- नवसाहित्य
समाचार प्रमुखः
संप्रस पौडेल
१५ भाद्र, शनिबार ।
नवसाहित्य । “मलाई पुस्तकमा लेख्न मन नलागेको कुरा यही हो । अहिले पनि लेख्न मन नलागी नलागी लेख्दैछु । जस्तो कि साना साना नानीहरू स्कुल जान मन नलाग्दा नलाग्दै जान्छन्; बिरामीहरू खान मन नलाग्दा नलाग्दै खान्छन्; फूलहरू झर्न मन नलाग्दा नलाग्दै झर्छन्; म पनि लेख्न मन नलाग्दा नलाग्दै लेख्दै छु ।”
पहिलो अनुच्छेद यसरी सुरूवात भएको पुस्तक ‘लन्डन अनप्लग्ड’ माथि हेटौँडामा अन्तरक्रिया गरिएको छ । गोपी सापकोटाको पछिल्लो कृति ‘लन्डन अनप्लग्ड’ माथि चर्चाको मेसो भने किताबघरको आयोजनामा भएको हो ।
कार्यक्रममा सो कृतिमाथि साहित्यकार शान्ति प्रियवन्दनाको समीक्षात्मक टिप्पणीका साथै सञ्चारकर्मी आशिष दुलालले पाठकीय टिप्पणी रहेको थियो ।
सञ्चारकर्मी दुलालले पुस्तक अध्ययनका क्रममा मकवानपुरदेखि मलेसियासम्मको १२ वर्षअघिको आफ्नै यात्राले विगतलाई बल्झाइदिएको बताउँदै पुस्तकमा प्रयोग भएका बिम्बभित्र आफू पात्र भएर पढेको बताउनुभयो । उहाँले युरोप र अमेरिका नदेख्दा पनि पुस्तकले लन्डनका मान्छेका जालो, प्रेमदेखि विछोडसम्मका घटना, वृद्ध अनि मृत्युका किस्साहरूले आफूलाई तानेको बताउँदै लेखक सम्बन्धका जालोमा जेलिएर लन्डनमैँ ‘प्लग्ड’ हुनु भएको तर नेपालको विगत र सम्झनाका यादहरूसँग तुलना गरिरहनु भएको आफ्नो बुझाइ रहेको मन्तव्य राख्नुभयो ।
यस्तै साहित्यकार प्रियवन्दनाले औपचारिक कार्यक्रमलाई आसन ग्रहणको पट्यारलाग्दो प्रणालीलाई अन्त्य गर्दै उपस्थित सबै दर्शक/स्रोतालाई प्रमुख अतिथि बनाइनुलाई निरन्तरताको कामना गर्नु भएको छ । प्रयोगवादी नाटककारको रूपमा आफ्नो छुट्टै छवि बनाइसक्नु भएका तथा कविता सङ्ग्रह, बालकथा सङ्ग्रह, उपन्यास आदि प्रकाशन गरी स्थापित लेखकका रूपमा रहनु भएका सापकोटा विदेश भासिएर लन्डनमा रहँदा भोग्नुपरेका सास्ती र हण्डर अनि आफ्नो सपना पूरा गर्नका लागि भएका सङ्घर्ष पुस्तकले उल्लेख गरेकोमा नेपालबाहिर जुनसुकै देशमा नेपालीहरूले गर्नु परेको सङ्घर्षलाई हेर्दा नेपालसँगको सम्बन्धबाट टाढा रहन नसक्नुका साथै पुस्तकलाई लेखकले सिर्जनात्मक आख्यान भनेता पनि आफूले निबन्धका रूपमा लिने उहाँले बताउनुभयो । उहाँले ‘जिन्स पाइन्ट’, ‘फ्रिज म्याग्नेट’, ‘स्वरूपको अन्त्य’ आदिमध्ये आफूलाई सबैभन्दा बढी मन परेको अध्याय ‘पसिनाको ह्विस्की’ रहेको र ‘स्वरूपको अन्त्य’ ले आफूलाई भावुक बनाएको जानकारी गराउनुभयो ।
पहिलो अध्याय ‘जिन्स पाइन्ट’ बाट सुरू भएर बिसौँ अध्याय ‘बेलायतमा बर्मेली जीन’ सम्म २० अध्यायहरू पुस्तकमा सङ्ग्रहित छिन् ।
लेखक सापकोटाले मन्तव्यमा भन्नुभयोः “लामो समयसम्म काम गर्दा गर्दा मानसिक रूपमा कतिपय विषय सोच्न नै ठप्प हुने लन्डनको दैनिकीलाई लिएर लेखिएको सिर्जनात्मक गैरआख्यान नेपालमा मात्रै नभइ संसारकै लागि नयाँ विधा हो । पाठकलाई पढ्दा आनन्द आउनेगरी प्रयोग गरिने यस विधामा लेखकले आफ्नो रुचीको विषयलाई पोख्न पाउँछ । यस्तै यो पुस्तक झन्डै १० साल पहिले लेखिएको र अब आफू लन्डननिवासी भएकाले त्यहाँको वातावरणमा बिस्तारै अभ्यस्त हुँदै गएकाले अहिलेको अवस्थामा भए यो पुस्तक लेख्नै सक्ने थिइनँ । बिहे गर्नुअघि नै बच्चा जन्माउने र जीवितै हुँदादेखि नै आफ्नो मृत्युका लागि लगानी गर्ने विषयले उतिखेर आफूलाई निकै रोचक र आश्चर्यजनक लागेको थियो ।” उहाँले नेपालमा हुँदा लेखनमा कविताबाट सुरू गरेर सडक नाटक लेख्ने र मञ्चन गर्नुभयो । ४ वटा नाटकका किताबहरू प्रकाशन गरिसक्नु भएका सापकोटाले कठोर, विषयगत र गहन लेखनबाट मोडिँदै सरल ढङ्गले प्रस्तुत गर्नका लागि नै गैरआख्यान लेखन गर्नुभएको जानकारी दिनुभयो । त्यसो त गैरआख्यान लेखन निकै जोखिमपूर्ण भएको बताउँदै आउँदा समयमा आख्यान लेखनमा जोड गर्ने बताउनुभयो ।
कार्यक्रमलाई सहजीकरण गर्दै किताबघरका सञ्चालक छवि अनित्यले पुस्तकका केही अंशहरू वाचन गर्नुभयो भने कलम प्रकाशनका प्रमुख नरेन्द्र नगरकोटीले सापकोटाका अघिल्ला कृतिसमेत प्रकाशन गर्नुका साथै पछिल्लो उत्कृष्ट कृति प्रकाशन गर्न पाउँदा गौरव महसुस भएको बताउनुभयो । सापकोटाका बालपत्रिकादेखि बालनाटक लेखनबाट परिचय रहेको एउटा नाम गोपी सापकोटाका पहिलो उपन्यास तथा कलम प्रकाशनको पहिलो प्रकाशित कृति ‘काँचो कागज’ देखि पद्मश्रीको विस्तारित सूचीमा सूचीकृत यस कृतिमाथि विमर्श र अन्तरक्रिया कार्यक्रम आयोजना गरी किताबघरले मकवानपुरमा पठन संस्कृतिमा विशेष काम गर्दै गइरहेकोप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।
साहित्य सङ्गम/सिस्नुपानी मकवानपुरको सभाहलमा औपचारिकताविना र उद्देश्यप्रति लक्षित गरी आयोजित कार्यक्रम १ घण्टामैँ सकिनेगरी किताबघरका सञ्चालक छवि अनित्यले सहजीकरण गर्नु भएको हो ।
(हाम्रा समाचारहरू अन्य पत्रपत्रिकामा स्रोत उल्लेख नगरी प्रकाशन गरिएको पाइएकोले त्यसो नगर्नुहुन अनुरोध गर्दछौँ । -सम्पादक)





