- नवसाहित्य
नवसाहित्य डटकम
भेजिटेरियन उपन्यासका पात्रले भने झैँ ‘भेजिटेरियन’ शब्द अहिले फेसन भएको छ ।
सोचेँ, पक्कै यो किताब पनि आहारविहारकै सेरोफेरोमा समेटिएको होला । हान काङ्को चर्चा चुलिएपछि म पनि चम्किएँ भेजिटेरियन ल्याउन । जब भेजिटेरियनभित्र छिरेँ म अवाक् हुँदै गएँ ।
तीनवटा शीर्षकहरूमा यो उपन्यास समेटिएको रहेछ । भेजिटेरियन, नीलडाम र ज्वलन्त रूखहरू । कति विम्बात्मक छन् शीर्षकहरू।
कति प्रतीकात्मक छ्न् विषय । उत्कृष्ट छ प्रस्तुति ।
हिंसाले कति जटिलता ल्याउँदोरहेछ भन्ने बुझ्न योङ्ह्येको जीवनलाई हेर्दा हुन्छ । हान काङ्ले कति मीठोसँग कोरियाली समाजमा व्याप्त पितृसत्तात्मक समाज, संस्कारका साथै सोचलाई उपन्यास मार्फत् देखाएकी छन् । साथै हानले महिला हिंसादेखि पुजीँवादी बजारको घिनलाग्दो रूपलाई देखाएकी छ्न् ।
‘नीलडाम’ शीर्षकमा बडो कलात्मक तरिकाले आजको सम्बन्ध, संवेदना र बजारलाई देखाएकी छन् । ‘नीलडाम’ शीर्षक पढ्दा पाठको मस्तिष्क पनि फनफनी घुम्छ । हानले नीलडामभित्रको दृश्यलाई त्यति मिहिन पाराले लेखेकी छन्, आखिर उनले दिन खोजेको सन्देश के हो ? पाठक चिन्तनशील हुनै पर्छ । नीलडाम पढेपछि म पनि तिलमिलाएँ । लाग्यो के यहाँ हानले यौनको सस्तो मसला देखाएकी हुन् ? उनले सतही कुरा देखाउन खोजेकी हुन् ? या उपन्यासलाई रोमान्टिक मात्र बनाउन चाहेकी हुन् ?
म सोच्न बाध्य भएँ । नारी शरीर केवल प्रदर्शन र भोग्न गर्नको लागि मात्र हो त ? त्यो शरीरसँग जोडिएको संवेदनासँग कुनै मतलब छैन विवेकी मान्छे को ? मानसिक अवस्था अस्थिर भएकी आफ्नै सालीलाई भिनाजुले त्यो अवस्थामा लैजानु….. । पुजीँवादी समाजले कला क्षेत्रलाई पनि बदनाम पार्दैछ भन्ने लाग्यो । आजको पुजीँवादी विश्वले कतिसम्म घृणित सम्बन्ध र चरित्र निर्माण गर्दैछ हाम्रो समाजमा सम्झिएर आक्रान्त भएँ ।
यस उपन्यासकी मुख्य पात्रलाई मानसिक समस्याले गाँज्दै लगेर भेजिटेरियन भएकी हुन् कि भेजिटेरियन भएपछि परिवार र समाजको कारणले विक्षिप्त भइन् ? आखिर शक्तिशाली सत्ताले मानसिक यातना दिएर योङ्ह्ये मानसिक समस्यामा फस्दै गएकी हुन् लाग्यो ।
एउटा मानसिक रोगी जन्माउन आखिर कसको हात महत्त्वपूर्ण रहेछ त ? प्रश्न उठिरह्यो ।
कोरियाली समाजमा आज पनि श्रीमतीको रूपमा कामदार नै चाहेको देखिन्छ । श्रीमानको इसारामा मात्र चल्ने यन्त्र चाहिएको छ । आफ्नो अहंकारलाई छोड्न सक्दैन बरु गल्तीको पहाड बोकेर ऊ हिँड्छ एक्लै ।
मांसाहारी परिवारमा एक जना पात्र शाकाहारी हुँदा कस्तो उद्दण्ड मच्चियो । के यो साधारण कुरा हो त ? योङ्ह्येको परिवारमा झैँ विश्वमा शाकाहारी र मांसहारीबिच घमासान युद्ध पो हुने हो कि ? के ठेगान । आखिर सबैलाई आफ्नो बर्चस्व कायम गर्नुछ ।
दमन शोषणयुक्ति समाजमा मान्छे साँच्चै बौलाहा हुनै पर्छ लाग्यो । कला साहित्यमा नारीलाई वस्तु बनाएको गम्भीर विषयलाई हानले बडो सूक्ष्म किसिमले अभिव्यक्त गरेकी छ्न् । निकै संवेदनशील विषयमाथि हानले भेजिटेरियन लेखेकी रहिछिन् ।
एउटा मान्छेको जीवनमा आकस्मिकताले कस्तो भयावह अवस्था सिर्जना गर्दो रहेछ योङ्ह्येलाई पढेपछि छर्लङ्ग हुन्छ । साधारण कुरालाई समयमा बुझ्न नसक्दा त्यो समस्या कति गहिरो बन्दै जाने रहेछ यी नै पात्रको मनोदशालाई बुझे हुन्छ ।
यहाँ योन्ह्येले अनौठो सपना देख्छे । मैले झलक्क सम्झिएँ जर्ज बर्नाड शालाई । भनेका छ्न्,” बधशालाको द्वार खुल्ला राखिदिने हो भने सबै मान्छे शाकाहारी हुन्छ्न्।”
योङ्ह्येको जीवनमा त्यस्तै भयो । उनले देख्न थालिन बधशाला आफैंभित्र । अनि कसरी खान्छिन् त मासु । देख्छिन् रगतले लतपत आफ्नै अनुहार । छाला र चोक्टा लुछ्दै गरेको आफ्नै मुख । प्रत्येक सपनामा डरलाग्दो दृश्य देख्न थालेपछि भेजिटेरियन बन्न पुगेकी युवतीलाई दमनकारी संस्कार र समाजले बाँच्न दिँदैन । भनिन्छ “सत्य एक्लै काफी हुन्छ” तर योन्ह्येको सत्य अभिशप्त भएर आयो ।
परिवारको एउटा सदस्यले मासु नखाँदा परिवारभित्र कत्रो महाभारत मच्चियो । ती तमाम घटनाहरूलाई बडो काव्यिक तवरले प्रस्तुत गरिएको छ यहाँ ।
अन्तिममा अनुवादलाई साधुवाद छ । शब्दको मात्र अनुवाद छैन यहाँ । अनुवादकले समाज, संस्कृति र संवेदनाको पनि सचेत भएर अनुवाद गरेका छन् । बेलाबेला आउने ठेट झर्रो भाषाको प्रयोगले सुनमा सुगन्ध थपेको छ ।
बधाई छ अनुवादकलाई ।
०००
(प्रस्तुत पुस्तक ‘The Vegetarian’ ले सन् २०२४ को नोबेल साहित्य पुरस्कार (दक्षिण कोरियाकै पहिलो लेखक) प्राप्त गरेको छ । कोरियाली लेखक Han Kang द्वारा सन् २००७ मा लेखिएको र Deborah Smith द्वारा अङ्ग्रेजीमा अनुवाद गरिएको उपन्यास ‘The Vegetarian’ ले सन् २०१६ मा अन्तर्राष्ट्रिय बुकर पुरस्कार प्राप्त गरेको हो । पुस्तकलाई नेपालीमा भने प्रवीण अधिकारीले अनुवाद (बुकहिल प्रकाशन) गर्नु भएको हो ।)





