- नवसाहित्य
संप्रस पौडेल
कवि
देशको ग्यास्ट्रिक बिग्रिएको छ ।
कतै ठुस्स गन्हायो भनेर
नाक थुनेर ठिक नहुने,
कतै डुङ्ग गन्हायो भनेर
रूमालले छोपेर नछेकिने ।
कटकट पेट काट्यो भनेर
भित्रभित्रै हुण्डरी आयो भने
चट्याङ, आँधी, ज्वालामुखी जे चलोस्
घाँटीघाँटी अमिलो पानी हुलुक्क भयो भन्दैमा
बान्ता गर्दा ठिक भएन भन्दैमा
गुन्दरगानो र बेलौतीका बोक्राले सहेन भन्दैमा
दिमागमा फित्ते जुकोझैँ सत्ता, सदन, भीड र खोक्रा आदर्शको किर्ना लागेपछि
नाइटोमा हिङ दलेर देश किन सुध्रन्थ्यो ?
सिटामोल नपुगेको गाउँ छ,
अझै छन् झाडापखालाले मर्नेहरु
८० वर्षदेखि सिकाइएका छन् हात धुन
एउटा सरकार पिण्ड शेलाएर हात धोएर हिँडेको छ,
अर्को सरकार हात धोएर पिण्ड भाग लगाउन डाडुपन्युसहित आइपुगेको छ
मतियारहरू जिब्रो हतियार बोकेर तयार छन्
होमा हो मिलाउन, हामा हा मिलाउन
एउटा कोखाइकोखाई गर्दोछ,
अर्को क्वाप्प खोसेर खाँदोछ ।
देश चलाउने यस्तो व्यस्त मेलोका बिच
कर्मीहरू खेतमा छन्, स्कुलमा छन्, फ्याक्ट्रीमा छन्
सडकमा छन्, हिलोमा छन्, धुलोमा छन्,
घामका राप र हिउँका चाप सहेका छन्
घनटाउके गिदीमा घनले हिर्काउँदा नहल्लिने
बज्र ईच्छा, चट्टानी लालचहरू
किन सुध्रनुपर्थ्यो बाङ्गाटेढा कविता सुनेर ?
कोही कर्मी विदेशमा छन्
रेमिट्यान्सको ‘पराग’ ओसारिरहेछन्
काढीसकेको हो, अर्कैले उहिल्यै मह
यिनलाई पालैपालो ‘रानो’ तोकेर चाख्नुछ
उस्तैगरी फेरिएको र फेरिनेवाला छ सत्ता
तर थाहाको जिल्लामा बसेर
पाउनुपर्ने हो यत्ति त थाहा,
नचिल्ने मौरीले दिँदैन मह ।
अघिल्लाका रछाने गोडाले गिजोलेको चाका चाटेर
जिब्रोमा बोकेर आफ्ना भाइभारदारलाई चखाउनु छ
तब न ऊ जुठो खाएर जयजकार गरोस्
उसको ईच्छा न हो-
ऊ हात थापोस्, मालिक खकार गरोस् ।
आखिर आश गरिएको सत्ताको निर्णय किन अमिलो हुन्छ हँ
कालो कागको सेतो फूल,
कोइली र कागको गठबन्धन
सत्ता र सदनहरूमा पूरानै फिल्म दोहोरिएको छ
– क्या देश तेरा बापका है
– ओ कभी नही सुधरेगा साला
भर्खरै
संसदको भान्छाबाट पिरो धुवाँ सुकुम्बासी बस्तिमा पस्यो
हल्ला धेरै मच्चाएकोमा महानगरको एम्बुलेन्सले आगो ताप्यो
ग्यासच्याम्बरभित्र छिर्दाछिर्दै एउटा आवाज टड्कारो सुनियो
– देशको ग्यास्ट्रिक बिग्रिएको छ ।





