डा. देवी पन्थी

समालोचक

गजल र चारुमा प्राविधिक भिन्नता यस प्रकार रहेका छन् ।
मतलालाई = प्रारम्भ
मक्तालाई = शेष
चारुमा काफियालाई = आदि अनुप्रास,
रदिफलाई= शेष अनुप्रास
शेरलाई = थुङ्गा,
मिसरा एउलालाई = ऐना
मिसरा एसानीलाई = प्रतिबिम्ब
मिसरालाई = पंक्ति
बहरलाई = छ्न्द/ लय
सबै भन्दा राम्रो थुङ्गालाई गुलाफ गुच्छा भनिन्छ
प्रारम्भमा एउटा गजल र एउटा चारु हेरौं
यहाँ हजज मुसम्मन सालिम (वजन १२२२,१२२२,१२२२,१२२२)मा कहिएको एउटा गजल हेरौँ

गजल
प्रियालाई नभेट्दा मन त्यसै तड्पिन्छ किन होला
उनीलाई भेटेपछि मुटु मेरो तर्सिन्छ किन होला।

यिनै माया सँगै बस्दा धेरै हुन्छिन् केही दिन मै
उनी छोडी कतै टाढा गए एक्लिन्छ किन होला ।

यतै राम्री उतै राम्री डुलेका छन् सडक छोपी
यिनैलाई देखेपछि मन मेरो बहकिन्छ किन होला ।

कुमारीका खुला ती केश हावामा उडेका छन्
मेरो यो मन उनैका केशमा अल्झिन्छ किन होला ।

जता हेर्‍यो उतै उनको झझल्को आउने गर्छ
जेमा आँखा लगाउँछु त्यो त्यसै टाडिन्छ किन होला।
• देवी पन्थी 

त्यस्तै अब यहाँ एउटा चारु हरौं।

चारु ( झाउरे लय)
नारीले पीडा सहेर यत्रो संसार देखाए
आवारा कति पुरुष-लाई सज्जन बनाए

आमाको घर बाबाको बारी दाजु र भाइको
पराई घर बिरानो मान्छे बिस्तारै रिझाए

धेरैले भन्छन् नारीको घर हुँदैन भनेर
लौ भन नारी बिनाको घर कसले ठडाए

इश्वर पुग्न नसक्ने हुँदा हरेक घरमा
उनैले नारी बनाई घर-घरमा पठाए

नारीको उच्च सम्मान गर्ने योजना ल्याउँदा
लगाई झुठा आरोप ढ्याँग्रो कतिले ठटाए
• डा. देवी पन्थी

चारु मूलतः नारी मैत्री विधा हो भने बहर प्रयोग नगरी गजलको ढाँचामा सबै पंक्तिमा अक्षर बराबर गरी , शास्त्रीय या लोकछन्द प्रयोग गरि रचिएका रचनाले पनि चारुमा सम्मानगरी, संरक्षण प्राप्त गरेका छन् । चारुको अर्को महत्त्वपूर्ण उद्देश्य बाटो बिराएर अलमलमा परेको विधालाई राजमाएमा ल्याउनु हो। अर्थात् चारु गजल शुद्धीकरण अभियानको मूल मन्त्र हो।

गजल प्राविधिक विधा हो। १३८ वर्षको नेपाली गजलको इतिहासमा पछिल्लो समयमा आएर गजल बारे व्यापक विवाद चर्केको छ। आश्चर्यको कुरा के भने यो विवाद खासगरी बहर जान्ने र नजान्नेका बीच सीमित छ। गजलको अनिवार्य तत्व बहर नजान्ने समूहले गजलमा बहर चाहिन्न भन्ने र बहरको ज्ञान भएकाले गजलमा बहर विश्वव्यापी मान्यता हो भन्ने बहस चुलीमा पुगेर ओरालो लाग्दै गरेको बेला यो लेखिरहेको छु। नेपालमा गजलमा पीएचडी गरिसकेका र गरिरहेका थुप्रै विद्वान हुनुहुन्छ तर उहाँहरू मौन हुनुहुन्छ । मौन बस्नुको अर्थ अज्ञानता हो या शालीनता बुझ्न गाह्रो छ। विश्वव्यापी मान्यताले या गजलको सिद्धान्तले गजल बहर मै हुनुपर्ने मान्यता बोकेकाले गजल बहर मै लेखिनु या कहिनु पर्छ भन्दै चारु प्रतिष्ठान नेपालले “गजल शुद्धीकरण अभियान ” नै संचालन गर्दै आइरहेको छ।
गजलको विषयवस्तु प्रेमिल हुने हुँदा गजललाई सोझै प्रजातान्त्रिक , प्रगतिशील र प्रतिगामी भनेर विश्लेषण गर्न गाह्रो छ। यो व्यंग्य रसमा लेखिने या कहिने हुँदा नेपाली गजलमा प्रगतिशील चेतको खोजी बालुवामा सुनको खोजी गर्नु बराबर मान्नुपर्छ । गजल शब्द प्रेम या प्रणय भावले छोपिएको शब्द हो। गजल शब्दको अर्थ नारीसँग प्रेमका कुरा या प्रणय वार्ता हुन्छ। गजल फारसी शब्द हो। यो सातौं शताब्दीमा फारसमा जन्मेर इरान, इराक, पाकिस्तान हुँदै तेह्रौं शताब्दीमा भारत प्रवेश गरेको साहित्यको अति संकीर्ण एवम् नारीलाई पुरुषहरूको वासना र खेलौनाको साधन सम्झिने सामन्त या राजामहाराजाह्हरूको प्रिय विधा हो। मोतीराम भट्टले बिसं १९४२ अर्थात् आजभन्दा १३८वर्ष पहिले गजललाई भारतको बनारसबाट नेपाल ल्याउँदा बहरे गजल नारी केन्द्रीत अर्थात् नारी अमैत्री विधाको रूपमा नेपाल भित्रिएको पाइन्छ। भारतमा दुष्यन्तकुमारले (१९३३-१९७५) गजलको विषय नारीबाहेक समाजका अरू विषय पनि हुनसक्छन् भन्ने आवाज निकालेपछि अन्य विषय समावेश गर्ने चेत जागेको हो। नारी बाहेक अन्य विषय समाजका विकृति , विसंगति , बेथिति , भ्रष्टाचार , बलात्कार , देशभक्ति , पवित्र प्रेम आदि हुन सक्ने उनको संकेत थियो। दुर्भाग्यवश उनको सन् १९७५ मा देहान्त भयो। तसर्थ प्रगतिशील सोंचका साथ नारी बाहेकका विषयवस्तु भएका प्रणय नभएका गजल जस्ता देखिने रचनाको नाम के राख्ने भन्ने कुराको समाधान दुष्यन्तले चाहेर पनि दिन सकेनन् । गजल शब्दको अर्थका कारणले गर्दा नारी बाहेक विषयवस्तु राख्दा शीर्षक पनि परिवर्तन गर्नु पर्ने हुन्छ र प्रजातान्त्रिक या प्रगतिशील सामग्री समावेश गर्न सजिलो हुन्छ। यिनै तर्कलाई आधार बनाएर विषयवस्तु नारी भए गजल, पुरुष भए चारु, पवित्र प्रेम भए राग र व्यंग्य, विकृति , विसंगति भए विराग नाम दिएर गजलमा प्रगतिशील चेतमा डोर्‍याउने प्रयास गरिएको हो। यो सोंच र प्रयोग महिला मैत्री र समावेशी छ। यसले गजललाई यौनगन्धबाट पवित्र र यथार्थ दुनियाँमा विचरण गराएको छ। समाजका सबै पहलुलाई समावेश गरेको छ। नारीलाई पुरुष सरह सम्मान गरेको छ।

विसं १९४२ ताका मोतीराम भट्टले गजल नेपाल भित्राउँदा बहरे गजलको विषय नारी र प्रणय नै थियो। शम्भुप्रसाद ढुँगेल र गेहेन्द्रबहादुर जिगरले पनि बहरमा लेखे र गजलको विषयवस्तु नारी केन्द्रित प्रणय नै बनाएका थिए। भीमनिधी तिवारीले गजललाई बहरबाट हटाए र अश्लील पनि बनाए। यही अश्लीलताका कारणले गजल नेपालमा बदनाम भयो । गजल लेख्ने, पढ्ने र सुन्नेलाई समाजले राम्रो नजरले हेर्न छोड्यो । प्रगतिशील चेत शून्य प्रायः भयो। पुनर्जागरण कालमा ज्ञानुवाकर पौडेलले पनि भीमनिधी तिवारीको बाटो पकडे , जसले गर्दा नेपाली गजलमा प्रगतिशील विचार आउन विलम्ब भयो। विसं १९९८ देखि २०३५ सम्म सुषुप्त अवस्थामा रहेको गजल विसं २०३७ पछि मनु ब्राजकी, धर्मोगत शर्मा तूफान , ललीजन रावल , डा. घनश्याम न्यौपाने परिश्रमी, बुँद राना, टक गुरुङ, हुसेन खाँ, श्रेष्ठप्रिया पत्थर, देवी पन्थी आदिको कारणले निरन्तरता पायो । प्रजातान्त्रिक र प्रगतिशील गजल भन्दा चारुमा भगवान र भूतको उपस्थिति नकार्ने, सामन्ती विचारको खण्डन गर्ने, नारी पुरुषलाई समान मान्ने , अन्याय अत्याचार, विकृति , विसंगति , बेथिति , बलात्कार , भ्रष्टाचार , धनी र गरिब बिचको खाडल पुर्ने, नारीकाई पुरुष समान पूर्ण अधिकारको वकालत गर्ने, असमानता, अश्लीलता आदिको विरोध गर्ने प्रगतिशील काम चारुका शेर ( थुङ्गा )मार्फत कहिए । अहिले पछिलो समयमा नयाँ पुस्ताका थुप्रै प्रगतिशील चारुकार जन्मीरहेका र हुर्कीरहेका छन् ।

पश्चिममा नारीहरु स्वतन्त्र भएको सन १९५० पछि मात्र हो। हाम्रो हिन्दु संस्कृतिमा नारीहरु वैदिक काल(१५०० इपू देखि ६०० इपू सम्म) मा पूर्ण शिक्षित र सभ्य भैसकेका थिए। वेदका कैयौं ऋचा नारीले सृजना गरेका हुन् भन्ने इतिहास छ।

नेपाली समाज हिन्दू धर्म वा आर्य संस्कृतिमा आधारित समाज हो। यो समाजमा परिवारको मूली धेरैजसो पुरुषहरू मात्रै हुने गर्दछन्। हिन्दू धर्मको प्रमुख आधिकारिक ग्रन्थ वेदमा महिलाहरूलाई भेदभाव हुने किसिमको कुनै कुरा उल्लेख गरिएको पाइँदैन। वैदिक कालमा महिलाहरूलाई पनि पुरुषसरह समान अधिकार प्राप्त थियो। उतिबेलाको समाजमा वेदविज्ञ महिलाहरूलाई ब्रह्मवादिनी भनिन्थ्यो। गार्गी, मैत्रेयी, अश्वपाला आदी वैदिक कालकी प्रसिद्घ ब्रह्मवादिनीहरू थिए । वेदमा उल्लेख गरिए अनुसार ‘यत्र नार्य सु–पुज्यन्ते, रमन्ते तत्र देवता’ अर्थात् जहाँ नारीहरूको पूजा हुन्छ, त्यहाँ देवताहरू पनि रमाउँछन् भनेर शास्त्रहरूले पनि नारीको महिमा गाएका छन् तर मध्ययुगमा सामन्ती प्रथाको उद्भव भएसँगै जसरी छुवाछुत प्रथाको सुरुवात भयो, त्यसैगरी नारीप्रति पनि विभेद गरिन थालियो। धर्मशास्त्रको गलत व्याख्या गरी महिलाहरू प्रति भेदभाव गरिएको यसै मध्ययुगदेखि चलिआएको पाइन्छ। सामन्ती सोंचका कारण समान अधिकार सहितको प्रगतिशील विचारले गजलमा हुर्कने र मौलाउने मौका पाउन सकेको थिएन । अहिले नेपालबाट सामन्तवाद हटे पनि सामन्ती विचार र सोंचको अवशेष बाँकी नै छ। यही सोंचमा हुर्केकाले गजलको परिवर्तित स्वरूप चारुलाई नकारीरहेका छन् ।

मुस्लिम संस्कृतिमा भर्खर नारी स्वतन्त्रताको प्रारम्भ भएको छ। गजल , मुस्लिम संस्कृतिको जगमा उभिएको झण्डै १५०० वर्ष पुरानो काव्य विधा हो। त्यतिबेला मुस्लिम संस्कृतिमा नारी स्वतन्त्रता र प्रगतिशील विचारको कल्पना समेत गरिएको थिएन। त्यसैले गजलमा नारीलाई बन्धनमा पार्ने शेर( श्लोक / थुङ्गा ) रचेर पुरुष जाति शेर (tiger) भएका थिए । समाजका एउटा सिक्काका दुइटा पाटा नारी और पुरुष मध्ये नारीलाई होच्याएर रचिएको गजल प्रगतिशील हुनै सक्दैन। अब पुरुषले नारीलाई होच्चाएर शेर बन्ने जमाना गए। गजल(नारीसंँग पुरुषले गर्ने प्रणयका कुरा) संँगसंँगै गजलको विकल्पमा चारु(पुरुषसंँग नारीद्वारा प्रणयका कुरा)विद्रोहका स्वर ओकल्दै काव्य बजारमा आफ्नो दह्रो उपस्थिति जनाइसकेको छ। गजल स्त्रीलिङ्गी शब्द हो भने चारु पुलिङ्ग र आवश्यक परेको ठाउँमा उभयलिङ्गी शब्द हो ।त्यसैले कतै कतै पुरुषले आफूलाई नारी र नारीले आफूलाई पुरुष परिकल्पना गरेर पुरुषले चारु(उभयलिङ्गी शब्द) र नारीले गजल(स्त्रीलिङ्गी शब्द) पनि लेखीरहनु भएको छ।नारीवादी पुरुष र पुरुषवादी नारी भएको वर्तमान युगमा यस्तो व्यबहार नसुहाउँदो मानिन्न । एउटा गजल, एउटा चारु र एउटा रागविरागको उदाहरण हेरौं। गजलमा बहर अनिवार्य छ भने चारु, राग, विरागमा शास्त्रीय फारसी बहर अनिवार्य मानिएको छैन।

बहर- हजज मुसद्दस महजुफ अश्तर मकबुज
अर्कान- 212.1212.1212

गजल
प्रेम गर्न किन लजाउँछिन् उनी
मोज गर्न झन् डराउँछिन् उनी !

आजभोलि नोटको कमाल छ
चाहेजति यसै कमाउँछिन् उनी ।

यारको कथा व्यथा सुनाउँदा
मन छुने गरी सुनाउँछिन् उनी ।

जिद्दी छिन् उनी कदापि हार्दिनन्
हार हुन्छ तब रिसाउँछिन् उनी।

मनपरे नजिक भई खुसी हुँदै
रातभर सधैँ जगाउँछिन् उनी ।
• देवी पन्थी

नेपाली साहित्यकार विश्व सञ्जालबाट 

चारु/ रागविराग
प्रकृतिले बनाएको, अनौठ, रित छ
संघर्ष गरे, हारपछि मिठो, जित छ।

धमिलो पानीमा , जो माछा मार्न , चाहन्छ्न्
ती मान्छे, सङ्लो पानीमा डुब्ने, निश्चित छ।

शहरमा बाठोले, ठग्छ,”धोती हुँ” भन्दै
गाउँको मान्छे, तिनैबाट, उपेक्षित छ।

हिजो, एउटै धागोमा, उनिएको मान्छे
आज, धर्म अनि भूगोलमा, खण्डित छ।

उता, मृग भयमा हुन्छ, शिकारी देखी
यता, पिता आफ्नै छोराबाट, त्रसित छ।
• देवी पन्थी

नेपाली साहित्यकार विश्व सञ्जाल 

गजलका दिग्गजहरु भन्नुहुन्छ -“गजलको शीर्षक हुँदैन।” तर गजल शब्द आफैं शीर्षक हो। “गजल” शीर्षक लेखेर तल मतला, शेर(थुङ्गा), मक्ता लेख्ने अनि शीर्षक हुँदैन भन्ने। यस सम्बन्धमा पहिला अन्यौल थियो तर अहिले स्पष्ट भैसकेको छ । खासमा विषयवस्तु नारी भए शीर्षक गजल, विषयवस्तु पुरुष भए शीर्षक चारु, विषयवस्तु चोखो या पवित्र माया, स्नेह , देशभक्ति, भगवान देवी देउताप्रति भक्तिभाव भए शीर्षक राग, विकृति, विसंगति, बेथिति, असन्तुष्टि आदि विषयवस्तु भए शीर्षक विराग हुन्छ। शीर्षक “नेपाल” लेखेर तल वर्णन भारतको गर्न मिल्दैन । ” ग+ ज + अल” यी तीन अक्षरको अर्थ नारीका विषयमा प्रणयका कुरा हुन्छ ।शीर्षक जे हुन्छ रचनाको विषय पनि त्यही हुन्छ। तसर्थ “गजल”, “चारु”, “राग”, विराग आफै शीर्षक हुन् । गजलको तुलनामा विकल्पमा प्रयोग गरिएका चारु, राग, विरागमा प्रगतिशील विचारको चेत प्रतिशत निकै बढी छ। सजिलोका लागि चारु, राग, विरागको एउटै शीर्षक चारु राख्न सकिन्छ। चारु, राग , विराग क्र हो? छुट्टाउने जिम्मा समालोचकको हो।

जतिबेला नारीलाई तेस्रो-चौथो दर्जाको नागरिक मानिन्थ्यो , उनीहरूलाई पढ्ने , लेख्ने, बोल्ने, विचार व्यक्त गर्ने , आफूलाई मनपरेको प्रेमीसंँग बोल्ने, हाँस्ने जस्ता अधिकार थिएनन् त्यतिबेला गजलको उत्पत्ति ( आजभन्दा १५०० वर्ष पहिले त्यो पनि मुस्लिम देशमा) भयो। मुस्लिम देशमा आज पनि नारीलाई पुरुष सरह पूर्ण स्वतन्त्रता छैन। कल्पना गरौं त्यतिबेला मुश्लिम नारीको स्थिति कस्तो थियो होला । त्यतिबेला नारीको एकमात्र काम आफ्नो बैँस, सुन्दरता, रुप-रङ्गले पुरुषलाई सन्तुष्ट पार्नेमा सीमित थियो। राजा महाराज र सामन्तहरुले आफ्नो दरबार या महलमा भाट कविलाई पालेर राख्थे । ती कविको काम युद्ध हारेको, थाकेको, निरास भएको मात्तिएको या मैमत्ता राजा या सामन्तलाइ अक्षर या शव्दमा नारीलाइ नङ्गाएर खुशी पार्नु हुने गर्दथ्यो। भाट कविले प्रस्तुत गर्ने यस्तो रचनालाई गजल भनिन्थ्यो । यो परम्परा सातौ शताब्दीदेखि उन्नाइसौं शताब्दीको अन्तसम्म चल्यो। यो घडीमा रचिएका गजलमा प्रगतिशील चेत शून्य प्रायः रह्यो ।

अहिले एक्काइसौं शताव्दीमा नारी सचेत मात्र होइन पुरुष बराबर हैसियत राख्दछ्न्। आफूलाइ मन पर्ने/नपर्ने पुरुष बारे बोल्न या निर्णय लिन सक्षम छन् । त्यसैले पुरुषलाई गजल जस्तै नारीलाइ पनि एउटा विधाको आवस्यकता थियो जसको माध्यमबाट आफूलाई मनपरेको या मन नपरेको प्रेमी बारे अभिव्यक्ति दिन सकुन् । पुरुषको बहादुरी , सुन्दरता र राम्रा नराम्रा क्रियाकलापको वर्णन गर्न सकून् । यसैका निम्ति चारु शव्द क्वाइन गरिएको हो। गजलको विकल्पमा चारु नारी मैत्री विधा हो।

सातौं शताब्दीमा अरब देशमा जन्मेको गजल सात सय वर्ष पछि अर्थात् तेह्रौं शताब्दीमा हिन्दी गजलको रुपमा भारत प्रवेश गर्यो र त्यसको फेरि झण्डै सातसय वर्षपछि मात्र गजल मोतीराम भट्ट मार्फत नेपाल प्रवेश गर्यो । मोतीराम भट्टले भारतको बनारसबाट विसं १९४२ तिर बहर र सृंगार रसमा गजल नेपाल भित्र्याएको इतिहास छ। मोतीराम भट्टपछि शम्भुप्रसाद ढुँगेल, गेहेन्द्रबहादुर जिगर, भीमनिधि तिवारी आदिको विशेष योगदान छ।यी सबैले नारी र शृङार रसको अधिकतम् प्रयोग गरेकाछन।यिनीहरूलेको रचना काल बि सं १९४२ देखि १९७६ भएको पाइन्छ। यी सबैका गजल बहरमा कहिएका छन् । त्यसपछि भीमनिधी तिवारीले नेपाली गजलबाट प्रगतिशील विचार र बहर हटाए अनि अश्लीलता भित्त्र्याए। त्यसको दुर्दशा नेपाली गजलले अहिलेसम्म भोगिरहेको छ।

लगभग पन्ध्रसय वर्ष अघिदेखि लेखिदै आएको गजलको स्वरुप र विषयवस्तुलाइ समय सापेक्ष प्रगतिशील , परिवर्तनशील धारमा विश्लेषण र वर्गीकरण गर्ने प्रयास बेलाबेला भएतापनि यसले पूर्णता पाउन सकेको थिएन। गालिब स्वंले मनका भावना व्यक्त गर्न गजलको विषयवस्तु(नारी) साँगुरो छ र यसको परिवर्तन आवश्यक छ भनेका छन्। ओम नीरबले उर्दू व्याकरणको गजललाइ हिन्दी व्याकरणमा ढालेर “गीतिका” को प्रयोग गरेका छन् । माथि भने जस्तै आधुनिक हिन्दी गजलका प्रणेता दुष्यन्तकुमार( सन१९३३) ले गजलमा विषयवस्तु नारी बाहेक समाजका अन्य समस्यालाई पनि विषयवस्तु बनाउनु पर्छ भनेर गजलको वर्गीकरण गर्ने छनक दिएका थिए तर यस्तो प्रगतिशील विचार जन्मीरहेकै बेला सन् १९७५ मा उनको मृत्यु भयो र यो काम उनले पूरा गर्न सकेनन् । उनको मृत्युपछि गंगा नदीमा थुप्रै पानी बगी सक्दा समेत यो कुरामा कसैले ध्यान दिएनन् । नेपालमा घनश्याम परिश्रमीलाई दुष्यन्तकुमारसँग दाँजिन्छ तर परिश्रमीले पनि गजलको विकल्पमा कुनै नाम दिन सकेनन् । यो समस्याको समाधान अन्तत देवी पन्थीले खोजेर बहसमा ल्याएका छन् । गजलको परिवर्तित स्वरूपमा प्रगतिशील चेत मनग्ये पाइन्छ। गजलको विकल्पमा चारुका लागि भारतले देवी पन्थीलाई “दुष्यन्तकुमार चारु सम्मान” , गोरखपुरी सम्मान र चारु सम्राट सम्मान प्रदान गरेको छ।
एकातरफ ग़ज़ल यति मधुर छ कि यसले जो कोहीको मनको सम्वेदनशील तारलाई अझ बढी संबेदनशील बनाइ दिन्छ। फेरि त्यही ग़ज़ल मान्छेमा यस्तो भावना उत्पन्न गर्छ कि जनाब कलीमुद्दीन अहमद साहब गजललाइ ‘नंगे-शायरी’ यानी “बेहूदी शायरी” सम्म भनेका छ्न् । कारण थियो प्रगतिशील विचारको अभाव । शमीम अहमद शमीमले गजललाइ “मनहूस शैली की शायरी” भनेक छन् । त्यस्तै जनाब अज़्मतुल्लाख़ान साहबले बिना हिचकिचाहट गजललाई ‘ग़ज़ल क़ाबिले गर्दन ज़दनी हैं’, यानी “गजललाई जरैदेखि उखालेर फ्याँकने लायक छ” भनेका छन् । ‘ग़ालिब’ ले त प्रष्टै भनेकाछन-

बक़द्रे शौक़ नहीं ज़र्फे तंगना-ए-ग़ज़ल।
कुछ और चाहिये वसुअत मेरे बयां के लिये। ।

(‘मेरो मनको उत्कट भावनालाई खुलेर व्यक्त गर्न ग़ज़लको विषय निकै संकीर्ण छ । मलाई मनका भावना उजागर गर्नका लागि अन्य कुनै विस्तृत माध्यमको आवश्यकता छ ) ।”
गालिबले महसुस गरेको अन्य कुनै माध्यम भनेकै चारु,राग,विराग हुन् । चारुमा नारी आवाजलाई पुरुष समान अधिकार प्रदान गरेर प्रगतिशील भावनाको कदर र त्यसको पक्षमा वकालत गरेको छ।

उर्दूका सुप्रसिद्ध साहित्यिक एवं आलोचक रशीद अहमद सिद्दीक़ीले ग़ज़ललाई ‘आबरू-ए-शायरी’ निकै सम्मानका साथ भनेका छन् । शायद यस्तै कुराले ग़ज़ल आजसम्म टिकी रह्यो र सामान्यत: सबै वर्गमा काफी हदसम्म लोकप्रिय बन्यो।
यिनै कुरालाई मनन गरेर गजललाई विषयवस्तुका आधारमा गजल समदृश्य संरचनामा प्रगतिशील विचार संचार गर्ने उद्देश्यले चारु, राग, विराग नामका विधा प्रारम्भ गरिएको हो। दुष्यन्तकुमार अरु केही वर्ष जिवित रहेका भए सायद यो नामाकरणको कार्य उनैबाट सप्पन्न हुन्थ्यो होला। गजल समदृश्य विधाका नाम यसबप्रकार छन् –

गजल ( बहर )
चारु राग विराग रागविराग ( बेबहर)

१३८ वर्ष अघि अर्थात् बि सं १९४२ देखि मोतीराम भट्टबाट शुरु भएर अहिलेसम्म लेखिदै आएको गजललाई गजल, चारु, राग, विराग गरी चार कोणबाट हेरिएको छ। यी विधाको घोषणापछि विश्वभरी छरिएर रहेका नेपाली र हिन्दी “गजलकार” ले पक्ष र विपक्षमा आफ्नो विचार/मत दिइरहेकाछन् , यो खुशीको कुरा हो। गजल प्रारम्भदेखि बहरमा लेखिन्छ । बहर बिना गजलको कल्पना गर्नु व्यर्थ छ। कसैले मनोरञ्जनका निम्ति बेबहर गजल लेख्नु या सुनाउनु उसको व्यक्तिगत कुरा हो। बहरयुक्त गजलको विषयवस्तु नारीप्रेम या प्रणयपूर्ण भाव पोखिएको हुनुपर्छ र गजल खासगरी पुरुषवादी दृष्टिकोणबाट नारीमुखी प्रणयभाव प्रकट हुनेगरी लेखिनुपर्दछ । प्रगतिशील विचारलाई ठाउँ दिनु पर्दछ। चारुमा पुरुषमुखी प्रणयभाव, आशक्ति,झुकाव, हुनुपर्छ र यो खासगरी नारीवादी दृष्टिकोण या कलमबाट लेखिनुपर्छ। रागमा स्नेह , चोखो माया, देशभक्ति प्रकृति या तथाकथित भगवान प्रति आस्था या झुकाव सन्देश हुनुपर्छ । विरागमा विकृति , विसंगति , बेथिति , असन्तुष्टि , युद्ध, भ्रष्टाचार , बलात्कार आदि विषय हुनुपर्छ भन्ने यस नयाँ सिद्धान्तको मान्यता रहेको छ।

गजलको विकल्पमा प्रगतिशील राग र विरागका विषय सबैका साझा विषय हुन् । गजलममा बहर अनिवार्य छ। चारु, राग र विरागमा बहर अनिवार्य नभएर ऐच्छिक छ तर छन्द, लय, मात्रा, भाका, अक्षरको एकरुपता मध्ये कुनै एक नियममा अनिवार्य बाँधिएको चाहिँ हुनैपर्छ भन्ने मान्यता राखिएको छ। गजल, चारु, राग, विराग सबैको लेख्ने या रचना गर्ने फर्म्याट एउटै हो अर्थात् यी सबैमा काफिया(आदिअनुप्रास), रदीफ( अन्त्यानुप्रास), शेर( थुङ्गा) आदिको भलिभाँती प्रयोग हुन्छ।

नेपालीमा गजल भनेर लेख्ने ( चारुको आविष्कार नहुँदै) श्रेष्ठप्रिया पत्थर , डा. घनश्याम परिश्रमी(गजलका प्रथम विद्यावारिधि कर्ता नेपाली नागरिक) , पोष्टराज चापागाईं, आवाज शर्मा, टक गुरुङ , घायलश्री म्याग्दी आदिका प्रगतिशील ( ११० बढीका ) प्रगतिशील कमेन्टलाई मैले सकारात्मक रूपमा लिएको छु । अधिकांशले उपरोक्त परिवर्तन स्वीकार्नुका साथै यस अघि गजल शीर्षकमा लेखिएका, छापिएका र प्रकाशनमा आएका रचना या संग्रह खेर जाने या अवैध हुने आशंका व्यक्त गरेकाछ्न् । तर प्रगतिशील रचना कुनैपनि खेर नजाने तर विषयवस्तुका आधारमा छुट्टाउनु पर्ने या शीर्षक परिवर्तन मात्र गर्नु पर्ने हुन्छ। शीर्षक “गजल” भए रचनाको विषयवस्तु नारी, शीर्षक “चारु” भए विषयवस्तु पुरुष, शीर्षक “राग” भए विषयवस्तु स्नेहपूर्ण या पवित्र प्रेम हुनुपर्ने, शीर्षक “विराग” भए विषयवस्तु विकृति, विसंगति, बेथिति, असन्तुष्टि , भ्रष्टाचार , बलात्कार आदि हुनुपर्ने र प्रत्येकको शेर(थुङ्गा) का विषयवस्तु मिश्रित भए शीर्षक “राग-विराग” हुनु पर्ने माग गजलको परिवर्तित स्वरुपको रहेको छ। गजलको तुलनामा चारु शतप्रतिशत नारीमैत्री छ। नेपाल प्रज्ञाप्रतिष्ठानको २०७६ को राष्ट्रिय गजल महोत्सवले ” अब उप्रान्त गजल बहरमा लेख्ने र अहिलेसम्म लेखिएका बेबहर गजललाई सम्मान र संरक्षण गर्ने” भन्नूको अर्थ थियो बेबहर गजललाई विषयवस्तुका आधारमा चारु, राग, विरागमा व्यवस्थित गर्दै लैजाने र गजल या चारुलाई समय सापेक्ष प्रगतिशील धारमा बगाउने।

निष्कर्ष
शास्त्रीय गजल शब्दको अर्थ र परिभाषा अनुसार बहरमा कहिएका या रचिएका रचना गजल हुन भने बेबहर,शास्त्रीय छन्द, स्वनिर्मित छन्द , झ्याउरे लय, स्वनिर्मित लय या हरेक पंक्तिमा अक्षर बराबर गरेर लेखिएका रचना चारु (राग, विराग , रागविराग) हुन् । गजलको तुलनामा चारु निकै प्रगतिशील र व्यवहारिक छ। अस्तु!!।

सन्दर्भ ग्रन्थ

१. – डा. घनश्याम परिश्रमी – तीस दिनमा गजल
२. दुष्यन्त कुमार – साये में धूप
३.देवी पन्थी – नेपाली गजलको परिवर्तित स्वरूप (२०७५)
४. मुजवर सरदार – हिन्दी गजल के विविध आयाम
५. लक्ष्मण यादव “लक्ष्मण ” गजल कि संरचना

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन