- नवसाहित्य
अभय श्रेष्ठ
कवि
श्रावण ३१, बिहिबार
नवसाहित्य अनलाइन । रूपचन्द्र विष्टलाई सम्झन कुनै अवसर जरुरी छैन । उनका काम र विचार सदैव सम्झनलायक छन् । हो, मैले उनलाई भेट्न पाइनँ । भेटेको भए पनि सातै लिन्थे होलान् । किनभने उनी पत्रकारको प्रवृत्ति र मानसिकता राम्ररी बुझ्थे र ठाडै दपेट्थे रे । तथापि मेरो पत्रकारिता जीवनको १८ वर्षमा सबैभन्दा खट्कँदो एउटा पक्ष उनलाई भेट्न नपाउनु, उनीसँग अन्तर्वार्ता गर्न नपाउनु हो । जे सोच्ने, त्यही गर्ने, जसको राजनीति गर्र्यो, उसैको स्तरमा बाँच्ने उनको जीवनशैली थियो । तत्कालीन राष्ट्रिय पञ्चायतमा जनपक्षीय विधायक विष्टको अंगरक्षक उनका साख्खै भतिजा युद्धकलाका राष्ट्रिय खेलाडी रणसंग्राम विष्ट थिए । उनले विष्टसँगै मकवानपुरका गाउँगाउँ र देशका कुनाकाप्चा चहारेका थिए रे । त्यसैताक प्रशिक्षणका लागि जापान जाने कोटा आउँदा त्यसमा सिफारिस गरिदिन उनले काकालाई आग्रह गरे । काकाले तुरुन्तै सिफारिस लेखिदिए । तर, त्यसको बेहोरा यस्तो थियो, ‘निज निवेदनकर्ता योग्य भए निजलाई सिफारिस गर्छु । निजभन्दा अरु योग्य भए उसैलाई सिफारिस गर्छु ।’ निष्पक्ष सक्रियताको यस्तो अनुपम अभ्यास आत्मज्ञानलाई सबैभन्दा माथि राख्ने मान्छेले बाहेक कसले गर्न सक्छ ?
राष्ट्रिय पञ्चायतका सदस्य रहँदा विष्टलाई राजाका दूत वीरेन्द्रकेशरी पोखरेललगायत एक दर्जन व्यक्तिले मन्त्री बन्न प्रस्ताव पठाएका थिए । प्रस्तावको खिल्ली उडाउँदै उनले भने, ‘रापस जनताले पठाएको प्रतिनिधि हो, मन्त्री राजाले बनाउने र व्यवस्था चलाउने ठेकेदार हो । म जनप्रतिनिधि, राजाको भाट हुन र व्यवस्था टिकाउन मन्त्री हुने कुरै छैन ।’ परिणामस्वरूप उनलाई जेल हालियो । राजा वीरेन्द्र प्रधानमन्त्री मरिचमान सिंहसित बारम्बार भन्थे रे, ‘उनको कुरा विचारणीय छ ।’ जेलमा पनि प्रधानमन्त्री सिंहबाटै ‘महाराजको इच्छाअनुसार रूपचन्द्रले रोजेकै मन्त्रालय वा सबै मन्त्रालय हेर्ने विनाविभागीय मन्त्री’ बन्न प्रस्ताव आयो । जबाफमा उनले भने, ‘जनप्रतिनिधि रूपचन्द्रलाई गरिबमारा, मुलुकमारा, बजेटमारा मन्त्रीको हुलमा सामेल हुने जनादेश छैन । श्रम गर्ने किसान, मजदुर, नारीस कमाइ खाने शोसक, सामन्त, पुँजीपति । यस्तो अपराधी व्यवस्था बदल्ने, अनिमात्र मन्त्री हुने ।’
रूपचन्द्रको यो शैली गणतन्त्र नेपालमा किंवदन्तीजस्तै लाग्छ । मन्त्री हुन २०१५ सालमै विश्वबन्धु थापाले कस्तो कृत्य गरेका थिए भन्ने बीपी कोइरालाले ‘आत्मवृत्तान्त’मा उल्लेख गरेका छन् । मन्त्री पदकै लागि गणतन्त्र नेपालका नेताहरूले केसम्म गरे भन्ने प्रस्ट छ । तिनले विष्टबाट सिके देशको राजनीतिक संस्कारमै कायापलट हुन सक्छ । रूपचन्द्रका सहयोगी तथा अधिवक्ता रामनारायण बिँडारीका अनुसार विकास, निर्माणबारे उनी जनतालाई भन्थे, ‘तरकारीजति बजेट मन्त्रीले लिन्छन् र दरबारमा बुझाउँछन् । बेसारजति बजेट विकासमा लगाउँछन् । विकास सरकारले गर्ने हो, त्यो अपराधी र माफियाको कब्जामा छ । त्यसैले तिम्रा गाउँको विकास तिमी आफैँ गर र यो अपराधी व्यवस्था बदल्न सहयोग गर ।’ विष्टको विचार थियो, राजनीति बहुदलीय, प्रशासन निर्दलीय हुनुपर्छ । राजनीतिलाई निर्दल बनाउनै मिल्दैन किनभने विविध विचारबाट राजनीति चल्छ । प्रशासन दलीय हुनै हुँदैन किनभने यो देशको हो । दलका नेता, कार्यकर्ता नै प्रशासनिक अधिकारी भएपछि निष्पक्ष काम हुनै सक्दैन । जनताभन्दा उसलाई दलका कार्यकर्ता, आफन्त र स्वार्थ ठूलो हुन्छ ।
नयाँ मन्त्रिपरिषद् बन्नेबित्तिकै संस्थानहरूमा राजनीतिक नियुक्ति सुरु भइहाल्छ । पहिलेका अध्यक्ष वा महाप्रबन्धकका ठाउँमा नयाँ मन्त्रीको दलका व्यक्ति आउँछन् । प्रशासन पूरै त्यही दलको कब्जामा पुग्छ । त्यही दलका व्यक्तिले बढुवा खान्छन्, नियुक्ति पाउँछन् । यस्तोमा देश दलका कार्यकर्ता वा अवसरअनुसार दल बदल्ने चाटुकारहरूको कब्जामा पुग्छ । यस्तै व्यवस्थामा सम्पादकको कुर्सीमा बगरे र बगरेको काम गर्न सम्पादक बाध्य हुने हुन् ।
रूपचन्द्र अधिकांश मान्छेलाई ‘तँ, भाते, कुकुर’ भनेर दपेट्थे । सुन्दा अत्यन्त कटु लाग्ने यी सम्बोधन आममान्छेको मनोविज्ञानविरुद्ध थिए । आत्मसम्मानै नभएको मान्छे पनि अरुले आफूलाई सम्मान गरोस् भन्ने चाहन्छ । बिँडारीका अनुसार विष्ट तर्कविहीन थिएनन् । उनी हातमा ठेला उठेका श्रमिक, किसान र मजदुरलाई ‘तपाईँ’ भन्थेँ । दुनियाँले ‘जीहजुरी’ गर्ने सरकारी अधिकारी, सामन्त र मालिक वर्गलाई ‘तँ, भाते, कुकुर’ भनेर हकार्थे । मानिसहरू सामान्यतया व्यक्तिको उपस्थितिमा ‘तपाईँ’ र अनुपस्थितिमा ‘तँ’ सम्बोधन गर्छन् । उपस्थितिमा होस् वा अनुपस्थितिमा, ‘तँ’ लायकलाई ‘तँ’ र ‘तपाईँ’ लायकलाई ‘तपाईँ’ भन्नुपर्छ भन्ने उनको ठाडो तर्क थियो ।
‘भाते’ र ‘कुकुर’ सम्बोधनमाथि पनि उनको तर्क कम थिएन । भातेको अर्थ हो, परिश्रमबिना भात पचाउने । ब्रह्माण्डमा सबैभन्दा विवेकशील मानिएको मान्छे विवेक गुमाएपछि भाते हुन्छ । ऊ शक्तिको आडमा शोषण गर्छ, पशु–व्यवहार देखाउँछ । हावा, पानी, घाम, माटो, वर्षा प्रकृतिले दिएका सार्वजनिक उपहार हुन् । सार्वजनिक सम्पत्ति निःशुल्क उपयोग गरेपछि कामचाहिँ नितान्त व्यक्तिगत गर्नु हुँदैन, सार्वजनिक हितकै गर्नुपर्छ । घाम, पानी, हावा, माटोको तिरो तिर्न कम्तीमा दिनको पाँच मिनेट सत्य थाहा पाउन, पाँच मिनेट थाहा पाएको सत्य फैलाउन र अर्को पाँच मिनेट फैलाएको थाहा कार्यान्वयन गर्न सदुपयोग गर्नुपर्छ । बल्ल ‘भाते’को कलंकबाट मुक्ति पाइन्छ ।
कुकुरको अर्थ हो, विवेक प्रयोग नगरी पक्ष, विपक्षमा लाग्ने । घुस दिने, आफूलाई फाइदा हुने काम गरिदिने, झुटो प्रशंसा र चाकरी गर्नेका पक्षमा सत्य र ठीकलाई मिचेर पनि लाग्नु कुकुर प्रवृत्ति हो । कसैका पक्षमा नलाग्ने, सत्य र ठीकका पक्षमा लाग्ने, त्यसैका लागि सक्रिय हुने हो भने बल्ल ‘कुकुर’ कलंकबाट मुक्ति पाइन्छ । बिँडारीका अनुसार यी मान्छे बिउँझाउन गरिएको थाहा अभियानका केही उपाय थिए । मान्छेको स्वभाव जस्तो छ, त्यस्तै सम्बोधन गर्न सानोतिनो हिम्मतले सकिन्न । यस्तो व्यवहार देखेर विरोधीहरू उनलाई ‘बहुला’ भन्थे । जबाफमा उनी भन्थे रे, ‘मेरो नाम बहुला, तेरो बुद्धि बहुला !’






