- नवसाहित्य

संप्रस पौडेल
समाचार प्रमुखः नवसाहित्य
नवसाहित्य ।
‘बरफका कोइलाहरू’ कविता सङ्ग्रहका सर्जक हुनुहुन्छ राधिका कल्पित । आज हामीले कृतिमाथिको पाटकीय दृष्टिकोणस्वरूप कवि आर्यशको कविता कृतिमाथि राख्नु भएको कवि कल्पितको पाठकीय प्रतिक्रियालाई लिएर आएका छौँ ।
०००
यतिखेर युवा कवि आर्यशको नवोदित कविता कृति `म तिमी आउनुअघि नै गइसकेको थिएँ´ मा डुब्ने र उत्रने गरिरहेछु । सङ्ग्रहका कुनै कविता सपाट छन । कुनै कविता संरचनाका हिसाबले एकदमै पृथक छन् । कुनै कविता संरचना, शिल्प, बिम्ब संयोजन र लय सबैका हिसाबले उत्कृष्ट छन् । सङ्ग्रहका धेरैजसो कविताले युवा आवाजको प्रतिनिधित्व गर्छन् । कुनै कुनै कविताले यसरी झट्का दिन्छन् कि रन्थनाउने नै बनाउँछन् ।
बिम्बको छनौटलाई सलाम गर्न मन लाग्यो । कहाँबाट खोजेर ल्याए हुन् कविले यति फरक बिम्बहरु कवितामा ?
यो सङ्ग्रह पढिरहँदा वर्तमान विसङ्गत समय र आर्थिक, सामाजिक बेथितिसँग जुध्दाजुध्दा थाकेर हैरान र निराश भएजस्तो देखिन्छ । तर कविले विद्रोह गर्न छाडेका छैनन्, सपना देख्न छाडेका छैनन् । प्रेमलाई प्रेम गर्न र सौन्दर्यलाई मन पराउन पनि छाडेका छैनन् । अचम्मको विरोधाभासहरूको कोलाज बनेको छ सङ्ग्रह ।
बधाई तथा शुभकामना कवि आर्यश ।
०००
सङ्ग्रहबाट नमूना तीन कविताहरू
१. अबोध प्रश्न
पिइसकिएका रक्सीका बोतल
खाली गोल्टिन र कार्टुन
पुराना पत्रपत्रिका
पढिसकिएका थोत्रा कापी किताब
यी सबै बटुलेर
कबाडी लानेलाई बेच्दै थिएँ
यो सब हेरिरहेको मेरो सानो छोराले सोध्यो
बाबा
ऊsss त्यो ड्रइङ कापी किन बेच्नुभएको ?
मैले कस्तो राम्रो देशको नक्सा बनाएको थिएँ ।
२. सोख
रहर उसको
स्वतन्त्र बन्नेछ
सपना उसको
हवाईजहाज उडाउने छ ।
उद्देश्य उसको
स्वावलम्बी हुनेछ ।
सोख उसको
पिँजडामा सुगा पाल्ने छ ।
३. रुचि भर्सेस रुचि
सानो छँदा
छोरी पुतली माग्थिन्
छोरो बन्दुक माग्थ्यो ।
ठुलो भएपछि आज
छोरी बन्दुक खोज्दैछिन्
अस्तित्व बचाउन
छोरो पुतली खोज्दैछ
अस्तित्व मेटाउन ।
०००
नवीन कृतिका लागि कवि आर्यशलाई बधाई तथा शुभकामना । – नवसाहित्य परिवार ।