ज्योति जङ्गल

कवि

सत्य हो,
सत्य झुट बोलिरहेको छैन,
यो घरको खाँवाहरूमा
मेरो करङ उभिएको छ ।

चारभित्ता नउठुन्जेल
घर
मेरै हातखुट्टाको खाँवामा थियो,
छानो मेरो काखमा थियो,
ईश्वर मेरो हत्केलामा घुम्थ्यो ।

यो घरको जग मेरो पैतालाबाट उठेको छ,
घर बस्नुअघि
फुलबारी मेरा आँखा थिए,
फकिरहरू म वरिपरि घुम्थे ।
घर उठेपछि,
फकिरहरू देवता भएका छन्,
र देवासन अग्लिएको छ ।

जतिजति अग्लो उठिरहेको छ घर
उतिउति कैद भएको छ मेरो पाइला,
यो उँचो पर्खाल उछिनेर
सूर्य मसम्म आइपुग्दैन
अँध्यारो भएको छ आँखा ।

सत्यसत्य,
यो घर रङ्गिएको चमकले
मेरो अनुहारको आभा खोसेको छ,
पुछेर यिनै चोटाहरू
मेरो छाला झुत्रो भएको छ ।

पर्दाभै हल्लदाहल्लदैं मेरो त्याग इष्र्याहा भएको छ,
तरङ्ग टुटेकै आवाज पनि कतै ठोकिन्छ र उठ्छ चट्याङको बिजुली,
मुक जिब्रोमा कम्पन उठ्छ बद्लाको
यो मौन शान्तिमा, आँधी आउँने सङ्केतको दम्भ बोल्छ
मेरो बोलीबाट पुछिएको ललित, विद्रोहको बारुद बटुल्छ ।

के म घर भत्काएर
अब मुक्तिको उद्घोष गरुँ ?

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन