संप्रस पौडेल

समाचार प्रमुखः नवसाहित्य

२८ भाद्र/नवसाहित्य । हेटौँडा १६ मा रहेको जनप्रिय माध्यमिक विद्यालयले एक कार्यक्रमबिच बालबालिकाहरूले अध्ययन गरेका पुस्तकहरूको चर्चा गरेको छ । जनप्रिय रिडर्स क्लबद्वारा आयोजित कार्यक्रममा सहभागीहरूबाट भाद्र महिना अध्ययन गरेका पुस्तकहरूबारे समिक्षात्मक धारणा प्रस्तुत गरिएको थियो ।

रिडर्स क्लबका अध्यक्ष काजल शर्मा (कक्षा ९) को सभाध्यक्षतामा आयोजित कार्यक्रममा समीक्षा थापा, युनिक अगस्ति, अनुभव सिलवाल, कौस्तुभ सुवेदी, बन्दना गौतम, एरोन चौलागाईँ (विद्यालय कप्तान), काजल शर्मा, आकृश गौतमलगायतले गर्नु भएको समीक्षामाथि सल्लाहकारद्वय सुनिल गौतम र संप्रस पौडेल तथा संरक्षक समूहका रविन श्रेष्ठले सहभागीहरूका अध्ययनका दायरा बढ्दै गएकोले निरन्तर अध्ययन तथा विमर्शमा सहभागी हुने अपेक्षाका साथ प्रस्तुतिमाथि सुझाव तथा टिप्पणीहरू राख्नुभयो ।

सहभागीहरूबाट नेपाली तथा अङ्ग्रेजी दुवै माध्यमका बाल कथा, उपन्यास, किशोर उपन्यास, आध्यात्मिक पुस्तकहरूबारे चर्चा भयो ।

पठन संस्कृतिको विकासका लागि अतिरिक्त पुस्तक अध्ययन, पुस्तक परिचर्चा, एक कक्षा एक पुस्तकालय कार्यक्रम, लेखन शैलीको विकास, प्रतियोगितात्मक कार्यक्रममा सशक्त सहभागिता जस्ता उद्देश्यले स्थापित क्लब विद्यार्थीहरूद्वारा विद्यार्थीकै क्षमता विकासका लागि आवश्यक पर्दा विभिन्न संस्थाहरूसँग सहकार्य गर्ने लक्ष्य राखिएको छ ।

कार्यक्रममा अध्यक्ष शर्माले पुस्तक पढ्ने बानीले दिमागमा शब्दभण्डार बढ्दै गएको र त्यसले लेखन कार्यमा निकै सहजता महसुस गरेको बताउनुभयो । सचिव गौतमले पुस्तक पढ्ने बानीले समय अनावश्यक कुराहरूमा ध्यान नजानुका साथै आफ्नो बौद्धिक क्षमतामा वृद्धि हुने हुँदा आगामी समयमा समेत यस्ता कार्यले निरन्तरता पाउने विश्वास लिएको बताउनुभयो ।

२५ सञ्चालक समिति सदस्य तथा २५ साधारण सदस्य रहेका क्लबको शुक्रबार आयोजित कार्यक्रमलाई क्लबका सहसचिव समृद्धि गौतमले सहजीकरण गर्नु भएको हो ।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन