- नवसाहित्य
नवसाहित्य डटकम
सामाजिक विषयवस्तुलाई मानवीयता र भावनाको उत्कर्षमा उनेर कथा लेख्न सिपालु कथाकार गुरूप्रसाद मैनालीको ‘नासो’ कथासङ्ग्रहमा एघारवटा कथा अटाएका छन् । २००७ साल र सोही कालखण्डको आसपास लेखिएका यी कथाहरुमा विशेष गरि मान्छेका आपसी सम्बन्ध, गाउँघरका चाल चलन, जातीय विभेद, गरिबी र वर्गीय असन्तुलनले समाजमा ल्याउने खलबललाई निकै मार्मिक रुपमा पात्रहरुको संवेदनाद्वारा प्रस्ट्याइएको छ।
लोभ, क्रोध, ईर्ष्या, द्वेष, अंहकार आदि मान्छेका नकारात्मक भावनालाई प्रेम, आपसी सद्भाव, सहनशीलताले अवश्य जित्न सक्छ, परास्त गर्न सक्छ र वैचारिक बेमेललाई किनारा लगाउँदै सम्बन्धमा सुमधुरताले निरन्तरता पाउन सक्छ भन्ने ज्ञान ‘नासो’ कथासङ्ग्रहले दिन्छ ।
सम्पत्तिका लागि हुने दाजुभाइबिचको मनमुटाव, अज्ञानताले छोपिएर छिमेकीसँग हुने कलह, जोइपोइका सामान्य टकरावले पनि ध्वस्त बनाएको परिवार, प्रेमको अभिव्यक्तिमा भएको ढिलाई अनि त्यसको रित्तो परिणाम, घमण्डले आँखा छोपेपछि आफूबाट हुने गल्ती र त्यसको प्रायश्चितले दिएको शोक आदि विषयमा यी कथाहरु लेखिएका छन् ।
यी कथाहरु सरसर्ती पढ्दा वियोग, पीर, पीडा आँशुले भरिएका कथा जस्तो लागे पनि, ग्रामीण जीवनका मानवीय पक्षलाई निकै नजिकबाट बुझाउने हेतु कलात्मकताको प्रधानतालाई ध्यानमा राखी लेखिएका कथा हुन् । कथाकारको सामाजिक चेत, समस्याको निराकरणको क्षमता र सौहार्दताको सबल र बलियो पक्ष यी कथामा स्पष्ट बुझ्न सकिन्छ ।
०००
‘नासो’ कथा— प्रेममा मग्न जोडी सन्तानको अभावमा रित्तो अनुभव गर्छन् । अन्तत: दोश्रो विवाह गरेर सौता भित्र्याएपछि जेठी श्रीमतीलाई पर्ने पीडा र उनले खेपेका चोटलाई मर्मस्पर्शी रुपले देखाइएको छ । यो कथा पछि भित्रिएकी सौताले भन्दा पनि आफ्नो श्रीमानले गर्ने अलग व्यवहार र विल्कुलै फेरिएको उनको स्वभावले एउटी नारीलाई पार्ने संवेदनात्मक प्रभावलाई वियोगात्मक रुपमा लेखिएको कथा हो ।
०००
‘छिमेकी, कर्तव्य र पापको परिणाम’ कथाहरु — अहंकारले पराकाष्ठा नाघेपछि मान्छेको उँधो गतिको सुरुवात हुन्छ भन्ने गतिलो उदाहरणसहितका कथाहरु हुन् । भाइ- भाइ, तल्लो माथ्लो छिमेकी र एउटै गाउँमा मिलेर बस्ने जुनै जात र वर्गका मान्छे बिचमा पनि सौहार्द नै सुहाउँछ भन्ने सन्देश दिने कथा हुन् यी । दौलत र शक्तिको आडमा कसैलाई तुच्छ सम्झनु, आफूलाई सर्वस्व ठान्नु क्षणिक हुन् भन्ने ज्ञान पनि यी कथामा छन् । दाजुभाइका बिचको खटपटमा आफ्नो पुर्खाको मान, ईज्जत, नाम र सम्मान पिसिनु हुँदैन भन्ने शिक्षा ‘कर्तव्य’ ले दिन्छ । आखिर दुख्ने भनेको आफ्नालाई नै हो रहेछ ।
०००
‘प्रायश्चित’ — कथाले एउटी विधवालाई आफ्नो जीवनलीला समाप्त पार्न बाध्य गराउँने कथित ‘स्त्रीसुधारका पक्षधर’ गोविन्द र गोविन्दहरुको उच्च शिक्षा माथि व्यङ्ग्य गर्छ । एकल महिलालाई प्रेम र आफ्नोपनको चाह अवश्य होला तर धोका सहितको सम्बन्धले दुर्घटना मात्र निम्त्याउँछ ।
०००
‘बिदा’- कथामा त एउटा सिङ्गो चलचित्र नै बन्न सक्ला । यो कथा छोरीले/नारीले आफ्ना इच्छा, चाहना, सपनालाई मनमनै गाडेर धर्म, जात, कुल आदिका नाममा जीवनको आहुति दिनपर्ने हाम्रो समाजको तल्लो स्तरको मान्यता माथि बोलेको छ । हुन त, आज पनि जात मिल्दो केटो र कुल घराना कुटुम्ब खोज्दै छोरीका बाउ हिड्छन् भने, यो कथा लेखिरहँदा अवस्था कस्तो हुँदो हो ? प्रभा, नरेन्द्रसँग आफूखुसी बिहा गरेर गई । डेरामा राखेर नरेन्द्रले केही समय पतित्व निभायो अनि भयो उही कि – खुसुक्क जात-कुल मिलाएर अर्को विवाह । त्यसले प्रभाको जीवनमा ल्याएको आँधी र त्यो आँधी साम्य भएको त्यो स्थान र त्यो क्षण सम्झँदा पनि हुरुक्क भइन्छ । मतलब, छोरी मान्छेले कति सहनुपर्छ है !
०००
‘परालको आगो’ कथामा — श्रीमान श्रीमतीको घर झगडाले परिवारमा हुने अनेक समस्यालाई मसिनो गरि केलाएको छ । एउटा घरलाई श्रीमती वा आमाको हैसियतमा बसेर एउटी नारीले कसरी सम्हालेकी हुन्छे, त्यसको मिठो उदाहरण यो कथा हुनसक्छ । हुन त श्रीमतीले दिनहुँको कुटाई सहनुपर्ने बाध्यताको बिचमा लिएको निर्णयले अपराधी लोग्नेले पाएको चेत र खेपेको दुखलाई पढ्दा ‘ठिक्क पर्यो’ भन्न मन लाग्छ तर जसरी कथा सकिन्छ – त्यो मिठो छ । यो कथामाथि प्रताप सुब्बाको निर्देशनमा चलचित्र बनेको छ ।
०००
‘सहिद’ कथामा — आफ्नो सम्पूर्ण गुमाएर पनि अन्य सम्म राष्ट्रलाई अगाडि राख्ने ‘वीर’ को वर्णन छ । प्रवासमा रहँदा बस्दा आफ्ना देशका भाइभारदारलाई निस्वार्थ सेवा टहली गर्ने ‘वीर’ हरु आज त कतै छन् कि छैनन् कुन्नी ? बिडम्बना दिनहुँ नेपालीबाटै नेपाली लुटिएका समाचार आइरहन्छन् ।
०००
‘प्रत्यागमन’ कथा – बिहा गरेपछि केटो बिग्रियो, उसलाई अब श्रीमतीले उठबस गराउँछे । बा सरहको दाजु र आमा सरहकी भाउजुको लालन पोषणले हुर्किएको ठिटोले श्रीमतीलाई सर्वस्व ठान्छ अनि के सहि के गलत छुट्याउँन नसकी कुम्लो बोकेर हिँड्छ । एउटा समय आउँछ, प्रायश्चितको र ऊ घर फर्कन्छ । यो कथा आजको समाजलाई पनि उस्तै ऐना देखाउन सफल छ । स्वास्नी च्यापेर, आमा कुट्न हिड्ने छोराहरुको कमी छैन यहाँ ।
०००
‘अभागी’ कथाले एउटा बालकका लागि आमाको साथ र आमाको माया कति महत्वपूर्ण हुन्छ, त्यो बोलेको छ । बाउले सौतेनी आमा नल्याउन्जेल काँधमा चढेर हिड्ने त्यो बालकको सौतेनी आमालेले कुन गति गराउँछे कठै ।
०००
‘चिताको ज्वाला’ सङ्ग्रहको अन्तिम कथा हो । यो कथाभित्र व्यक्त नभएको प्रेमको अर्को कथा छ । बाल्यकालको प्रेम कहिल्यै नमर्ने रहेछ क्यारे । अन्तिम घडीसम्म पनि त्यहाँ प्रेमको अभिव्यक्तिको खाँचो हुन्छ तर रहँदैन प्रेम गर्ने व्यक्ति । यो कथामा नायक नायिकाको प्राकृतिक नखरालाई लोभलाग्ने गरी प्रस्तुत गरिएको छ ।
बुझ्न सजिलो भाषामा निकै सरलताका साथ लेखिएका यी कथा पढ्दा कतै झर्को लाग्दैन । गुरुप्रसाद मैनालीका अन्य कृति पढ्ने हुटहुटी जागेको छ । तर खास प्रकाशित नभएका हुन् र ?
राम लामिछाने
बनेपा-१, काभ्रे
(हालः जापान)
०००
(वि.सं. १९८४ मा लेखिएको ‘नासो’ कथा १९९२ मा शारदा पत्रिकामा छापिएपछि लोकप्रियता चुलिएको मैनालीले अन्य कथाहरू पत्रपत्रिकामा नै छपाउनुभयो । पछि वि.सं. २०२० सालमा लेखक, समालोचक, प्राध्यापक डा. तारानाथ शर्माको सम्पादनमा मैनालीका ११ वटा फुटकर कथा जम्मा पारेर ‘नासो’ कथासङ्ग्रह प्रकाशन भएको हो । पुस्तकाकाररुपमा रहेको उहाँको एक मात्र कृति ‘नासो’ नै हो । -सम्पादक)






