषोत्तम आचार्य, डिबि बर्तौला, सानु खनाल, सुवास खनाल, भावना सापकोटा, बैकुण्ठ लामिछाने, सागर तिमल्सिना, सुबास सजल, किशन पोडेल, गोकर्ण लामा, स्वस्तिका बानियाँ, देव निर्दोष, गायत्री रुपाखेति, विश्व राई, सन्तराम राई, अजर फुयाँल, ओमभक्त भण्डारीलगायत सर्जकहरूले रचना बाचन गर्नुभएको थियो ।

कार्यक्रममा संस्थाका संरक्षक उद्धव प्रसाद सापकोटा, सिस्नुपानी मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने, मुक्तककार मिथिला अधिकारी, साहित्य सङ्गमका कोषाध्यक्ष मेनु तिमल्सिनालगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा झरना साहित्यिक परिवारले प्रकाशन गर्दै आएको झरना साहित्यिक अर्धबार्षिक पत्रिका ‘झरना’ को ४० औँ अङ्क पनि विमोचन गरिएको थियो ।

कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष विश्वनाथ सञ्जेलले गर्नुभएको थियो भने सहजीकरण संस्थाका सचिव मसान उपासकले गर्नुभएको थियो ।

झसाप, मकवानपुरले हरेक महिना नियमित साहित्य शृङ्खला गर्दै आएको छ । झसाप, मकवानपुरले आगामी महिना बकैया गाउँपालिकामा बिद्यार्थीहरूका लागि चित्रकला तथा हस्तकलासम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने संस्थाका सह–सचिव सन्तराम राईले बताउनुभयो ।

 

शुक्रबार झरनाले बदामसँग कविता कार्यक्रम गर्दै

मकवानपुर । मकवानपुरको अग्रणी साहित्यिक संस्था झरना साहित्यिक परिवार झसाप, मकवानपुरको आयोजनामा बदामसँग कविता कार्यक्रम आयोजना हुने भएको छ । झसापको २९८ औँ साहित्य शृङ्खलाका अवसरमा मकवानपुरका सबै सर्जकहरुले बदाम र सुन्तला खादै कविता वाचन गर्नुहुने संस्थाका अध्यक्ष विश्वनाथ सञ्जेलले जानकारी दिनुभयो ।

पौष २७ गते शुक्रबार हेटौँडा–१७ मा रहेको जुरेथुम पर्यटकीय पार्कमा बिहान १०:३० बजे कार्यक्रम हुने उहाँले जानकारी दिनुभयो ।

झसाप, मकवानपुरले हरेक महिना नियमित साहित्य शृङ्खला गर्दै आएको छ । झसाप, मकवानपुरले अघिल्लो महिना बागमति गाउँपालिकाको सूर्य माविमा साहित्यिक प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको थियो ।

मदन पुरस्कार विजेता पूर्व डीआईजी शाहलाई ३ वर्ष जेल सजाय

मकवानपुर । नेपाल प्रहरीका पूर्व डीआईजी महेशविक्रम शाहलाई भ्रष्टाचार मुद्दामा तीन वर्ष जेल सजाय भएको छ । मदन पुरस्कार विजेतासमेत रहेका साहित्यकार शाहलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा सजाय निर्धारण गरेको हो ।
विशेष अदालतले यसअघि नै भ्रष्टाचार मुद्दामा उनीसहित दुई जना दोषी ठहर गरिसकेको थियो । बुधबार विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवर, सदस्य तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले सजाय निर्धारण गरेको हो ।
क्षेत्रीय तालिम प्रहरी कार्यालय प्रमुख रहेका बेला रकम हिनामिना गरेको प्रकरणमा तत्कालीन डीआईजी शाह र पूर्व प्रहरी नायब निरीक्षक (सई- लेखापाल) दीपेन्द्रप्रसाद पनेरुलाई दोषी ठहर भएका थिए ।
शाहलाई बिगो र बिगो बमोजिम जरिवाना पनि भएको छ । १६ लाख ६९ हजार ४२ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर भएको थियो। उक्त रकम नै बिगो र तीन वर्ष कैद सजाय हुने फैसला भएको हो ।
यस्तै सोही प्रकरणमा पूर्व प्रहरी नायब निरीक्षक (सई–लेखापाल) दीपेन्द्रप्रसाद पनेरुलाई पनि तीन वर्ष कैद र १६ लाख ६९ हजार ४२ रुपैयाँ जरिवाना गरेको छ ।

मेनुकाले गीत नै बिर्सिएपछि…

पौष २४, मङ्गलबार मकवानपुर । इन्डियन आइडलमा प्रतिस्पर्धा गरिरहेकी गायिका मेनुका पौडेलको गायकीले भारतीय सेलिब्रेटीसहित धेरैको प्रशंसा पाइरहेको छ । इण्डियन आइडलको आइतबार रातिको एपिसोडमा बाहरिनबाट जोगिँदै भने उनी ‘बटम चार’ मा परेकी हुन् । हरेक श्रृङ्खलामा निर्णायकहरूको प्रशंसा र ‘स्ट्यान्डिङ ओभेसन’ पाउँदै आएकी उनले पछिल्लो प्रस्तुती ‘तेरा साया साथ होगा’ गीत गाउँदागाउँदै ‘लिरिक्स’ बिर्सिइन् । गायनकै क्रममा उनले ‘भोकल क्र्याक’ भएको बताइन् । जजले तिमी सक्नेछौ मेनुका भनेपछि पनि उनले निरन्तरता दिन सकिनन् । निर्णायक विशाल डडलानीले अन्तरा फेरि सुरु गर्न सल्लाह दिए तर सकिनन् । 

अर्की निर्णायक श्रेया घोषालले उनलाई सहयोग गर्दै गीत गाइन् । तर उनले आफूले गाउन नसक्ने र आफ्नो मुटुको चाल (हार्ट बिट) बढेको बताइन् । उनले पानी मागेर पिइन् । उनलाई सान्त्वना दिन सञ्जय दत्तसँगै जजहरु स्टेजमा पुगे । स्टेजको छेउमा लगेर चिकित्सकले रक्तचाप जाँचे। डाक्टरले प्रस्तुतिलाई निरन्तर राख्न सुझाव दिएपछि कार्यक्रम अघि बढ्यो। त्यसपछि मेनुकाले सहज हुँदै गीत पुरा गरिन् । निर्णायक घोषालले गायनका लागि योग्य रहेकी र उनले संसारभरबाट प्रशंसा पाइरहेको बताइन् । तथापि यस घटनालाई इन्डियन आइडलले फरक शैलीले ‘पब्लिसिटी’ गरेको भनेर चर्चा पनि भइरहेको छ भने अर्कातिर फरक भाषाका गीत, सङ्गीतका धुनहरू याद गर्नु कठिन रहेको भनेर उनलाई ढाडस दिनेहरू पनि भेछिन्छन् । 

मेनुका पौडेलको स्वरलाई ‘सङ्गीतकी साक्षात् स्वरूप’ भनेर चर्चा गर्दै भारतमा लता मङ्गेश्करसँग तुलना गर्ने गरिएको छ । उनले प्रभासको चलचित्र ‘सलार’ का लागि गीत रेकर्ड गराइसकेकी छिन् । उनलाई अन्य चलचित्रमा गायन र अभिनयको प्रस्ताव आइसकेको छ । नेपाल आइडलमा सर्वाधिक हेरिएको (२.६ मिलियन भ्युज) उनको अडिसनमा उनले पहिलो गीतमा नारायण गोपालको ‘तिम्रो जस्तो मुटु मेरो पनि…’ गाएपछि निर्णायक न्ह्यू बज्राचार्यले दोस्रो गीत गाउन भनेपछि नारायण गोपालकै ‘पोखिएर घामको झुल्का….’ गीत ३ पटक गाएकी थिइन् । अन्ततः उनी पहिलो सिजनमा उनी शीर्ष ११ मा पुगेकी थिइन् । उता इन्डियन आइडलको अडिसनमा भने उनले लगान फिल्ममा रहेको लता मङ्गेस्करको आवाजमा रहेको ‘ओ पालन हारे निर्गुन व न्यारे (१.१ मिलियन भ्युज)’ गाएर उच्च सम्मानका साथ ‘गोल्डेन माइक’ प्राप्त गरेकी थिइन् । नवसाहित्य डट कम परिवार मेनुका पौडेलको आगामी यात्राको लागि शुभकामना प्रकट गर्दछ ।

भीमविराग प्रतिष्ठान र गुन्जनको संयुक्त आयोजनामा कवि गोष्ठी हुँदै

पौष २३, सोमबार मकवानपुर । भीम विराग साहित्य कला प्रतिष्ठान नेपाल र गुन्जन नारी साहित्य संस्थानको संयुक्त आयोजनामा कवि गोष्ठी आयोजना हुन लागेको छ । कार्यक्रममा मकवानपुरमा रहनु भएका सर्जकहरुका साथै आमन्त्रित सर्जकहरूले कविता वाचन गर्नुहुनेछ महासचिव छवि अनित्यले बताउनुभयो । 

पौष २७ गते शुक्रबार पल्पसा प्याराडाइज हेटौंडामा हुने कार्यक्रममा गुन्जनकी अध्यक्ष जलेश्वरी श्रेष्ठका साथै साहित्यकारहरू रेनुका सोलु, सुलोचना मानन्धर, सन्ध्या पहारी, रुकु कार्की, हिरण्यकुमारी पाठक, सुस्मिता नेपाल, पद्मावती सिंह, रजनी ढकाल, रीता खत्रीको उपस्थिति रहने उहाँले जानकारी दिनुभयो ।