- नवसाहित्य
संप्रस पौडेल
समाचार प्रमुखः नवसाहित्य
१५ भाद्र, शनिबार ।
नवसाहित्य । मदन पुरस्कार गुठीले मोहन मैनालीद्वारा लिखित “मुकाम रणमैदानः नेपाल–अंग्रेज युद्धको बखान” पुस्तकलाई मदन पुरस्कार दिने निर्णय गरेको छ ।
शुक्रबार बसेको गुठीको बैठकले ऐतिहासिक सन्दर्भ र सामग्रीलाई सरल, सरस एवं प्रवाहमय भाषामार्फत लोकप्रिय बनाउन उल्लेख्य रचनात्मक योगदान पुर्याएकाले मदन पुरस्कार २०८० प्रदान गर्ने निर्णय गरेको हो ।
मदन पुरस्कार गुठीमा प्राप्त ३०४ पुस्तकहरू सिफारिसमा परेका थिए । ती पुस्तक मध्येबाट पाँच पुस्तकहरू क्रमशः डम्फुको आत्मालाप (भक्त स्याङतान), नुन–तेल (जीवन क्षेत्री), भावलिपि (भावेश भुमरी र प्रणिता चामलिङ), मुकाम रणमैदान (मोहन मैनाली) र सन्त्रासका साठी दिन (रोशन थापा ‘नीरव’) ‘मदन पुरस्कार श्रेष्ठ सूची २०८०’ मा परेका थिए ।
“नेपालका भाषाहरूको पहिचान, संरक्षण र अध्ययन–अनुसन्धान क्षेत्रमा क्रियाशील प्रा.डा. योगेन्द्रप्रसाद यादवलाई २०८० सालको जगदम्बा श्री पुरस्कार गर्ने निर्णय गरेको छ ।
मदन पुरस्कार २०७९ विवेक ओझाको ऐँठनले प्राप्त गरेको थियो भने जगदम्बाश्री पुरस्कार २०७९ टेकवीर मुखियालाई प्रदान गरिएको थियो ।
२०१२ सालमा स्थापित मदन पुरस्कार पहिलोपल्ट २०१३ सालमा गद्य विधामा सत्यमोहन जोशीको ‘हाम्रो लोक संस्कृति’, सामाजिक शास्त्रमा चित्तरञ्जन नेपालीको ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ तथा विज्ञान विधामा बलराम जोशीको ‘अधिकविभव स्थिरविद्युत् उत्पादक’ पुस्तकलाई मदन पुरस्कार प्रदान गरिएको थियो।
२०४५ सालमा रानी जगदम्बाको निधनपछि उनको सम्झनास्वरूप जगदम्बा–श्री पुरस्कारको स्थापना गरिएको हो। जुन सम्मान पहिलोपटक नारायण गोपाललाई प्रदान गरिएको थियो।





