- नवसाहित्य
नवसाहित्य डटकम
असोज ४/नवसाहित्य । हास्यव्यङ्ग्यकार लक्ष्मण गाम्नागेलाई २०८१ सालको “भैरव पुरस्कार” र चूडामणि गौतमलाई “भैरव वाङ्मय पुरस्कार” प्रदान गरिने भएको छ । दुवै पुरस्कारको राशि एक लाख ११ हजार १११ रुपियाँ रहेको छ ।
५१ हजार १११ रुपियाँ राशिको “भैरव प्रतिभा पुरस्कार” कलाकार लक्ष्मी गिरीलाई प्रदान गरिने भएको छ ।
भैरव पुरस्कार गुठीद्वारा मङ्गलबार सार्वजनिक गरेको विज्ञप्तिमा सो जानकारी दिइएको हो । भैरव पुरस्कार गुठीका अध्यक्ष रोचक घिमिरेको अध्यक्षतामा बसेको बैठकले पुरस्कारका लागि सिफारिस सो नाम अनुमोदन गरेको हो ।
गुठीले साहित्यकार गोपाल बरालको संयोजकत्वमा साहित्यकारद्वय नरनाथ लुइटेल र हरिकला उप्रेती सदस्य रहनुभएको पुरस्कार चयन समिति गठन गरेको थियो ।
सिस्नुपानी नेपालका अध्यक्ष गाम्नागेले हास्यव्यङ्ग्य साहित्यका साथै विविध विधाका कूल १० पुस्तकहरू लेख्नु भएको छ भने उहाँले २०५९ सालमा भैरव प्रतिभा पुरस्कार समेत प्राप्त गर्नु भएको थियो ।
करिब १०० पुस्तक लेख्नु भएका चुडामणि गौतम अङ्ग्रेजी भाषा तथा व्याकरण लेखनमा ख्यातिप्राप्त हुनुहुन्छ ।
नेपाली, भोजपुरी, नेवारी, मैथिलीलगायतका झन्डै १५० चलचित्रमा अभियन गर्नुभएका लक्ष्मी गिरी अभिनयकै माध्यमबाट नाटक, लघुचलचित्र, विज्ञापन आदिमा सक्रिय हुनुहुन्छ ।






