- नवसाहित्य
नवसाहित्य डटकम
संवाददाता
श्रावण २८, सोमबार
नवसाहित्य अनलाइन । एपेक नेपालद्वारा प्रदान गरिने विश्व-ज्योति काव्य-पुरस्कार २०८१ का लागि कविहरूलाई आफ्नो अप्रकाशित कविता सङ्ग्रहको पाण्डुलिपि पठाउन आग्रह गरिएको छ ।
२०८१ पुस मसान्तसम्म एपेक नेपालको कार्यालयमा हार्डकपी वा इमेलमार्फत् पिडिएफ पठाउन सकिने एपेक नेपालले सूचनामा जनाएको छ भने छनोट भएको सर्वोत्कृष्ट पाण्डुलिपिलाई एपेक नेपालको वार्षिकोत्सव (चैत्र २५ गते) का अवसरमा लोकार्पण गरिने सूचनामा जानकारी गराइएको छ ।
एउटा पनि कविता सङ्ग्रह प्रकाशित नभएको र ४० वर्ष ननाघेको कुनै पनि युवाले नेपाली भाषामा लेखेको कविता सङ्ग्रहको पाण्डुलिपि पठाउनुपर्ने एपेक नेपालका अध्यक्ष विश्वविमोहन श्रेष्ठले बताउनु भएको छ । साधनारत युवा कविहरुका लागि पाण्डुलिपि तयारी गर्नलाई समय पर्याप्त पुगोस भन्ने अभिप्रायले सुचना यथासमय सार्वजनिक गरिएको उहाँले जानकारी दिनु भएको छ ।
एपेक नेपालले पाण्डुलिपिका लागि ‘विश्व-ज्योति काव्य पुरस्कार’ साथसाथै ५१ हजार राशिको ‘विश्व ज्योति साहित्य सम्मान’ सम्मान दिने घोषणा गरेको छ ।
एपेक नेपाल लेखक, पत्रकार र सम्पादकहरूको लेखन चौतारीका रूपमा विगत २५ वर्षदेखि सक्रिय संस्था हो । काठमाण्डौँबाहिर समेत काव्य उत्सव आयोजना गरिरहेको यो संस्थाले विगतमा ‘उहाँलाई मन परेको कविता’ शृङ्खलामार्फत् अनुज कविहरूद्वारा अग्रज कविका र अग्रज कविहरूले अनुज कविका कविताहरू वाचन गरिएको थियो ।
किताब जात्रामार्फत् चर्चा पाएको यस संस्थाले हालसालै वरिष्ठ कविहरूका साथै ७ प्रदेशका १४ कविहरूलाई ‘एपेक राष्ट्रिय काव्यमहोत्सव २०८१’ कार्यक्रममार्फत् कविता प्रस्तुति गराएको छ ।






