ललिता‘दोषी

कवि / बाल साहित्यकार

चन्द्रकला ठूलो स्वरमा चिच्याइन्–“ए पुष्पा, पवित्रा छिट्टो यहाँ आओ ।”
दुवै आँगनमा खेलिरहेका थिए दौडिँदै कोठाभित्र आए । उनले आँखाबाट झरेको आँसु पुछ्दै भनिन् – “यो साडी कसले काट्यो हँ ? नानाथरीका साथीहरू घरमा ल्याउनु छ । म त साह्रै आजित भए तिमीहरूलाई देखेर ।”
पुष्पा, पवित्राले आपूmले साडीलाई केही नगरेको कुरा सुनाए । चन्द्रकलाले उनीहरूको कुरा पत्याइनन् । पवित्राले सानो स्वरमा भनिन्–“भाइले काट्यो होला नि उसलाई पनि एकपल्ट सोध्नुहोस् ।”
“त्यति सानो पाँच वर्षको भाइले कहीँ त्यत्रो ठूलो कैँची चलाउन सक्छ ? तिमीहरूले नकाटे तिमीहरूका साथीहरूले नै काटे होलान् ।”
कृष्णले कोठाभित्र पस्दै भने–“हरे भगवान् ! जहिले घर आउँदा पनि तिमीहरूको कचकच सुन्नुपर्छ । फेरि आज पनि किन छोरीहरूलाई गाली गरेकी ?”
चन्द्रकलाले साडी देखाउँदै भनिन्–“ल हेर्नुहोस् साडी अनि यिनीहरूलाई गाली नगरे कसलाई गाली गर्नु त ? नदेखिने ठाउँमा काटेको भए पनि हुन्थ्यो । देखिने ठाउँमा नै काटेको छ । यही एउटा राम्रो साडी थियो । भरे विवाहमा के लगाएर जानु अब ?”
कृष्णले पनि नमज्जा मान्दै भने –“हो त कसले काट्यो होला साडी ? प्रनभकै काम हुनुपर्छ यो ।”
चन्द्रकलाले रिसाउँदै भनिन् – “खाली त्यही प्रनभलाई देखेको छ । त्यति सानो हातले कसरी यत्रो कैँची कसरी समात्छ सोच्नुहोस् न ? यिनीहरूकै साथीहरूको काम हुनुपर्छ ?”
कृष्णले झ्यालबाट बाहिर हेर्दै भने–“ए प्रनभ ! माथि आऊ ।”
प्रनभ दौडँदै माथि आए । पुष्पा र पवित्रा घोसे मुन्टो लगाएर बसिरहेका थिए । कृष्णले मायालु स्वरमा भने–“हेर बाबु तिम्रो आमाको साडी मुसाले पो काटिदिएछ । पुष्पा पवित्रा ठूलो कैँची हामीले चलाएको छैन भन्छन् । कसले साडी काट्यो काट्यो ।”
चन्द्रकलाले प्रनभलार्ई म्वाइँ खाँदै भनिन्–“मेरो छोराले कहिल्यै यस्तो बिगार गर्दैनन् । यिनीहरूको साथीहरूको काम हो यो । अबदेखि उनीहरू यो घरमा आउन पाउदैनन् ।”
प्रनभले बाबुतिर हेर्दै भने–“हो भन्या ! यिनीहरू र यिनीहरूका साथीहरू त साह्रै बदमास छन् भन्या ! हातै हातमा नपिटेर त हो नि !”
कृष्णले हाँस्दै भने–“कहाँ पिट्नु र बाबु ? त्यति ठूलो कैँची चलाउन सक्नेलाई त स्याबास पो भन्नुपर्छ । चानचुने मान्छेले त्यत्रो कैँची चलाउन नै सक्दैनन् । तेत्रो कैँची चलाउँने त बहादुर नै हुन्छन् नि ! कैँची चलाउँनेलाई त आज उपहार नै दिनुपर्ने भयो ।”
प्रनभले हतारहतार कैँची समाउँदै भने–“यी ल हेर्नुहोस् मैले पनि कैँची समाउन सक्छु नि ! यो साडी पनि मैले नै काटेको हो । मलाई नै उपहार दिनुहोस् ।”
छोरीहरूलाई सधैँ गाली गरेकोमा पछुताउँदै चन्द्रकलाले आँखाबाट आँसु झारिन् । सबैले प्रनभलाई हेरिरहे । प्रनभ बाबुलाई हेर्दै भने–‘‘ल छिटो उपहार दिनुहोस् । म त बहादुर हुँ क्या !’’
कृष्णले पनि आँखाभरि आँसु पार्दै भने–“ल आजलाई सय रुपैयाँ उपहार दिन्छु अबदेखि कहिल्यै बिगार नगर है । हेर तिम्री आमाको यही एउटा राम्रो साडी थियो । तिमीले काटेपछि के लगाएर विवाहमा जाने तिमी नै भन त ?”
प्रनभले आमाको अनुहारमा हेरे । उनको आँखाबाट बरबर आँसु झरिरहेको थियो । उनले त्यही सय रुपैयाँ आमाको हातमा राख्दै भने–“आमा नरुनुहोस् यही पैसाले साडी किन्नुहोस् । अबदेखि म कहिल्यै नराम्रो काम गर्दिनँ । झूटो पनि बाल्दिनँ । पुष्पा, पवित्रा दिदीहरूलाई पनि पिट्दिनँ । सच्चीमुच्ची !”
प्रनभको कुराले र कान समातेको देखेर सबै मुसुक्क हाँसे ।

शिक्षा : (वास्तविकता नबुझी कुनै काम गर्दा पछुतो हुन सक्छ ।)

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन