अनुसूया खनाल

कवि

आमा
म सोच्दछु बेला बेला
तिम्रो गर्भमा हुँदाको क्षण
कति सह्यौ होला दुःख
कति भोग्यौ होला पीडा
म जन्मिदा
तिम्रो पनि
अर्को जन्म भएको हुनुपर्छ
जब टाँसिएर छातीमा
अमृत धाराले तृप्त भएँ
तिमीलाई पनि सन्तुष्टी मिलेको हुनुपर्छ
म गर्भमै छँदा
ईश्वरले भने झैँ लाग्छ
तिमीले छिट्टै
धर्तीमा जन्म लिनुपर्ने छ
मेरो ख्याल कसले गर्छ त्यहाँ ?
मैले सोधेँ
एउटी सुन्दर परीले
तिनले बोल्न, हिँड्न, पढ्न, लेख्न सिकाउनेछिन्
को हुन् ती परी
आमा !
एउटा अमूल्य नाता
जसलाई सँधैभरि चिन्ता छ
सन्तानको
बिरामी भयो
कहिले निको होला भन्ने पीर
हुर्किँदै गयो
के गर्ला भन्ने पीर
कहिले स्कूल पठाउने चिन्ता
फेरि कतिबेला फर्केला भन्ने चिन्ता
हरेक दिन/हरेक पल
सन्तानकै चासो
एकातिर घर छ
अर्कोतिर अफिस
कति गाह्रो छ सन्तुलन मिलाउन
सबैलाई मिलाएर लाने
अरु अघाएपछि आफू खाने
साँच्चै !
कति महान छिन् आमा
एक दिन म
आमालाई खुसी नै खुसी दिनेछु
सुखै सुखको ताज पहिराइदिनेछु ।


बिचरी चरी
झमझम झरी पर्‍यो चल्यो हावा हुरी
के गरेर बस्छे होला चरी कठैबरी ।
बचेरा र बचेरीले खोज्दै होलान् आमा
बिचरी त्यो चरीलाई कस्तो पर्‍यो धामा ।।

उडाउला भन्ने डर भत्केला कि भन्ने पीर
दर्के पानी पस्यो भने जानु कता तिर ।
चारो छैन गुँडभित्र के पो खानु होला
पाइछ कठै त्यो चरीले कस्तो दुखी चोला ।।

चारो खोज्न गाको चरो फर्की आको छैन
खोज्न जाऊँ भने पनि पानी रोक्ने हैन ।
पानी पर्न रोकीदिए हुन्थ्यो आज राती
यति काम गरिदिए दैव कति जाति ।।

सुन्नुस् मेरो बुबा हजुर आमा सुन्नु होला
सिकुवामा गुँड सार्न दिऊँ थोत्रो झोला ।
यति काम गर्‍यो भने खुसी होली चरी
ढुक्कसँग डुल्न पाउँछे हाम्रै वरिपरि ।।


मेरो गाउँ
सुन्दर शान्त प्रकृति छ मेरो सानो गाउँमा
जन्मिए म हुर्कँदै छु त्यही प्यारो ठाउँमा ।
मलाई साह्रै माया लाग्छ म जन्मेको घरको
कहाँ पाउँला यस्तो घर संसारमा अर्को ।।

छन त छ मेरो गाउँ शहरदेखि टाढा
तर गाउँका मानिसमा माया हुन्छ गाढा ।
धुवाँ छैन धुलो छैन शहरको जस्तो
स्वच्छ हावा सफा पानी सबैचीज सस्तो ।।

खेतीपाती गर्छन् कोही कोही पशुपालन
मेहनतमा विश्वास गर्ने छ यहाँको चलन ।
बारीभरि मकै फल्छ खेतभरि धान
धान मकै भए पुग्छ वर्षभरि खान ।।

कोही शहर कोही विदेश पुगे कता कता
मलाई माया गर्ने गाउँ छोडी जान्न म ता ।
केही काम मेरो गाउँमा गर्न पाए हुन्थ्यो
गाउँको नाम सबैतिर छर्न पाए हुन्थ्यो ।।

किनिदिनुस् आमा मलाई कलम र मसी
मेरो गाउँको गीत लेख्छु चौतारीमा बसी ।
अब कोही नजानू है छोडेर यो गाउँ
छोडी जानेहरु पनि फर्किएर आउँ ।।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन